कित्ताकाट र गालीगलौजको छायाँमा हराएको बहस

हाम्रो समाजमा विभिन्न कित्ताका मानिसहरू छन्। सबै कित्ताका मानिसहरू सामाजिक समस्याप्रति उति नै संवेदनशील देखिन्छन्। तथापि समाजको कित्ताकाट र यसबाट उत्पन्न पूर्वाग्रहले गर्दा सामाजिक समस्याहरु मारमा परेका छन्। कुनै एउटा सामाजिक समस्या सतहमा आएर त्यसमाथि बहस सुरु भयो भने हामी सामाजिक समस्यामा कम तर  बहसमा सहभागी कित्ताका मानिसमा बढी बहस चलाउँछौँ। यसले गर्दा सामाजिक समस्या राम्रोसँग उजागर नहुँदै निमोठिन पुग्छ। विषयबस्तुमा हुनुपर्ने बहस पक्षविपक्षका मानिसहरूबीच आरोप प्रत्यारोप र गालीगलौजमा परिणत हुन्छ।

मधेशका विशिष्ट समस्या छन्। दाइजोका नाममा छोरीबुहारी जलाइने वा मार्ने घटनाको बिरोध पहाडियाले गर्नै हुन्नझैँ गर्छन्। कुनै पनि कोणबाट अमानवीय घटनाको लागि जहाँबाट, जसले पनि, जसरी आवाज उठाए पनि हुन्छ। तर, निश्चित पूर्वाग्रह लिएर बसेका मानिसहरू विशुद्ध मानवीय विषयलाई आफ्नो पूर्वाग्रहसँग मिसाउँछन् र बहसलाई वस्तुगत हुनबाट रोक्छन्।

सामाजिक कुरीति, लैङ्गिक विभेदजस्ता अत्यन्तै संवेदनशील विषयमा फरक देखिनका लागि मात्र व्यक्ति विशेषलाईआक्रमण गर्ने परम्परा अहिलेको भर्चुअल समाजमा देखिएको सबैभन्दा डरलाग्दो समस्या हो। फरक विचार राख्न कुनै पनि व्यक्ति स्वतन्त्र छ, तर फरक विचार भनेर समस्याको जड खोतल्नै नदिने, विषयवस्तुलाई अन्यत्रै मोड्ने, समूह खडा गरेर चर्को स्वरले कराउने प्रवृत्ति विकास भएको छ जुन निन्दनीय छ। समस्या कस्ता छन्, मुद्दा केके हुन् भन्दा पनि नेतृत्व कसले गरेको छ, सहभागी को को हुन् भन्ने प्रश्न उठ्न सुरु भएपछि मुख्य मुद्दा गौण बन्न पुग्छ।

ग्रामीण समाजमा चौतारी र पँधेरामा हुने सीमित व्यक्तिबीचको छलफल आजभोलि हुँदैन। सामाजिक सञ्जालले ल्याएको विश्वव्यापीकरणले कर्णालीका छाउगोठबारे न्युयोर्कमा बहस चल्छ। न्युयोर्कको सेयर मार्केटका कुरा काठमाडौँका कफी पसलमा हुन्छन्। सूचनामाथि पहुचँ बढ्यो तर कुनै विषयलाई जुन गहिराइमा पुगेर केलाउनु पर्ने हो त्यसमा मानिसको चासो कम भयो। इन्टरनेटमा भएका रेडिमेड, हल्काफुल्का सूचनालाई मानिसले पूर्णरूपमा विश्वास गर्न थाले।

उच्च शिक्षा हासिल गरेका विद्वान र बुद्धिजीवीले सामाजिकविषयवस्तुको बहसलाई स्तरीय बनाउलान् भनेर आश गरिनु स्वभाविक हो। तर, तिनै पढेलेखेकाहरू आफ्नो स्वतन्त्रता र विवेकलाई बन्धकी राखेर राजनीतिक पार्टीका कार्यकर्ता बन्न लालायित भए। आज विद्धान र बुद्धिजिवीहरू शीष्ट बहस र वैचारिक मन्थनमा होइन, गालीगलौजमा रमाउन थालेका छन्।

मानवीयता, न्याय र अधिकारसँग जोडिएका मुद्दा सीमित क्षेत्रका मात्र समस्या होइनन्। सुदुर पश्चिममा छाउगोठ भत्काउनुले यो समस्याप्रति मानिसको ध्यान आकर्षित होला। यसले अल्पकालीन समाधान पनि देला। तर, यो छाउपडीसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान भने होइन। सुरक्षित छाउगोठ बनाउने, महिनाबारीबारे चेतना फैलाउने, स्यानिटरी प्याडको प्रयोग (घरेलु भए सरसफाइ‍मा ध्यान), पौष्टिक खाना आदिबारे जनचेतना जगाउनु दीर्घकालीन समाधान हुन सक्छ।

