नेपालगञ्जमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय बढीले गराए स्वास्थ्य परिक्षण

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रामा शनिबार निःशुल्क स्वास्थ्य शिविर गरिएको छ। शिविरबाट तीन सय ३३ जना लाभान्वित भएका छन्।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र र मानव अधिकार अनुगमन नेपाल, बाँकेको संयुक्त आयोजना तथा वडा नं. ६ कार्यालयको सहकार्यमा शिविर आयोजना गरिएको थियो।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेकी अध्यक्ष लता शर्माका अनुसार शनिबार विहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालित उक्त स्वास्थ्य शिविरबाट दुई सय महिला र एक सय ३३ जना पुरुष गरी ३ सय ३३ जना सर्वसाधारणको स्वास्थ्य परीक्षणका साथै औषधी वितरण गरिएको थियो।

शिविरमा नेपालगञ्ज मेडिकल कलेजका बाल रोग विशेषज्ञ डा. अनुप सिंह महरोत्रा, भेरी अञ्चल अस्पतालकी मेडिकल अफिसर डा. अस्मिता गौतम र नेपालगञ्ज मेडिकल कलेजका अफिसर दीपक जायसवालले स्वास्थ्य परीक्षण गरेका थिए।

वडा नम्बर ६ का अध्यक्ष समीर प्रताप सिंहको स्वास्थ्य परीक्षण गरी शिविरको शुरुवात गरिएको थियो। शिविरमा १३ महिनाको बालबालिकादेखि ८५ वर्षिया वृद्धा महिलाले स्वास्थ्य परीक्षण गराएको केन्द्रकी अध्यक्ष शर्माले जानकारी दिइन्।

शिविरमा स्वास्थ्यकर्मीहरु राजेन्द्र वर्मा, स्मारिका श्रेष्ठ र सिमरन श्रेष्ठ लगायत आयोजक संस्थाका उपाध्यक्ष तारा केसी, कोषाध्यक्ष ममता आचार्य, नितेश गिरी, रमण कुमार आचार्य, निखिल जायसवाल लगायतले सहयोग गरेका थिए।

वडा अध्यक्ष सिंहले आयोजक संस्था र चिकित्सकहरुलाई शिविर सञ्चालन गरेर स्थानीय बासिन्दालाई सेवा दिएकोमा आभार व्यक्त गर्दै यसरी आवश्यक अनुसारका पर्याप्त औषधी उपलब्ध हुने शिविर सम्पन्न गरेको बताए।

उनले शिविरबाट आफ्नो वडाका विपन्न वर्गका धेरै सर्वसाधारण लाभान्वित भएको बताए।

जेठ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्