नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलसँग अन्तर्वार्ता

‘सुरक्षाकै कारण उनीहरुले सार्वजनिक स्थानमा पड्काउन सकेनन्’

‘सुरक्षाकै कारण उनीहरुले सार्वजनिक स्थानमा पड्काउन सकेनन्’

विश्वराज पोखरेल, डिआइजी, नेपाल प्रहरी। तस्बिरहरु: सुलभ श्रेष्ठ

राजधानीमा आइतबार अपरान्ह भएका दुईवटा विस्फोटन र त्यसपछि शृंखलाबद्धरुपमा भेटिएका वेवारिसे बमले राजधानीको सुरक्षा ब्यवस्थापनमा प्रश्न उठेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको अघिल्लो दिन राजधानीलाई आतङ्कित बनायो। चार जनाको ज्यान जाने गरी भएका दुई वटा विस्फोटमा आफ्नै कार्यकर्ता मारिएको विप्लव समूहले स्वीकार गरिसकेको छ। विप्लव समूहको पछिल्लो गतिविधि र राजधानीको सुरक्षा चुनौतीका विषयमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलसँग देशसञ्चारका लोकेन्द्र प्रसाईले कुराकानी गरेका छन्।

१. विप्लव समूहबाट भएको पछिल्लो विस्फोटनका गतिविधि कति अपेक्षित थिए?

–नेपाल बन्दलाई सफल बनाउन बन्दको अघिल्लो दिन मसाल जुलुस निकाल्ने, भय सृजना गराउने, जनजीवनमा सन्त्रास पैदा गराउने लगायत गतिविधि पुरानै भएपनि विप्लव समूहको गतिविधिप्रति हामी सचेत थियौं। जनमानसमा आतङक सृजना गर्ने, हिंसात्मक गतिविधि गर्ने उसको शैलीले सुरक्षा सतर्क उच्च थियो। हामीले हाम्रा स्रोत र साधनलाई अधिकतमरुपमा परिचालन गरेका थियौं। यी घटना अपेक्षितभन्दा पनि यस्ता घटना हुन सक्दैनन् भन्नेमा हामी थिएनौँ। त्यसैले सतर्कता उच्च बनाइएको थियो।

२. तर राजधानीकै महत्वपुर्ण स्थानमा विस्फोटन भए, मान्छे मारिए, त्यसपछि निरन्तर वेवारिसे विस्फोटक पदार्थ भेटिए। सुरक्षा संयन्त्र चुकेको हो ?

– यसलाई हामी चुकेको भन्दैनौँ। पब्लिक प्लेसमा आएर विस्फोट गराएको भए, धनजनको क्षति भएको थियो भने हाम्रो सुरक्षा संयन्त्र कमजोर भयो, मोबिलिटी र निगरानी कमजोर भयो भनेर परिभाषित हुने अवस्था हुन्थ्यो।

जसले घटना घटाउने सोचिरहेका थिए, उनिहरु बाहिर आउनै पाएनन्। किनभने हामीले सुरक्षा व्यवस्था कडा बनाएका थियौं। भारी मात्रामा खटाइएका सादा पोसाकका प्रहरीले त्यस्ता समूहलाई बाहिर निस्किएर विस्फोट गराउने अवस्था नै दिएनन्। बाहिर आउन नसकेको परिस्थितिमा आफूसँग भएको पदार्थ विस्फोट भएर उनीहरु आफैँ परे। छिटफुट संख्यामा विस्फोटक पदार्थ र शंकास्पद बस्तुहरु राख्यो भन्दैमा सेक्युरिटी संयन्त्र निरीह भयो भन्न मिल्दैन। हामीले विप्लव समूहलाई विफल पार्‍यौँ।

३. राजधानीका जनतामा सुरक्षा त्रास बढेको देखिन्छ नि?
– यी घटनालाई लिएर जनताले असुरक्षा महसुस गर्नुपर्ने अवस्था छैन। किन पब्लिक प्लेसमा किन विस्फोट हुन सकेन भनेर बुझ्नुपर्छ। यो त हाम्रै सेक्युरिटीका कारणले हो नि। त्यसैले नेपाल प्रहरीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छ जस्तो लाग्दैन। कानुनविपरित र जनताको शान्ती सुरक्षामा असर पुर्‍याउने जो कोहीलाई पनि नियन्त्रणमा लिन र स्थितिलाई सामान्य बनाउन नेपाल प्रहरी सक्षम छ।

४. सरकारले विप्लव समूहलाई ‘आपराधिक समूह’ भनेर घोषणा गरिसकेको अवस्थामा प्रहरीले अझै पनि राजनीतिक व्यवहार नै गरिरहेको टिप्पणी हुने गरेको छ नि?

– हिंसात्मक र ध्वंसात्मक काम कारबाही कोही र कसैबाट हुन्छ भने नेपाल प्रहरी त्यस्तालाई निर्दयतापूर्वक कारबाही गर्न तयार छ र गरिरहेको छ। हामी भएको अपराधअनुसार कानुनी दायरामा ल्याएर कारबाही गर्छौ।

५.विप्लव समूहप्रति प्रहरीको व्यवहार अब अझ फरक हुन्छ भनेर अनुमान गर्न सकिन्छ ?

– नेपाल प्रहरीले सबै नागरिकलाई समान व्यवहार गर्छ। कसैले हत्या हिंसा गर्दैन भने उसको सुरक्षा गर्ने जिम्मा हाम्रो हो। तर आफु  हत्या हिंसा गर्ने अनि राज्यको व्यवहार चाहीँ सामान्य नागरिकको सरह खोज्नु सुहाउँदैन। हामी कानुनअनुसार कारबाही गर्न तयार छौँ।

६.भोजपुरमा आफ्ना कार्यकर्तालाई प्रहरीले जानाजान मारेको दावी गर्दै विप्लव समूहले सरकारलाई त्यसको कडा जवाफ दिने बताएको थियो। प्रहरीले संयमता गुमाएको हो र?

–हामीले कसैलाई त्यस्तो गरेको छैन। प्रहरीको सुरक्षा नै जोखिममा परेपछि त्यहाँ स्थिति नियन्त्रणमा लिन गोली प्रहार भएको थियो।

जेष्ठ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्