विराटनगरमा निर्माणाधीन सडकले स्थानीयलाई सास्ती

फाइल तस्बिर

मोरङ– विराटनगरमा निर्माणाधीन सडक, ढल तथा नालाको काम ६० प्रतिशत सम्पन्न भएको विराटनगर महानगरपालिकाले जनाएको छ।

आउँदो नोभेम्बर महिनासम्ममा एकचरणको निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने प्रावधान अनुसार काममा तिव्रता हुँदै गएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको भनाइ छ।

यद्यपी कामका क्रममा चौतर्फी रुपमा निर्माण कम्पनीहरुले काम अघि बढाउँदा स्थानीय भने पीडित भएका छन्। सोमबारबाट प्रदेशसभाको चौथो अधिवेशन सुरु हुँदैछ। यसक्रममा आइतबार प्रदेशस्थित नेकपाको संसदीय दलको बैठकमा सहभागिता जनाउन सिटी रिक्सामा सवार सांसद यशोदा अधिकारीले दिनँहुको जामबाट आजित भएको बताईन्।

बिहान ११ बजे दलको बैठकमा सहभागिता जनाउन कार्यालय नजिक घोघापुल चौकको जाममा फसेकी सांसद अधिकारी पनि दुखः मनाउँ गर्दै थिइन्। सडक बनाउने कामलाई स्थानीयले साथ दिएको बताउँदै उनले सम्बन्धित निकायले त्यसको सही रुपमा व्यवस्थापन गर्न नसकेको गुनासो गरिन्। उनले भनिन्, ‘हाउसमा यस विषयमा हामी कुरा राख्ने छाैँ। राख्दै आएका छौँ। यस्तो जामबाट दैनिकी कसरी अघि बढ्ला? जनतालाई दुःख दिनु राम्रो होइन। यसको सही रुपमा व्यवस्थापन गरिनु आवश्यक छ।’ सांसद अधिकारी करिब २५ मिनेट उक्त जाममा फसेकी थिइन्।

अर्कोतर्फ महानगरपालिका भने सडक निर्माणसँगै सर्वसाधारणलाई सहज वातावरण दिनका लागि नियमित रुपमा अनुगमनमा गर्दै आएको छ। प्रमुख प्रशासकीय अधिकृत अधिकारी भन्छन्, ‘कामको गति र व्यवस्थापनका लागि महानगरपालिकाबाट दैनिक रुपमा अनुगमन समेत भइरहेको छ। अधिकांश सडक निर्माणमा सवारी सहज होस् भन्ने हिसाबले निर्माण व्यवसायीलाई निर्देशन पनि दिँदै आएका छौँ।’

अर्कोतर्फ सडकजामका सन्दर्भमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले समन्वय हुन नसक्दा सास्ती खेप्नु परेको बताउँछन्। ‘सडक निर्माण हुने स्थानभन्दा करिब ५०/६० मिटर सांकेतिक बोर्ड राख्न भनिए पनि त्यो पाएका छैनौँ। जसका कारण मानिसहरु निर्माण भइरहेकै स्थानमा पुग्छन् र जाम हुने गरेको छ’–उनी भन्छन्।

बिहान र बेलुकाको समय मुख्यतः महानगरका व्यस्त चोकहरुमा जाम हुने गरेको छ। यसलाई व्यवस्थित गर्नका लागि जिल्लामै करिब ३५ जना ट्राफिक प्रहरी रहेका छन्। प्रहरी निरीक्षक पोखरेल भन्छन्, ‘हामीले माग ४५ जनाको गरेका छौँ। तर सो संख्यामा प्रहरी नहुँदा केही असहज पक्कै भएको छ। त्यसैगरि, दुई चक्के र तीन चक्के सवारीचालकहरुले अनावश्यक ओभरटेक गर्दा बढी जाम हुने गरेको छ।’

महानगरपालिका भित्र निर्माणाधीन संरचनाका लागि चीनको झोंगयांग्य कन्सल्टेन्ट ग्रुप बेइजिङ अन्तर्गत आशिष निर्माण सेवाले गरिरहेको छ। यस क्रममा सम्पूर्ण कार्यको विडिए नेपालले परामर्शदाताको रुपमा रहेको छ। यसका लागि साना तथा मझौला वातावरणीय विकास परियोजना अन्तर्गत २ अर्व ९५ करोड, क्षेत्रीय विकास परियोजना अन्तर्गत २ अर्व ६२ करोड तथा सघन सहरी विकास कार्यक्रम अन्तर्गत ६२ करोड रुपैयाँ लागतमा काम भइरहेको छ।

जसमा महानगरपालिका भित्र ७३ किलोमिटर मध्ये हालसम्म ३० किलोमिटर कालोपत्रे सडक निर्माण भइसकेको छ। त्यसैगरि ढल तथा नालाको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ। महानगरपालिकाले नगर क्षेत्र भित्र आँउदो पाँच वर्षभित्र कम्तीमा ५ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ।

जेठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्