गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु भएपछि उच्च सुरक्षा सतर्कता

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागेर ज्यान गएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

कार्यकर्ताको ज्यान लिएको विरोधमा विप्लव समूहले सोमबार नेपाल बन्दको आह्वान गरेको छ। बन्दमा हुने सम्भावित गतिविधिलाई लिएर सुरक्षा निकायले उच्च सतर्कता अपनाएका हुन्।

विज्ञापन

नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाएर बन्दको प्रतिरोध गर्ने तयारी गरेको छ। यसैबीच आइतबार राजधानीका दुई ठाउँमा विस्फोट भएपछि प्रहरी थप सतर्क बनेको छ।

सुकेधारा र अनामनगरमा भएका दुई वटा विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। विस्फोटमा केही घाइते भएको जनाइएको छ। सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको ज्यान गएको हो। विप्लव समूहले विस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ।

भोजपुरमा दुई दिनअघि जिल्ला प्रहरी र संघीय प्रहरीको संयुक्त कारबाहीमा विप्लवका एक कार्यकर्ताको ज्यान गएको थियो। प्रहरीले तिर्थराज घिमिरेको खुट्टामा गोली लागेको बताएपनि उपचारका क्रममा उनको ज्यान गएको थियो।

विप्लव समूहको गतिविधि आपराधिक बनेको भन्दै सरकारले केही महिना अघि उक्त समूहलाई आपराधिक समूह घोषणा गर्दै राजनीतिक गतिविधीमा रोक लगाएको थियो। त्यसअघि विप्लव समूहले ललितपुरको नख्खुस्थित एनसेल भवन अगाडि गराएको विस्फोटमा एक जना सर्वसाधारणको ज्यान गएको थियो।

पछिल्लो समय  विप्लव समूहका ‘गुरिल्ला’ कार्यकर्तालाई मात्र नियन्त्रणमा लिएर कारबाही गर्ने सुरक्षा निकायले बताई रहँदा भोजपुरमा उक्त समूहका कार्यकर्ता प्रहरी कारबाहीमा मारिएका हुन्। तिर्थराजले कम्मरको पेस्तोल निकालेर प्रहार गर्न खोज्दा उनलाई जवाफी गोली प्रहार गर्नु परेको प्रहरीले बताउँदै आएको छ।

विगतमा विप्लव समूहको बन्दमा सार्वजनिक सवारी साधन चलेपनि विस्फोट पदार्थहरु भिडभाड हुने क्षेत्र र एकान्त ठाउँमा भेटिने गरेका थिए। कार्यकर्ताको मृत्यु  भएपछि विप्लवले सरकारलाई यसको जवाफ दिने बताईसकेका छन्।।

जेष्ठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्