विधेयक अध्ययन गर्ने समय नपाउँदा न्युन संख्यामा संशोधन दर्ता

संसद सचिवालय।

काठमाडौँ – प्रतिनिधिसभाले एकैपटक नौवटा विधेयकमा संशोधन गर्ने समय दिँदा न्युन संख्यामा संशोधन दर्ता भएको छ । प्रतिनिधिसभाले जेठ ८ गते नौवटा विधेयकमा संशोधन दर्ता गर्न ७२ घण्टा समय दिएको थियो ।

शनिबार दिउँसोसम्म दिइएको समयमा तीनवटा विधेयकमा मात्र केही वढी सांसदले संशोधन दर्ता गराएका छन् । सांसदहरुले एकैपटक धेरै विधेयक आउँदा अध्ययन नै गर्न नपाउँदा संशोधन नहालेको बताए ।

सत्तारुढ नेकपाका सांसद विरोध खतिवडाले अध्ययन गर्न नपाएका कारण कुनै पनि विधेयकमा आफूले संशोधन दर्ता गर्न नसकेको जानकारी दिए ।

नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेटिएका खतिवडाले देश सञ्चारसँग भने, ‘एकैपटक नौ नौवटा विधेयक आउँदा कुन अध्ययन गर्नु ? नपढी संशोधन हाल्ने कुरा भएन । त्यसैले मैंले एउटा पनि संशोधन दिइन ।’

संसदको विधेयक शाखाका अनुसार राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) पहिलो संशाधेन विधेयकमा पाँचवटा, प्रहरी समायोजनमा सातवटा, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयकमा सातवटा, औद्योगिक व्यवसाय विधेयकमा सातवटा संशोधन परेको छ ।

त्यस्तै जेष्ठ नागरिक (पहिलो संशोधन विधेयक) मा पनि सातवटा र विज्ञापन विधेयकमा पाँचवटा मात्र संशोधन दर्ता भएको छ । तर, गैरसरकारी संस्थाको चासो भएका विधेयकमा भने धेरै संशोधन दर्ता भएको विधेयक शाखाका एक कर्मचारीले बताए ।

वन विधेयकमा १७ वटा, वातावरण संरक्षण विधेयकमा १३ वटा र भूमी सम्बन्धी(आठौं संशोधन विधेयक)मा १६ वटा संशोधन परेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विधेयकमाथि छलफल नै नहोस् भन्ने गलत मनसायले सरकार र संसदले एकैपटक धेरै विधेयक प्रस्तुत गरेको आरोप लगाए ।

उनले भने, ‘कहिले लामो समयसम्म विधेयक नै नल्याउने अनि ल्याएपछि अध्ययन नै गर्न नपाउने गरी धेरै ल्याउने सरकारको मनसाय ठीक छैन । सरकारको छलफल नै नहोस् भन्ने इच्छालाई सभामुखले सहयोग गर्नुभयो ।’

उनले आफ्नो रुचि र अध्ययन गरिरहेका केही विधेयकमा संशोधन हाले पनि अरुमा हचुवाको भरमा अन्य सांसदले ल्याएको प्रस्तावमा हस्ताक्षर मात्र गरेको बताए । यो विषयमा कांग्रेसले सदनमै आवाज उठाउने राजभण्डारीले बताए ।

त्यस्तै सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले पनि धेरै विधेयक एकैपटक आएकाले संशोधन दर्ता गराउन नसकिएको बताइन् ।

प्रतिनिधिसभामा सक्रिय सांसदमध्ये पर्ने पाण्डेले भनिन्, ‘नौवटा विधेयकलाई एकैपटक कसरी अध्ययन गरे संशोधन प्रस्ताव तयार पार्नु ? योपटक मैंले कुनै पनि संशोधन हालिन ।’

शनिबारसम्म संशोधन दर्ता गर्न दिइएका विधेयकलाई सोमबार बस्ने संसदको बैठकबाट सम्बन्धित समितिमा पठाइने सचिवालयले जनाएको छ ।

यी हुन् संशोधन दर्ता गर्न दिइएका नौ विधेयक

जेठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्