‘पढाई मेला’ मा विद्यार्थीले गरे ढिँकीजाँतो देखि हलोजुवासम्मको प्रदर्शनी

दाङ– लमही नगरपालिका वडा नं २ निवासी रमिता चौधरी आफ्नी छोरी रश्मीसहित आदर्श नमुना माध्यमिक विद्यालयमा पुगिन्। उनले विद्यालयमा गाउँ घरमा लोपन्मुख अवस्थामा रहेको ढिंकी, जाँतो, माटोबाट बनेको दुई मुखे चुल्हो र हलो–जुवा देख्दा अनौठो मानिन्।

लोप हुँदै जान थालेका परम्परागत घरेलु सामाग्रीहरु विद्यालयमा प्रदर्शन गरिएको छ। सूर्यविनायक माध्यमिक विद्यालय नर्तीका विद्यार्थीहरुले हलो, जुवा, ढिंकी, जाँतो बनाएर प्रदर्शनीमा राखेका हुन्। ‘ट्रयाक्टरले खेत जोत्न थालेपछि काठले बनेको हलाे–जुवा नचाहिने भयो। हाम्रा पुर्खाले कसरी खेती गर्नुहुन्थ्यो भनेर बताउन हलो–जुवा बनाएका हौँ’, विद्यार्थी सचिन न्यौपानेले भने,‘घरेलु सामग्रीबाट हामीले धेरै कुरा थाहा पाउन सक्छौँ।’

विज्ञानले नयाँ आविस्कारहरु भईरहेका छन्। यस्ता आविस्कारहरुलाई विद्यार्थीले नजिकबाट अध्ययन गरिरहेका छन्। सनलाईट माध्यमिक विद्यालय लमहीका विद्यार्थीले पानीमा चल्ने मोटरबोट बनाएर देखाएका छन्। विवेक पोखरेल, प्रात गौतम, विवेक केसीले मोटरबोट बनाएका हुन्। यति मात्रै होइन गोरखा सेकेन्डरी बोर्डिङ स्कुल लमहीका विद्यार्थीले हावाबाट विजुली निकाल्न सकिने उपाय सहितको शैक्षिक सामग्री प्रदर्शन गरेका छन्। यस्तै खिमबहादुर शाह माध्यमिक विद्यालय कोलहीका विद्यार्थीले ड्रोन बनाएका छन्।

विद्यार्थीले पराटको पानीमा मोटरबोट बनाएर चलाएर प्रदर्शन गरेपछि प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जाहाज चलाउन गरेको उद्घोषको सम्झना गरे। ‘नयाँ पुस्ताले विकास र समृद्धिको आधार फेला पारिसक्यो। नयाँ–नयाँ आविस्कारमा विद्यार्थीहरुले ध्यान दिएको पाउँदा खुशी लाग्यो’ शर्माले विद्यार्थीहरुसंग कुरा गर्दै भने,‘हाम्रै क्षेत्रमा मोनोरेल चल्ने सम्भावना छ। त्यसको उद्घोष विद्यार्थी भाईबहिनीले गरिसक्नु भयो।’

विद्यार्थीले तयार पारेका शैक्षिक सामाग्री शुक्रबार प्रदर्शन गरिएको हाे। लमही नगरपालिकाले आयोजना गरेको नगरस्तरीय पढाई मेला तथा शैक्षिक सामाग्री प्रशर्दनीमा विद्यार्थीले तयार पारेका नमुना शैक्षिक सामाग्रीले स्थान पाएका थिए। विद्यार्थीको ज्ञान, सिप र धारणामा परिवर्तन गर्न पढाई मेला उपयुक्त हुने धारणा अभिभावकहरुले राखेका छन्। पढाई मेलामा नगरका २८ सामुदायिक र २२ निजी विद्यालय गरी ५० ओटा विद्यालयको सहभागीता रहेको थियो।

विद्यार्थीहरु भित्र रहेको अन्तर्निहित क्षमतालाई बाहिर निकाल्न, शैक्षिक सामाग्रीको प्रयोग र निर्माणमा सृजनशिलता अपनाउन सक्ने क्षमताको विकास गर्न, विद्यार्थीहरुको बिचमा शैक्षिक पतिस्पर्धा गराउने उद्देश्यले पढाइ मेला राखिएको लमही नगरपालिका शिक्षा शाखाका प्रमुख रविन्द्र क्षेत्रीले बताए। मेलामा शैक्षिक सामग्री प्रदर्शनी, कक्षा २ पढाई सिप प्रतियोगिता र कक्षा ३ का विद्यार्थीको विचमा श्रुती लेखन प्रतियोगिता भएको छ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको अध्यक्षता एवम् प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै शर्माले भविस्यलाई चाहिने जनशक्तिको लागि अहिले नै लगानी लगाउनुपर्ने र त्यसमा प्रदेश सरकारले प्राथमितामा राखेको बताए। ‘विद्यार्थीहरुले तयार पारेका शैक्षिक सामाग्रीले भविस्यको चित्रण गरेको छ’, उनले भने,‘ठूला आविस्कार, विकासको लागि सरकारले साथ दिन्छ।’

जेठ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्