
काठमाडौँ– थाइराइड रोगको समस्या दिन प्रतिदिन बढ्दै गइरहेको चिकित्सकहरुले बताउँदै आएका छन्। पहिले थाइराइडको समस्या भए पनि मानिसहरु स्वास्थ्य संस्थामा नगएकाले समस्या कम देखिएको हुन सक्ने अनुमान डाक्टरको छ। तर पछिल्लो समय नेपालमा पनि इन्डोक्राइनोलोजिष्ट विशेषज्ञको संख्या बढ्दै गएपछि यो रोगको पहिचान पनि हुँदै गइरहेको चिकित्सकहरुले बताएका छन्।
शनिबार विश्व थाइराइड दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै सन्दर्भमा वीरेन्द्र सैनिक अस्पतालकी इन्डोक्राइनोलोजिष्ट विशेषज्ञ डा. इन्दु केसीसँग देश सञ्चार संवाददाता प्रतिभा चन्दले गरेको कुराकानीः
खासमा यो थाइराइड भनेको के हो ?
थाइराइड भनेको मानिसको घाँटीमा हुने एउटा ग्ल्यान्ड हो। मानिसहरु बाँच्नका लागि थाइराइड ग्ल्यान्ड अति नै जरुरी हुन्छ। उक्त ग्लान्डले थाइराइड नामक हर्मोनको उत्पादन गर्ने गर्छ, जुन मानिसको जीवनमा एकदमै उपयोगी मानिन्छ। तर थाइराइडको रोग भनेको थाइराइडको कम र बढी उत्पादनका कारण हुने गर्दछ। जसको कम र बढी उत्पादन भयो भने शरीरको क्रियाकलापहरुलाई असर गर्ने गर्छ।
थाइराइडको उत्पादन कम भयो भने मुटुलाई असर गर्ने, अनिन्द्रा हुने, मानसिक समस्या, तनाव, ज्वरो, जन्डिस जस्ता लक्षणहरु देखिने गर्छन्। त्यसैगरि, थाइराइडको कमीका कारण धेरै गर्मी हुने, पसिना बग्ने, महिलाहरुमा महिनावारीमा गडबडी, धेरै रक्तश्राव हुने जस्ता समस्या देखिने गर्छन्।
यद्यपि यसको कमी भएको खण्डमा शरीरको सिस्टम स्लो (मन्द) हुन्छ। जसले गर्दा अल्छी लाग्ने, थकाइ लाग्ने, रुक्तअल्पता हुने, कमजोरी हुने जस्ता समस्याहरु देखा पर्दछन्।
थाइराइडको उत्पादन किन कम वा बढी हुन्छ?
मानिसको शरीर पनि एक प्रकारको मेसिन हो। थाइराइड गल्यान्डको काम थाइराइड हर्मोन उत्पादन गर्नु हो। कुनै अवस्थामा भने विभिन्न राेगहरुले कम वा बढी हुने गर्दछ। नेपालमा धेरै जसो देखा पर्ने गरेको हासिमोटो थाइराइडाटिस हो। यसले थाइराइडको कमी हाइपो थाइराइडिज्म भन्ने अवस्था सिर्जना गर्छ। सामान्यतया केटीहरुमा हासिमोटो थाइराइडिज्म धेरै देखिने गरेको छ।
कुन उमेर समूहमा धेरै छ? तुलनात्मक रुपमा पुरुषभन्दा महिलामा यो समस्या धेरै देखिने गरेको हो?
थाइराइड रोग लाग्नलाई यही उमेर समूह भनेर छुट्याउन सकिँदैन। किनकी यो युवा यवतीमा समेत देखा पर्ने गरेको छ। किशाेरीहरुमा महिनावारी गडबड भएको भनेर अस्पताल आउने गर्छन्। एक दुई पटक महिनावारी भएपछि उनीहरुलाई ६/७ महिनासम्म महिनावारी नभएपछि उनीहरुका अभिभावकले अन्यथा सोच्न थाल्छन्। तर उनीहरुलाई थाइराइड भएका कारण महिनावारीमा समस्या देखिएको हुन्छ।
त्यसैगरी, महिला र पुरुषको संख्यात्मक रुपमा हेर्ने हो भने धेरै फरक त छैन। तर पनि प्रकृतिले नै महिलाहरुलाई नट इम्यून डिजिजहरु धेरै दिएको हुन्छ। त्यही कारणले महिलामा धेरै देखिएको हो। जस्तो पुरुषहरुमा थाइराइडको समस्या देखियो भने उनीहरुबाट बच्चा नहुने भन्ने हुँदैन तर महिलामा भने त्यो समस्या धेरै देखापर्छ।
पछिल्लो समय महिलामा थाइराइडको क्यान्सर चौथो नम्बरमा छ भन्ने तथ्याङ्क सार्वजनिक भएको छ नि?