हामीले के बुझ्न जरुरी छ भने चेतनाबिना अधिकार सम्भव छैन। स्थानीय रीतिरिवाजलाई बेवास्ता गर्न मिल्दैन। जुन एउटा समुदायका लागि समस्या हो, त्यही अर्को समुदायको विश्वाश रआस्था हुन सक्छ। समाधानका दीर्घकालीन उपायहरू स्थानीय मान्यताहरूबीच नै खोजिनुपर्छ। छाउगोठमा छोरीहरू मृत्युको शिकार हुनु कदापि स्वीकार्य हुन्न, यसको समाधानको बाटोहरू खोज्नुको साटो काठमाडौँमा बस्नेले बोल्न पाइँदैन, आवाज उठाउने को होजस्ता प्रश्न गर्नाले बहस समाधान केन्द्रित हुन सक्दैन।

हाम्रो समाजमा पुरुषवादी सोचले नराम्रोसँग जरा गाडेको छ। कहिले महिलाहरू आफू पुरुषवादी आदर्शको वकालत गर्दैआफूलाइ सतिसावित्री कहलाउन लागिपर्छन्, त कहिले महिला भएर यसो गर्नु हुन्न, उसो गर्नुहुन्न भन्दै महिलालाई पुरुषवादी सोचको फलामे साङ्लोले बाँध्न चाहन्छन्। नेपालमा महिलामाथि हुने यौन दुर्व्यवहारको प्रतिरोधस्वरूप सुरु भएको मिटु अभियान झट्ट हेर्दा प्रभावकारी नदेखिए पनि यसले नेपाली समाजलाई तरंगित बनाएको छ। सामाजिक-सांस्कृतिक सोच र परम्पराका कारण महिला र पुरूषहरू यौन दुर्व्यवहार र यसका परिणामप्रति संवेदनशील थिएनन्। महिलालाई सार्वजनिक स्थानमा जिस्क्याउनु, होच्याएर बोल्नु, अश्लील शब्दको प्रयोग गर्नु र उनीहरूको शरीरका अङ्गहरू चलाउनु दुर्व्यहारभन्दा पनि पुरुषार्थ मानिन्थ्यो। अहिले आएर यसो गर्नु अपराध रहेछ भन्ने थोरै मात्र पनि ज्ञान हुनु यो अभियानको सफलता हो।

एउटै किसिमका सामाजिक समस्या अर्को कित्ताका मानिसले उठाएमा अर्को कित्ताका मानिसले पानी बाराबार गर्ने प्रवृत्ति अन्त्य नभएसम्म महिलामाथि हुने दुर्व्यवहारबारे साझा धारणा बनाउन सजिलो छैन। नेपालमा भएका दुर्व्यवहारका घटनामा पनि एउटा कित्ताले समर्थन गरेका मुद्दालाई अर्को कित्ताका मानिसले विरोध गरिदिने र कतिपय मुद्दामा पीडितलाई नै दोषी देखाउन अग्रसर हुने प्रवृत्ति देखिँदैछ। परिणामस्वरूप जुन समस्या उजागर हुनुपर्ने हो, त्यो त्यसै हराएर गइरहेको छ।

वर्षौंसम्म जरा गाडेर बसेका बेथिति, कुरीतिहरूमा परिवर्तन ल्याउन सजिलो छैन। यो सामाजिक अन्यायबिरुद्ध बोल्ने कुनै एउटा समूहको मात्र दायित्व होइन। सचेत नागरिकको हैसियतमा बोल्न पनि नसक्ने र अरूले बोलेकोलाई पनि सम्मान गर्न नसक्ने हो भने तपाईंहामीलाई आत्ममूल्याङ्कनको आवश्यकता छ।

एउटै किसिमका सामाजिक समस्या अर्को कित्ताका मानिसले उठाएमा अर्को कित्ताका मानिसले पानी बाराबार गर्ने प्रवृत्ति अन्त्य नभएसम्म महिलामाथि हुने दुर्व्यवहारबारे साझा धारणा बनाउन सजिलो छैन। नेपालमा भएका दुर्व्यवहारका घटनामा पनि एउटा कित्ताले समर्थन गरेका मुद्दालाई अर्को कित्ताका मानिसले विरोध गरिदिने र कतिपय मुद्दामा पीडितलाई नै दोषी देखाउन अग्रसर हुने प्रवृत्ति देखिँदैछ। परिणामस्वरूप जुन समस्या उजागर हुनुपर्ने हो, त्यो त्यसै हराएर गइरहेको छ।

यसरी गम्भीर सामाजिक मुद्दालाई पूर्वाग्रहसँग मिसाउँदा कुनै कित्तालाई फाइदा गर्ला तर कित्ताकित्ताको लडाइँको चपेटामा पीडितहरू नै पर्ने गरेका छन्। समस्याहरु हल भएर जानुको साटो झनै गञ्जागोल हुन थालेका छन्। समाजमा भएका असमानता, अमानवीय कुराहरू कसले पहिला अगाडि ल्याउने भनेर एक किसिमको अस्वस्थ प्रतिस्पर्धा नै चलेको छ।

