कर्णालीमा विप्लवको बन्द प्रभाव

सवारी साधनमा आगजनी, तीनजना पक्राउ

सुर्खेत-नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार गरेको बन्दले कर्णाली प्रदेशका दश वटै जिल्लामा प्रभावित बन्यो।कार्यकर्ता हत्याको विरोधमा गरेको बन्दका कारण कर्णालीका विभिन्न जिल्लामा सवारी साधनहरुमा आगजनी गरिएको छ।

छिटफुट रुपमा सञ्चालनमा आएका सवारीसाधन समेत विप्लवको निशानामा परेका छन्।बन्द अवज्ञा गरेको भन्दै कर्णालीका सुर्खेत र कालिकोटमा सवारीधानमाथि आगजनी गरिएको छ।

सुर्खेतको गुर्भाकोट नगरपालीकाको वडा नं १४ बाट भेरीगंगा नगरपालीका तर्फ आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आगो लगाएका थिए।कालीकोटबाट दैलेख तर्फ आउँदै गरेको भे ७ प ४७५७ र भे ७ प ३५८ नम्बरको मोटरसाईकलसमेत विप्लवका कार्यकर्ताले आगजनी गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

प्रदेश प्रहरी कार्यालयका नायब उपरिक्षक लोकनाथ तिमिल्सीनाका अनुसार बढैयाताल ७ बर्दियाका भिमबहादुर केसी र सरिफ अलीको मोटरसाईकलमा आगजनी गरिएको हो।

तीन जना पक्राउ

विप्लव समुहको बन्दको प्रचार गर्दै हिडेका कार्यकता पक्राउ परेका छन्।पश्चिम रुकुमबाट एक जना र सुर्खेतबाट दुई जना गरि तीन जना पक्राउ परेका हुन्।
रुकुमबाट विप्लपका जिल्ला सदस्य २० वर्षीय गोपीलाल वि.क वन्दको प्रचार गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

सुर्खेतको छिञ्चुसडक खण्डमापर्ने मसिनामा टायर बालेर सडक अवरुद्ध गरेका विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अजय विक र तिलक विकलाई प्रहरीले पक्राउ गरेको छ।उनीहरुको समेत थप अनुसन्धान भईरहेको जनाइएको छ।

दुई जना माथि कुटपिट
पार्टीले गरेको बन्दको अवज्ञा गर्न खोजेको भन्दै जाजरकोटमा विप्लव समुहका कार्यकर्ताबाट दुई जना सर्वसाधारण कुटिएका छन्।भेरीनगरपालीका ७ जाजरकोट पुन्मामा विप्लवका कार्यकर्ताले स्थानीय यूवालाई कुटेका हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार विप्लव समुहका कार्यकर्ताबाट स्थानीय बुद्धि शाही र नरेश शाह कुटिएका हुन्।उनीहरुको अवस्था अहिले सामान्य भएको प्रहरी स्रोतले जानकारी दियो।

आईतबार काठमाण्डौंमा बम बिष्फोटमा विप्लवकै संलग्नता रहेको पाईएपछि फैलिएको त्रासले सवारीसाधनहरु सञ्चालन हुन सकेनन्।

दिनभर सुर्खेतबाट लामो दूरीको सवारी साधनहरु बाहिर छुटेनन्। प्रदेश प्रहरी कार्यालयका अनुसार आईतबार दिनभर कर्णाली प्रदेशभर सवारी साधन, शैक्षिक संस्थाहरु ठप्प भएका थिए।

जेठ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्