हो, थाइराइडको क्यान्सर माहिलामा चौथो नम्बरमा छ भन्ने तथ्याङक आएको छ। यसको क्यान्सर महिलामा मात्र नभएर २० वर्षदेखि ३० वर्ष, २० वर्षभन्दा मुनि र ४० वर्षभन्दा माथिको उमेर समूहका मानिसहरुमा थाइराइडको गडबडी भयो भने क्यान्सर हुने सम्भावना एकदमै धेरै हुन्छ। पछिल्लो समय महिलाहरुमा थाइराइड क्यान्सर हुने संख्या बढेको देखिएको पक्कै पनि हो।
थाइराइडको क्यान्सर बढी देखिएको भन्दा पनि हामीले यसलाई बढी मात्रामा पत्ता लागेको भनेर बुझ्नुपर्छ। किनभने पहिला रोग पत्ता लग्दैनथ्यो, रोगको पहिचान गर्ने चिकित्सकहरु कम थिए। ग्रामीण क्षेत्रमा गलगाँड आए पश्चात आयोडिनको कमीले हो भन्ने गर्थे र उपचारका लागि अस्पतालसम्म पुग्ने उनीहरुको बानी थिएन। तर अहिले मानिसहरु उपचारको लागि अस्पताल पुग्ने गर्छन्।
त्यसैगरी, शरीरमा कुनै पनि असामान्य गाँठागुठी आएमा उपचारका लागि अस्पताल पुग्ने गरेको पाइन्छ। त्यसो त शरीरका कुनै पनि भागमा सामान्य भन्दा ठूलो छ भने त्यसलाई ट्यूमर भनेर बुझने गर्छौँ।
सामान्य रुपमा सुनिएको ट्यूमर हुन सक्छ भने त्यसले शरीरलाई असर गर्ने गरेको छ भने क्यान्सर भएको हुन सक्ने अनुमान गरिन्छ। तर थाइराइडमा रक्त प्रभाव धेरै हुन्छ। क्यान्सर भएको खण्डमा शरीरका अन्य भागमा पनि फैलिने डर धेरै हुन्छ। त्यसैले गर्दा थाइराइड भएको शंका लाग्ने बित्तिकै चेकजाँच गराइहाल्नु पर्छ।
थाइराइड भएमा कस्ता लक्षण देखा पर्छन्?
आलस्य हुने
शरीर सुनिने
थोरै खाँदा पनि मोटाउने
कब्जियत हुने
महिलामा महिनावारीको गडबडी
थकाई लाग्ने
डिप्रेसनमा जाने
भोक कम हुने
कमजोरी महशुस हुने
थइराइड बढि भएको समयमा भने
ज्वरो आउने
हात काप्ने
महिनावारीको समयमा धेरै रक्तश्रव हुने
कपाल झर्ने
मुटुको ढुकढुकी बढ्ने
डर लाग्ने
निन्द्रा नलाग्ने
आत्तिने जस्ता विभिन्न लक्षणहरु देखा पर्दछन्।
कतिपय थाइराइड भएका मानिसहरु आफूलाई सुगर भएको भनेर जाँचका लागि अस्पताल पुग्ने गर्छन्। कुनै कुनै अवस्थामा भने गर्भवती महिलामा थाइराइड छ भने त्यस्तो आमाबाट जन्मने बच्चामा पनि थाइराइड देखा पर्ने सम्भावना धेरै हुन्छ। त्यसकारण आफूबाट जन्मेको बच्चामा थाइराइडको समस्या देखा पर्न नदिन थाइराइड भएका गर्भवती महिलाले १२ हप्तामा थाइराइडको परीक्षण गराउनु अत्यन्तै महत्वपूर्ण हुन्छ।
म थाइराइडलाई रोग भन्दा पनि हर्मोनको कमी भन्न रुचाउँछु। किनभने हामी शरीरमा भएको थाइराइडको कमीलाई सन्तुलित राख्ने औषधि दिने गर्छौँ। जसको काम भनेको शरीरमा अपुग भएको हर्मोनको पदपूर्ति गर्ने हो। जसको साइड एफेक्ट हुँदैन र मानिस सामान्य अवस्थामा फर्कन सक्छ।
कसरी गर्ने उपचार ?
आफूलाई थाइराइड भएको शंका लागेमा वा शरीरमा कुनै पनि नयाँ लक्षणहरु देखा पर्ने वित्तिकै जाँच गराउनु पर्दछ। रगतको परीक्षण पछि मात्र थाइराइड भएको नभएको पत्ता लाग्छ।
रगत परीक्षणपछि मात्र हर्मोनको कमी भएको वा धेरै भएको पत्ता लागेपछि, सोही अनुरुप थाइराइड बढाउने वा घटाउने औषधि दिन थालिन्छ। यसलाई राम्रोसँग उपचार गर्न सक्यो भने सामान्य अवस्थामा फर्किन सकिन्छ।