सन्दर्भ : अन्तर्राष्ट्रिय सगरमाथा दिवस

सर्वोच्च शिखरमा मानव पुगेको ६६ वर्ष पूरा, गरिमा एवम् सुन्दरता जोगाउने चुनौती

फाइल फोटो

काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको ६६ वर्ष पूरा भएको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइन्छ । दिवसको अवसरमा बुधबार विविध कार्यक्रम हुँदैछन् ।

सगरमाथा आरोहण इतिहासको यो अवधिमा आठ हजारभन्दा बढि स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहणका क्रममा हालसम्म २९० बढिको निधन भइसकेको बताइन्छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् ।

सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरि सगरमाथा चढ्ने प्रथम महिला आरोहीको कीर्तिमान कायम गरेकी थिइन् । जापानी नागरिक जुनको तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोही हुन् ।

पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २४ औँ पटक आरोहण गरि विश्व कीर्तिमान कायम गरेका छन् । उनले वसन्त ऋतुको यस याममा यहि जेठ ७ गते आफ्नै २३ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ रेकर्ड बनाएका हुन् । उनले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए ।

कामिरितापछि हालसम्म आप्पा शेपा, ङिमानुरु शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाको १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेका छन् ।

पर्यटन विभागका अनुसार सन् २०१९ को वसन्तकालीन मौसममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । यस मौसममा सगरमाथासहितका ३२ हिमाल आरोहणका लागि ११६ आरोही समूहका ८९५ आरोहीले आरोहण अनुमति लिएका थिए । यस यामको सगरमाथा आरोहण गएको वैशाख ३१ गते सुरु भएको हो ।

गएको बुधबार आरोही निर्मल पूर्जाले खिचेको तस्बिर ।

यस पटकको सगरमाथा आरोहण बुधबारदेखि सकिएको विभागले जनाएको छ । यस याममा ६०० भन्दा बढिले सगरमाथा आरोहण गरेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिएका छन् । यो विभिन्न एजेन्सीमार्फत आएको विवरण हो । कति सङ्ख्यामा आरोहण भयो भन्नेबारे पुष्टि भइनसकेको विभागले जनाएको छ । सरकारले आरोहणका लागि हालसम्म ४१४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् ।

दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिक) को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ ।

सगरमाथामा मानव पाइला पुगेको उक्त घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपाललाई सगरमाथाको देश भनेर संसारभर चिनायो । मानिसले सगरमाथा र नेपालको परिचयलाई जोडेर हेर्नसमेत थाले ।

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ । नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर यो दिवस मनाउन थालिएको हो ।

यसपटक १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको छ । दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको ३७ सदस्यीय मूल आयोजक समिति गठन भएको छ ।

कार्यक्रमअनुसार बुधबार बिहान ठमेलबाट प्रभातफेरीपछि राष्ट्रिय सभागृहमा औपचारिक समारोह आयोजना हुँदैछ ।

समारोहमा हिलारीकी छोरी सारा हिलारीलगायत विदेशी पाहुनाको सहभागिता रहनेछ । सो अवसरमा ‘अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार’ र ‘तेञ्जिङ हिलारी पुरस्कार’ प्रदान गरिनेछ । यस पटक सगरमाथा हिमाल सफाइ अभियानमा खटिएका शेर्पा टोलीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सगरमाथा राष्ट्रको गौरव भएकाले यसको प्रवर्द्धनका लागि सरकारले विशेष प्रथामिकता दिएको बताएका छन् ।

सगरमाथाबाट संकलन गरेर ल्याइएका फोहोर। तस्बिरहरु: बर्षा शाह

सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा पर्यटन क्षेत्रलाई महत्व दिएको सन्दर्भमा पनि सगरमाथाले आम मानिसको ध्यान केन्द्रित गरेको छ । सगरमाथाको शान र गौरवलाई चिरस्थायी बनाइराख्न वातावरण र पर्यावरणीय पक्षलाई ध्यान दिन जरुरी देखिएको सरोकारवालाले औँल्याउने गरेका छन् ।

पछिल्लो समय विश्व तापमान वृद्धिले जलवायु परिवर्तनको जोखिम बढेको र त्यसको प्रत्यक्ष असर हिमालमा परेको छ । हिमालहरू कालापत्थरमा परिणत हुने हुन् कि भन्ने चुनौति थपिएको छ । यसर्थ, समयमै विश्वको सम्पत्ति सगरमाथा संरक्षणका लागि जुट्न सरकारले विश्व समुदायलाई आह्वान गरिसकेको छ ।

सरकारी तथा निजी क्षेत्रको साझेदारीमा सगरमाथा सफाइ अभियान पनि यसै वर्ष सुरु गरिएको थियो । सगरमाथाको क्याम्प ४ सम्म पुगेर १० हजार ८२४ केजी फोहर सङ्कलन गरिएको थियो ।

(राससको सहयोगमा)

जेष्ठ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू