पौरखी हातहरु

गृहणी महिला डकर्मी

दाङ– शिरमा पहेँलो टोपी । शरीर छोप्ने एकै नासको कपडा लगाएका महिलाहरु मात्रै छन् । २० जना महिला मध्ये केहीले घरको गारो लगाइरहेका छन् । कसैले मसला बनाइरहेका छन् ।

लेवल मिलाउने, ईट्टा पुर्‍याउने, पानी चार्ने काममा समेत खटिएका छन् । घर बनाउने काम गाह्रो काम । त्यसमा पनि डकर्मी पुरुष मात्रै हुने चलन छ । तर, लमही नगरपालिका वडा नं. १ नर्तीका महिलाहरु घर बनाउने कामको सीप सिकिरहेका छन् ।

मसला बनाउने, इट्टाको गारो लगाउने, लेबल मिलाउने काममा पोख्त भैसकेकी छिन् लमही नगरपालिका वडा नं. १ नर्ती निवासी हिमा भण्डारी । ‘यो गर्मीमा किन काम गरिरहेको होला भन्ने लाग्न सक्छ ।

हामी त घरमा बिहान भात भान्सा सकेर, केटा केटीलाई स्कुल पठाएर यहाँ आएका हौं’भण्डारीले भनिन्–‘पुरुषले गर्ने काम महिलाले पनि गर्न सक्छन् भन्ने उदाहरण दिन तालिममा सहभागी भएका हौं । बानी पर्न गाह्रो भयो । तर, अहिले राम्रैसँग हात बस्यो ।’

घर भित्र काम गर्दा श्रमको मूल्य छैन् । दिनभरी काममा खटिँदा पनि त्यसको मूल्य नै नहुने भएपछि घर भित्रको काम सकेर बचेको समयमा नयाँ कामको थालनी गरेको शान्ता अधिकारीले बताइन् ।

‘एकै जनाको कमाईले घर चलाउन गाह्रो छ । यहाँ सीप सिकेर घर बनाउने मिस्त्री काम गर्ने योजना छ’अधिकारीले भनिन्–‘काम गर्दै जाँदा अनुभव बढ्दै जाने रहेछ । कसरी ईट्टाको गाह्रो लगाउँदा हुन भन्ने लाग्थ्यो । तर, अहिले आफूले त्यही काम रोजियो ।’

विस्तारै महिलाहरु पनि घर बनाउने काममा मिस्त्रीको रुपमा काम गर्न थालेका छन् । घर बनाउने काममा पुरुष मात्रै मिस्त्री हुने र महिलाहरु सामान्य मजदुरको रुपमा मात्रै काम खटिने गर्दा ज्यालामा समेत असमानता थियो । तर, हातमा सीप भएपछि पुरुष बरावर ज्याला महिलाले प्राप्त गर्न सजिलो हुने सहायक प्रशिक्षक बिष्णुप्रसाद चौधरीले बताए ।

‘मसँग पनि दुई जना महिला मिस्त्री छन् । यहाँ २० जना महिलालाई तयार पार्दैछौं’उनले भने–‘यो काम महिलाले गर्ने, यो काम पुरुषले मात्रै गर्नुपर्छ भन्ने छैन् । गाह्रो काम पनि महिलाले गर्न सक्छन् भन्ने उदाहरण डकर्मी पेशामा महिला सहभागीता बढ्नु हो ।’

घर भित्रको काममा मात्रै सिमीत रहेका महिलाहरु डकर्मी(घर बनाउने) सीप सिक्न थालेका हुन् ।

जेष्ठ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्