विष्फोट विप्लव समूहबाटै, मृत्यु हुने चार पुगे

सुकेधारा विस्फोटस्थलको दृश्य। तस्बिर : सुलभ श्रेष्ठ

काठमाडौँ- चार जनाको ज्यान जाने गरी आइतबार अपराह्न भएको विस्फोटमा विप्लव नेतृत्वको समूहको संलग्‍नता रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले दुवै ठाउँमा विप्लव समूहले नै विस्फोट गराएको उल्लेख गरे। यी घटनामा चारको मृत्यु र ६ जना घाइते भएका छन्।

सुकेधारा विस्फोटका पाँच घाइतेको अहिले ओम अस्पतालमा उपचार भइरहेको छ। अनामनगर विस्फोटका एक घाइतेको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घट्टेकुलोमा एकजनाको र सुकेधारा विस्फोटमा घटनास्थलमै दुई र ओम अस्पतालमा उपचारका क्रममा एकजनाको गरी तीनजनाको मृत्यु भएको छ।

विस्फोटक पदार्थ स्टोर गर्ने क्रममा वा परीक्षण गर्ने क्रममा विस्फोटक पदार्थ बोकेकाहरू नै घटना परेको हुन सक्ने प्रहरीको अनुमान छ।

सिलिन्डर होइन पड्किएको

नेपाली सेनाले पनि दुवै घटनामा सिलिण्डर पड्किएको नपाइएको बताएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘दुवै ठाउँमा ग्यास सिलिण्डर पड्किएको पाइएको छैन, घट्टेकुलोमा त पक्का भइसक्यो, यताको पनि अनुसन्धानमा टोली खटाएका छौँ, टोलीले अनुसन्धान गरिरहेको छ।’ अपराह्न करीब ४ बजे विस्फोटहरू भएका थिए।

घट्टेकुलोको सङ्गम गल्लीमा भएको विस्फोटमा एक र सुकेधारामा भएको विस्फोटमा तीन जनाको ज्यान गएको हो। सुकेधारा घटनाका एक घाइतेको उपचारका क्रममा ओम अस्पतालमा निधन भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए।

मृतकहरूको पहिचान खुलेको छैन।

अहिलेसम्म घाइते भएका ६ मध्ये चार जनाको परिचय खुलेको छ। घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रविन केसी रहेका छन्। उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

सुकेधाराको ढलाने पुल नजिक भएको विस्फोटमा परी काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ। दुई घाइतेको परिचय खुलेको छैन।

प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार घट्टेकुलो बम विस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठमा भएको सामानमा समेत क्षति पुगेको छ।

घटनास्थलमा विस्फोटक पदार्थ रहेको आशङ्कामा नेपाली सेनाको तालीमप्राप्त टोली परिचालन भएको छ।

प्रत्यक्षदर्शी शौरभ भट्टराईले ठूलो आवाजका साथ विस्फोट भएको र घरको गारोसमेत चर्किएको जानकारी दिए।

दुवै घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भई अनुसन्धान जारी राखेका छन्।

जेठ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्