काठमा काष्ठकला

‘काम नलाग्‍ने’ काठमा कुँदियो गौतम बुद्धका परिवारकै मूर्ति

देवदहको बुद्ध सामुदायिक वन देवदह नगरपालिका वडा नं. ५ र ६ मा ‘देवदह राष्ट्रिय काष्ठकला कार्यशाला–२०७६’ मा बुद्धको मूर्ति बनाउँदै। तस्बिर- सीपी खनाल/देश सञ्चार

बुटवल-वनमा काठका मुढा कुहिएर खेर गइरहेका थिए। कति अनावश्यक अवरोध बनेका थिए । ती ‘काम नलाग्दा’ काठ सुन्दर बनाएर सजाउने सपना देखे देवदहको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले।

रुपन्देहीको देवदह नगरपालिकाको बुद्ध सामुदायिक वन उपभोक्ता समूहले जुक्ति निकाल्यो–वन क्षेत्रमा बनाउन लागिएको गौतमबुद्ध राष्ट्रिय उद्यानमा ‘काम नलाग्ने’ काठहरुलाई प्राण दिने र संरक्षण गर्ने।

त्यसैअनुसार देवदहको बुद्ध सामुदायिक वन देवदह नगरपालिका वडा नं. ५ र ६ मा ‘देवदह राष्ट्रिय काष्ठकला कार्यशाला–२०७६’ चलिरहेको छ।

काठमा बुद्धका परिवार सदस्यहरुका आकृति तयार हुँदैछन्। सिद्धार्थ गौतमलाई आमा मायादेवीले लुम्बिनीमा जन्म दिदै गर्दादेखि बुद्धत्व प्राप्त गर्नुअघि र पछिका अवस्था र कालखण्डहरु झल्काउने आकृति देशभरका प्रसिद्ध मूर्तिकारहरुले तयार गरिरहेका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौं र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदह ५ र ६ रुपन्देहीको मुख्य आयोजनामा चलिरहेको कार्यशालामा १७ जना मूर्तिकारहरु जेठ ८ गतेदेखि मुर्ति तयार गर्न जुटिरहेका छन्।

बुद्धका अनेक आकृति र स्वरुप कुँध्दै १७ कलाकार


हरि बहादुर थापा बयम्बुले हालै फाइन आर्टमा प्रविणता प्रमाण पत्र तह पूरा गरे। उनले सालको काठको जरालाई बुद्धको मावलीमा बौद्ध भिक्षु ध्यानमा बसेको आकृति दिदैछन् । बौद्ध भिक्षु बनाउन थालेका उनी एक हप्तादेखि यसमै लीन भएका छन्।

‘यसो हेर्दा काठको जरा ध्यान मुद्रामा देखेँ, उनी भन्छन्–अनि यसलाई त ध्यान मुद्राकै केही रुप दिनुपर्छ भन्ने लाग्यो, अनि ध्यानमुद्रामा रहेका भिक्षु बनाउन लागेको छु।’

यस्तै गरी बुटवलका कलाकार यमबहादुर थापाले मायादेवीको निधनपछि रानी प्रजापति गौतमीले सिद्धार्थलाई स्याहारसुसार गर्दै गरेको मूर्ति तयार गर्दैछन् । दिनेश्वर महतोले बुद्धको मूर्तिभन्दा विचार ठूलो भन्ने सन्देश दिनेखालको आकृति तयार गरेका छन्।

‘खेर गएको काठको धोद्रोमा बुद्धको आकृति बनेको छ, उनी भन्छन्–यसको भित्रपट्टि पसेर फोटो खिच्नेले पनि आफुलाई केही छिन बुद्ध बनेको अनुभूति गरोस्, शान्त मन लिएर त्यसबाट बाहिर निस्कियोस्।’

काठमाडौं विश्वविद्यालयमा आर्ट एण्ड डिजाईन विभागमा कार्यरत उपप्राध्यापक भुवन थापाले पावन भूमि देवदहको नक्शामा बुद्धचक्र, मायाको गाँठो, भाग्यको गाँठो र जीवनको गाँठोको सन्देश दिने मूर्ति तयार गरेका छन्।

‘यो झट्ट हेर्दा के हो भन्ने देखिदैन, धेरैबेर ध्यान दिएर हेर्नुपर्ने हुन्छ, देवदहको नक्शाको मुनि बुद्ध पञ्चशीलको संकेत गर्ने चक्र छ, छामेर पनि महसुस गर्न सकिने खालका बुद्धका विभिन्न आयामहरु बनेका छन् -उनले मूर्तिको बारेमा बताए।

ललितकला प्रतिष्ठान मूर्ति विभागका प्रमुख लालकाजी लामाले मायादेवीले सिद्धार्थलाई जन्म दिएको आकृति काठमा उतारेका छन्। उनी भन्छन्–हाम्रो कला संस्कृति, धर्म र संस्कारलाई यसरी नै एउटा एउटा रुप दिएर दीर्घकालसम्म रहिरहने बनाउन सक्नुपर्छ, यसले बुद्धको प्रचारमा पनि जोड दिन्छ र आगामी पूस्तालाई पनि ज्ञान दिन्छ।’

प्राज्ञ सभा सदस्य रुपन्देहीका गोविन्द चौधरी कोलिय गणराज्यका राजा सुप्रबुद्धको मूर्ति बनाउँदै थिए। ‘राजा शुद्धोधनका ससुरा, मायादेवीका बाबु र गौतमबुद्धका मावली हजुरबुवा कस्ता थिए भन्ने कुरा त अहिलेसम्म कसैले खोजेको छैन, उनी भन्छन्–एउटा परिकल्पना गरेर बनाएको छु।’

यसरी नै रौतहटका राजन काफ्ले, हेटौडाका लक्ष्मण भुजेल, इलामका राजु पिठाकोटे, काठमाडौंका प्रथमराज बज्राचार्य, रुपन्देहीका बुद्ध चौधरी, चितवनका भीम बहादुर श्रेष्ठ, गुल्मीका हरिराम अधिकारी, झापाका केडी याक्खा, काठमाडौंका अनमारी तामाङ, गुल्मीका कुमार थापा कार्यशालामा मूर्ति बनाइरहेका छन् ।

१७ जनाले बनाउने सबै मूर्ति बुद्ध र बुद्धका विभिन्न कालखण्ड, आसन, परिवारसँग सम्बन्धित रहेको ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य लालकाजी लामाले बताए।

किन देवदहमै काष्ठ कार्यशाला ?


देवदहलाई बुद्धको मावली गाउँ मानिदै आएको छ।देवदह प्राचीन कोलिय गणराज्यको राजधानी थियो।यसको प्रचारप्रसारलाई विश्वव्यापी बनाउनका लागि पहिलो कदम हो भन्छन् काष्ठकला कार्यशालाका आयोजकमध्येका एक बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेक बहादुर राना।

‘देवदहको प्रचारप्रसारलाई व्यापक बनाउने र पर्यटकीय थलोको रुपमा विकास र प्रवद्र्धन गर्ने उदेश्यले हामीहरुले गौतम बुद्ध राष्ट्रिय उद्यान नै बनाउँदै छौं, त्यसकै लागि यो अभियान थालिएको हो,–उनले भने।

कार्यशालाको प्रवद्र्धक ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष तथा स्मारिका प्रकाशन तथा मूल्यांकन समितिका संयोजक सिद्धिचरण भट्टराईले काष्ठकला कार्यशालाले देवदहलाई चिनाउनका लागि थप मदत पुर्‍याउने बताए।

‘हामीले आगामी वर्ष पनि देवदहमा प्रस्तर (ढुंगा) का मूर्तिहरु बनाउन अर्को कार्यशाला गर्ने योजना बनाएका छौं उनले भने–यो अन्तरराष्ट्रिय स्तरकै बनाउने योजना छ।’कार्यशाला आयोजनाका लागि स्थानीय संघसंस्थादेखि आमासमूहसमेत खटिएका छन् । आयोजकका अनुसार यही जेठ १६ गतेसम्म चल्ने कार्यशाला सम्पन्न गर्न करीब १५ लाख रुपैयाँ खर्च हुनेछ।

वनमा बनाइने उद्यानमा यी मूर्तिहरु संरक्षण गरेर राखिने छन्। जसका लागि १७ वटा समूहले नै यसको जिम्मा लिनेगरी तयारी गरिरहेका छन्। स्थानीय आमा समूह र युवासमूहले मूर्तिको संरक्षण गर्नेछन्।

उद्यानलाई पर्यटकीय थलो बनाउनका लागि वन उपभोक्ता समूहले गुरुयोजना निर्माण गरेर डीपीआरको काम भइरहेको अध्यक्ष रानाले बताए।

उनका अनुसार उद्यानमा इण्डोर स्टेडियम, वाल उद्यान, चिडियाखाना, भ्यू टावर, बोटानिकल गार्डेन, गेमिङ जोन, फुलबारी, कर्भड हल, स्वीमिङ पूल, बनभोजस्थल, पार्क, वाटर फाउण्डेशनलगायतका संरचना बन्‍ने छन्।

जेठ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्