‘ट्राफिक जामका कारण आरोहीको निधन भएको खबर निराधार’

सगरमाथा। फाइल तस्बिर।

काठमाडौँ– सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा क्याम्प चारभन्दा माथि आरोहीको लाइन लामो भएकाले केहीको निधन भएको भन्ने खबर आएका बेला पर्यटन विभागले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यो वर्ष आरोहणका लागि सगरमाथासहित ४ सय  १४ वटा हिमाल खुला गरिएकोमा अहिलेसम्म सगरमाथा आरोहणको क्रममा ८ र अरु हिमाल आरोहणको क्रममा ८ गरि कुल १६ जनाको निधन भएको विभागले उल्लेख गरेको छ ।

केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सगरमाथाको माथिल्लो क्याम्पमा आरोहीको ट्राफिक जाम भएकाले केही आरोहीको निधन भएको खबर आएका र त्यो सरसर गलत रहेको विभागले दाबी गरेको छ।

विभागले सामाजिक सञ्जालमा आएका  विभिन्न  तस्बिर तथा भिडियो पुरानो रहेको पनि दाबी गरेको छ । केही दिनअघि चौथो म्याम्प माथि आरोहीको लाइन लामो भएकाले कम्तिमा दुईजनाको निधन भएको खबर प्रकाशित भएका थिए ।

तर आरोहीको निधनको कारण विस्तृत अध्ययनबाट मात्रै थाहा हुने भएकाले आरोहीको चापमात्रै एकल कारणको रुपमा प्रचार गरि सगरमाथाको गरिमालाई होच्याउन खोजिएको आरोप विभागले लगाएको छ ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने विषय भएको यस विभागको ठम्याई रहेकाले यस्ता गम्भीर विषयप्रति आफ्ना धारणाहरु सार्वजनिक गर्नु पूर्व सबैले ध्यान पुर्‍याई दिन आग्रह गरिन्छ ।’

पर्वतारोहण सम्वेदनशील विषय रहेकाले यसमा सबैको साथ चाहिने विभागले भनेको छ । यो वर्ष प्रतिकुल मौसमका कारण मे १४ मा मात्रै डोरी टाँग्ने कार्य पूरा भएको र मे १६ सम्म मात्रै आरोहणका लागि अनुकुल मौसम रहेको उल्लेख गरिएको छ ।

त्यसपछि २१ मे देखि २४ सम्म उपयुक्त हुने भनिए पनि मे २१ मा तीव्र गतिको हावाका कारण चौथो शिविरमा पुगेकाहरु दुई रात त्यहिँ बस्न बाध्य भएको उल्लेख गरिएको छ । जसले गर्दा मे २२ र २३ मा चौथो शिविर भन्दा माथि आरोहीको लाम केही बढि रहेको विभागले स्पष्ट पारेको छ ।

तर आरोहीको निधनको कारण लामो लाइन मात्रै नरहेको विभागको भनाई छ । विभागले आरोहीको निधन प्रति दुःख व्यक्त गरेको छ ।

जेठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्