उद्योग बन्द भएपछि खेतमै सुके उखु

बुटवल– चिनी उद्योग बन्द भएपछि पश्चिम नवलपरासीका किसानहरुको ५ करोड भन्दा बढीको उखु खेतमै सुकेको छ । जिल्लामा रहेका तीन चिनी उद्योगमध्ये लुम्बिनी चिनी उद्योग एक महिना अघि नै बन्द भएको छ ।

वाग्मती र इन्दिरा चिनी उद्योगले हप्ता दिनअघि क्रसिंग बन्द भएको सूचना निकालेपछि किसानहरुका उखु खेतमै सुक्न थालेका हुन् । उखु काटेपछि अहिले सोही खेतमा नयाँ उखु लगाउने समय हो ।

उखु बिक्री नभएपछि केही किसानले खेतमा लगाएको नयाँ उखु पनि निकालेर अन्य बाली लगाउन थालेका छन् ।

उद्योग बन्द भएपछि ७० देखि ७५ विगाहामा लगाइएको एक लाख बढी क्विण्टल उखु पूर्ण रुपमा सुक्न थालेका हुन् ।

जसका कारण किसानले ५ करोडभन्दा बढी क्षति व्यहोर्नु परेको छ । उखु सुकेपछि त्यसको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्ने किसानको माग छ ।

प्रशासन र सम्बन्धित मन्त्रालयलाई उद्योग बन्द नगर्न अनुरोध गर्दागर्दै बन्द भएकाले सरकारले क्षतिपूर्ति उपलव्ध गराउनुपर्ने उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले बताए ।

किसानहरुले अहिलेसम्म १३ लाख ८ हजार क्विण्टल उखु उद्योगहरुलाई उपलब्ध गराएका छन् । उखु उपलब्ध गराएको ३५ दिनभित्र भुक्तानी दिन उद्योगहरुले सहमति गरेका थिए । तर कुनै पनि किसानलाई रकम दिइएको छैन ।

सरकारले यसवर्ष उखुको प्रतिक्विण्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा मूल्य निर्धारण गरेको छ । ढिलोगरी सञ्चालनमा आएका उद्योगहरुले उखु सुकेको भन्दै ५ देखि ५० प्रतिशतसम्म कटौती गरेर खरिद गरेको समितिले जनाएको छ ।

पटक पटक उद्योगका मेशिन बिग्रने र समयमा किसानले उखु उपलव्ध गराउन नसकेकाले बन्द गरिएको उद्योगहरुले जनाएका छन् ।
समयभन्दा केही महिना ढिलो गरी सञ्चालन आउनु र सुकेका उखु खरिद गर्दा लागत उठ्न नसक्ने भएकाले पनि उद्योग बन्द गरिएको बाग्मती चिनी उद्योगका महाप्रबन्धक टंकनाथ काफ्लेले बताए ।

जेष्ठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू