राजधानीमा शृङ्खलाबद्ध बिस्फोट

‘पहिलेदेखि नै शङ्कास्पद गतिविधि थियो’

काठमाडौँ – काठमाडौँ घट्टेकुलोको सङ्गम टोल शान्त थियो । सो क्षेत्रमा यस्ता घटना यसअघि भएको थिएन तर आइतबार बेलुका एक्कासी घटना हुँदा स्थानीय बासिन्दा चकित भए । पढ्न बसेका शौरभ भट्टराई ठूलो आवाज आउँदा अच्चममा परे । कहाँ के भयो भनेर हत्तनपत्त बाहिर निस्किए ।

“म पढ्दै थिएँ एक्कासि ठूलो आवाज आयो, बाहिर हेर्दा परको घरमा धुवाँ जस्तो देखेँ, हेर्न जाँदा क्षतविक्षत अवस्थामा शव देखियो, एकजना घाइते थिए, घरभित्रको कोठा चर्केको देखेँ”, शौरभले भने । उनका अनुसार मृतकको टाउको एकापट्टि, हात अर्काे पट्टि उछिट्टिएको थियो । खाटलगायत कोठाका सामग्रीमा क्षति पुगेको थियो । भित्तो नै चर्किएको थियो । “एकै छिनपछि प्रहरी आयो र हामी बाहिर निस्कियौँ”, घटनाबारे शौरभले बताए । पछिसम्म पनि भित्र बारुद गन्हाइरहेको उनले बताए ।

कोठाभित्रको ग्यास सिलिण्डरमा कुनै क्षति भएको थिएन । बिस्फोटपछि घटनामा पुगेका अर्का स्थानीय सागर दाहालले घटनास्थलमा दयनीय अवस्था देखेको बताए । उनीहरूले आफै बम बनाउँदै गर्दा पड्केको स्थानीय बासिन्दा दाबी गर्छन् । अर्का स्थानीय बासिन्दाले भने, “हरेक दिन जसो नै पाँच–सात जना कोठामा आउने–जाने गरेका थिए, उनीहरूका गतिविधि पनि शङ्कास्पद थियो, उनीहरू दुई महिनाअघि मात्रै उक्त घरमा कोठा सरेका हुन् ।”

नेपाली सेनाले पनि दुवै घटनामा सिलिण्डर बिस्फोट नभएको देखिएकाले बम डिस्पोजल टोलीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । काठमाडौँको सुकेधारा र घट्टेकुलो बिस्फोटका घटनामा विप्लव समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडाैँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले दुवै ठाउँमा विप्लव समूहले नै बिस्फोट गराएको उल्लेख गरे । काठमाडौँको नागढुङ्गा र ललितपुरको लगनखेललगायत विभिन्न क्षेत्रमाा समेत शङ्कास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

मानवीय क्षति भएको दुवै ठाउँमा अनुसन्धानका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । सो घटनापछि प्रहरीले काठमाडाैँ उपत्यकालगायत देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । गृह मन्त्रालयमा आइतबार बेलुका बसेको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

सुकेधारामा भएको बिस्फोटमा चारजनाएको ज्यान गएको छ । घट्टेकुलोको सङ्गम गल्लीमा भएको बिस्फोटमा एकजनाको मृत्यु भएको हो । घाइते पाँचमध्ये चार जनाको परिचय खुलेको छ । घट्टेकुलोमा भएको बिस्फोटमा रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रविन केसी घाइते भएका छन् । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सुकेधाराको ढलाने पुल नजिक भएको बिस्फोटमा काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको ओम अस्पतालमा उपचार भइरहेको छ । एकजनाको परिचय खुलेको छैन ।

(राष्ट्रिय समाचार समितिको सहयोगमा)

जेठ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्