सडक सुरक्षामा चुनौती

टिप्पर, सडकको यमराज!

बुटवल – गएको १९ चैतमा टिप्परको ठक्करबाट पूर्वपश्चिम राजमार्गको धागो कारखानानजिक प्राध्यापक डोलराज अर्यालको मृत्यु भयो ।

त्यसको केही दिनपछि परीक्षा सकेर आफ्ना पितासँगै घर फर्किदै गरेकी पुष्पा भण्डारीको मृत्यु भयो, टिप्परकै ठक्करबाट ।

वैशाखको अन्तिम साता कपिलवस्तुको दोहनीमा टिप्परले हानेर अर्का एकजनाले ज्यान गुमाए ।

यसरी हप्तादिनमा २–३ जनाको ज्यान जानेगरि टिप्परले ठक्कर दिन थालेपछि शहरी जीवन त्रसित छ ।

टिप्परले ठक्कर दिएका अधिकांश घटना शहर क्षेत्रकै छन् । टिप्परको ठक्करबाट हुने दुर्घटना र मृत्यु बढ्दै गएपछि टिप्परलाई सडकको यमराज भन्न थालिएको छ ।

टिप्परचालक र टिप्परमालिकप्रतिको दृष्टिकोण नकारात्मक भएको छ ।

सिद्धार्थ क्याम्पस बुटवलका प्रमुख तथा अधिवक्ता बाबुराम पाण्डे भन्छन्, ‘अलि पर टिप्पर आएको देख्यो कि डर लाग्छ, सडक छेउमा उभिएको बेलामा पनि आएर हान्ने हो कि भन्ने डर छ, टिप्परलाई सडकको यमराज नै भन्न थालियो, यस्तो अवस्था आयो ।’

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा प्रदेश नं ५ मा ३८ टिप्पर दुर्घटना भएका छन् ।
सबैभन्दा बढि गत चैत महिनामा आठ दुर्घटना भएका छन् । अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण भएका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुको भनाई छ ।

जसका कारण दुर्घटनापछि सर्वसाधारण र आफन्तहरुले टिप्पर जलाउने, चालकलाई कुटपिट गर्छन्।

‘टिप्परबाट हुने दुर्घटना बढेपछि प्रदेशका मुख्य शहरमा टाइम कार्ड सुरु गर्‍यौँ, जसले टिपरको गति नियन्त्रण भएको छ’ उनले भने ‘तर अझै पनि दुर्घटना कम गर्नका लागि नियमन जरुरी छ ।’

टिप्पर व्यवसायी समूहका महासचिव तोया लम्सालका अनुसार रुपन्देहीमा करिब एक हजार टिप्पर सञ्चालनमा छन् । जसमध्ये ६ सय ५० टिप्परले विभिन्न ठाउँबाट चुनढुङ्गा ढुवानी गर्छन् भने बाँकी टिप्परले क्रसरलगायत सामग्री ढुवानी गर्छन् ।

ट्राफिक प्रहरीले चुनढुङ्गा बोक्ने टिप्परलाई मात्रै टाइम कार्ड लागू गरेकाले अन्य टिप्परहरु अनियन्त्रित भएकाले दुर्घटना बढेको र त्यसको दोष सबै टिप्परमाथि लगाइएको व्यवसायी लम्सालको तर्क छ ।

पछिल्लो समय टिप्परका कारण दिनहुँ दुर्घटना बढेपछि प्रदेश सरकारले सडकको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ ।

दुर्घटना कम गर्न मुख्य बजार क्षेत्रमा वैकल्पिक सडकको व्यवस्था गर्ने योजना बनाइएको भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी बताउँछन् ।

उनी भन्छन्, ‘सडक सुरक्षाको विषयलाई लिएर सरकार गम्भीर छ, शहरमा टिप्परै नआउने गरी वैकल्पिक मार्ग बनाउने गरी हामीले तयारी गरेका छौँ ।’

बढ्दो छ सवारी दुर्घटनाको तथ्यांक

प्रदेश ५ मा सानाठूला गरेर ९ हजार ७ सय ११ किलोमिटर सडक छ । त्यसमध्ये ३ सय ६१ किलोमिटर पूर्वपश्चिम राजमार्ग पर्छ ।
२०७५ को असारमसान्तसम्मको तथ्यांक अनुसार प्रदेश ५ (साबिकका लुम्बिनी, राप्ती र भेरी अञ्चल कार्यालय) मा ६ लाख ५५ हजार ३ सय १९ वटा गाडी दर्ता छन् ।

यिनै सडकमा चल्ने गाडी ०७२/७३ मा ८ सय २५, ०७३/७४ मा ८ सय ४३, ०७४/७५ मा ८ सय ५६ दुर्घटनामा परे ।

ती दुर्घटनामा परी ०७२/७३ मा ५ सय ८१ को मृत्यु, ८ सय ७ जना गम्भीर घाइते भए । ०७३/७४ मा ५ सय ७० जनाको मृत्यु भयो भने ७ सय २१ जना गम्भीर घाइते भए । ०७४/७५ मा ८ सय ५६ दुर्घटना हुँदा ५ सय ४५ जनाको मृत्यु भयो भने ८ सय ५४ जना गम्भीर घाइते भए ।

जेठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्