धरानमा गोली प्रहार गरेर ४ लाख रकम लुटियो

सांकेतिक तस्बिर ।

मोरङ-सुनसरीको धरान ५ साउने जंगलस्थित एक लघुवित्तिय संस्थामा कार्यरत व्‍यक्तिमाथि हतियारधारी समूहले आक्रमण गरी रकम लुटेका छन्।

मोरंगको कटहरी गाउँपालिकामा मुख्यालय रहेको जीवन बिकास लघुवित्तिय संस्थाको धरान शाखामा कार्यरत शम्भु गच्छदारमाथि रकम संकलन गर्ने क्रममा केही ब्यक्तिले जंगलमा गोली प्रहार गरेर रकम लुटेको बताइएको छ।

सुनसरी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले विहान करिब पौने बाह्र बजे भएको घटनामा केही ब्यक्तीले गच्छदारमाथि सानो हतियारले आक्रमण गरि रकम लुटेको जानकारी दिए।

प्रहरी उपरीक्षक अधिकारीले घटनास्थलबाट पूर्वी दक्षिण सीमा मोरङ्ग, उत्तर धनकुटा पश्चिमतर्फ इनरुवा नाकातर्फ प्रहरीको टोली परिचालन गरिएको बताए।
इनरुवाबाट घटनाबारे जानकारी लिन धरान पुगेका प्रहरी उपरीक्षक अधिकारीले भने, ‘‘वित्तिय संस्थाको रकम भएकोले आधिकारीक जानकारी आइसकेको छैन र यति नै रकम लुटियो भन्ने खुलेको छैन। घटनाबारे प्रारम्भिक अनुसन्धान जारी छ।’’

अर्कोतर्फ संस्थाका पदाधिकारीका अनुसार लुटेराहरुले घटनामा कम्तीमा ४ लाख रुपैयाँ लिएर गएका छन्। हाल घाइते गच्छदारलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ।

उपचारका क्रममा रहेका गच्छदारका अनुसार धरानको लामिछानेटारबाट समूहको रकम संकलन गरेर धरान फर्कने क्रममा जंगलको बीचमा तीनजनाले मोटरसाइकल रोक्न लगाएका थिए।

मोबाइल नेटवर्क कमजोर भएको स्थानमा ती ब्यक्तिले झोला जाच्ने भन्दै रोकेका बताएका ३५ वर्षिय गच्छदारले भने, ‘‘झोला दिन नमिल्ने भन्दा दुइजनाले हतियार निकालेर प्रहार गरे। सो क्रममा तीनचार राउण्ड जति गोली चल्यो। केही छल्न सफल भएर र उनीहरुले रकम लिएर भागे।’’

हाल उपचारका क्रममा खतरामुक्त रहेका गच्छदारको कुहिना र कम्मरमा गोली लागेको बताइएको छ।

जेठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्