उदाहरणका लागि नेपालको मिटु अभियानका सन्दर्भमा भएको बहसलाई नै हेरौँ न। संसारका विभिन्न देशमा पुरुषवादी सोच‍ र मिटु अभियान एकअर्काका परिपूरक बनेका छन्, तर हाम्रो सामाजिक सञ्जालमा एउटा कित्ताको मिटु पीडित अर्को कित्ताका लागि मिटु पीडक बन्दिन्छ। पक्ष-विपक्षका मानिसहरू आआफ्नै तथ्य र तर्क बलियो लागिपरेका छन्। यसका कारण यौन दुर्व्यवहारबाट पीडित महिला खुलेर बाहिर आउन गाह्रो छ।

अहिलेको धेरै अभियानहरू निश्चित विषयमा मात्र केन्द्रित हुँदा महिलाले झेल्नु परेका यावत समस्या ओझेल परेको धेरै उदाहरण छन्। महिला अधिकारका अहिलेका लोकप्रिय लडाइँले महिलाले भोगिरहेका अन्य समस्या (जस्तै, दोहोरो कार्यभार)को मुद्दाबाट विश्वको ध्यान अन्यत्रै मोडिदिएको छ। आधुनिक महिला मुक्तिका लडाइँबारे अमेरिकी फेमिनिस्ट हेस्टर आइजनस्टाइन (जो क्विन्स कलेजकी प्रोफेसर पनि हुन्)ले आफ्नो पुस्तक ‘फेमिनिज्म सेड्यूस्ड: हाउ ग्लोबल एलिट्स यूज वुमन लेवर एण्ड आइडियाज टु एक्स्प्लोइट दि वर्ल्ड’ मा अहिलेको फेमिनिस्ट अभियान महिलाहरू आर्थिक र राजनीतिक रूपमा कसरी प्रयोग भएका छन् भनेर व्याख्या गरेकी छन्।

उनका अनुसार अमेरिकामा  महिलाहरू थोरै पारिश्रमिकमा काम गर्न बाध्य छन्। महिलालाई भान्साबाट बाहिर त जान दिइयो, तर बाहिर काम गर्न दिनुमात्र समानता हैन भन्नेमा कसैले ध्यान दिएन।दिनभरि बाहिर काम गरेरआएर फेरि भान्सा पनि सम्हाल्न पर्ने अवस्था सिर्जना गरियो। समानतालाई व्याख्या गर्दा पुरुषसरह महिलाले पनि बाहिर काम गर्न पाउनुपर्छ भनियो, अनि काम गर्न पनि दिइयो, तर महिलाको कामलाई दोब्बर बनाइयो।

यतिमात्र होइन, महिला पुरुष समानताको आवाजले विश्वव्यापी महत्व पाए पनि उही काम गर्दा पुरुषले धेरै पैसा पाउने तर महिलालाई थोरै पैसामा सोही काम गर्न लगाउने गरियो।

समानताको नाममा यो भन्दा भद्दा मजाक अरू के हुन सक्ला? अब यसैलाई उदाहरण मान्ने हो भने यही तथ्य सामाजिक सञ्जालमा आइपुग्नासाथ विभिन्न कित्ताका मानिसले आआफ्नो कित्ता सम्हाल्दै यसलाई समर्थन र विरोध गर्न थालिहाल्छन्। एउटा कित्ताले समस्यालाई समर्थन गर्नासाथ अर्कोले ‘अनावश्यक रोनाधोना’ भनिदिन्छ। समस्याको अन्तर्वस्तुलाई एकातिर पन्छाएर सामाजिक सञ्जालका योद्धाहरू यो समस्याका बारेमा कसले बोलेको छ त्यसका आधारमा आफ्नो मत जाहेर गर्छन्।

नेपालमा भइरहेका बहस हेर्दा के देखिन्छ भने हाम्रो बहस गर्ने शैलीसँगै बहसका क्रममा आउने तर्कहरूले पनि सार्थकता गुमाउँदै गएका छन्। लैङ्गिक समानताको लडाइँ, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो भएको छ। हामीले समस्याको जड पत्ता लगाउनेभन्दा पनि समस्याले निम्त्याएका नतिजालाई समाधान गर्दै हिँडेका छौँ। फेवातालमा जलकुम्भी झार टिपेर तालसफा गरेजस्तो भएको छ। झार टिप्दा केही समय ताल सफा देखिन्छ तर यसले समस्याको जडलाई सम्बोधन गर्दैन।

महिला आन्दोलन पनि अहिले त्यही अवस्थाबाट गुज्रेको छ। सामाजिक सञ्जालको गलत प्रयोग अब त यस्तो भइसक्यो कि हामी आफूभन्दा हजारौँ माइल टाढा, कहिल्यै देखभेट नभएका मान्छेसँग यति पूर्वाग्रही हुन्छौँ कि उसले गरेका हरेक राम्रा कामलाई नकारात्मक प्रमाणित गर्न आफैँ समाजका नराम्रा पक्षहरूको समर्थक बन्छौँ। यसरी समाजमा रहेका हरेक समस्याहरू कित्ताकाटमा परेका छन्। त्यसैले न्याय र अधिकारका पक्षमा जति आवाज उठ्नुपर्ने हो, त्यत्ति उठ्न सकिरहेको छैन!

 

जेष्ठ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्