सरकारले ल्याउँदैछ १५ खर्बभन्दा माथिको ‘लोकप्रिय बजेट’

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बुधबार अपराह्न चार बजे करिब १५ खर्ब ७७ अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ।

राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेटका लागि सिलिङ परिमार्जन गरेर १५ खर्ब ७७ अर्ब  रुपैयाँ पुर्‍याएकाले यति बराबरको बजेट आउने अनुमान गरिएको हो।

अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय-व्ययको विवरण पेस गर्नेछन्। जेठ १५ गते गणतन्त्र दिवसका साथै बजेट पनि प्रस्तुत गर्ने दिनका रुपमा चिनिँदै आएको छ।

केपी ‌ओली नेतृत्वको नेकपा सरकारले दोस्रोपल्ट बजेट प्रस्तुत गर्न लागेको हो।

यसपल्ट कर्मचारीको तलब बृद्धि हुने र बृद्धभत्ता बढाउने लगायत लोकप्रिय कार्यक्रम सरकारले ल्याउने अर्थ मन्त्रालय स्रोतले दाबी गरेको छ।

चालु आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको सरकारले आगामी आर्थिक वर्षको बजेटलाई बढी व्यवहारिक र कार्यान्वयनमुखी बनाउने लक्ष्य राखेको छ।

चालु आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो। चालुतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पुँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो। यसमध्ये करिब ४४ प्रतिशतमात्र विकास खर्च प्रयोगमा आएको छ भने राजस्व पनि लक्ष्यभन्दा १ खर्ब कम उठेको छ।

जेठ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्