८ मिटर पुलले जोडेको अनन्त खुशी

‘सानो गोरेटो बाटोको वरीपरी काँडैकाँडाले घेरेको थियो, हिड्दा पनि छालै लछार्ने तर हेर्दाहेर्दै कस्तो राम्रो भयो’, ६० वर्षीया वृद्धा आमा हातले तेर्स्याएर पर देखाउँदै थिइन्, ‘त्यहि उत्तिसको रुखमा हो नि बाइक अड्केको, बाबु त तल पानीमा घोप्टो परेको थियो।’ उनी २०७१ साल फागुन १७ गते मृत्यु भएका याेगेश खातीको बारेमा कुरा गर्दै थिइन्।

योगेश राति छोटो बाटो हुँदै घर फर्कदै थिए। बाटो बिचमा सानो पुल थियो। पुल कटेपछि उकाले काट्नु पर्थ्याे । त्यही उकालो काट्नै लाग्दा उनको बाइक अनियन्त्रित भएर खस्यो। अनि उनी भोलिपल्ट मात्र भेटिए। उनलाई देख्नेहरु भन्थे, ‘रुखमा बाइक अड्केछ, उसको मुख खोलामा डोबिएछ, नत्र बाँच्थ्यो।’

भक्तपुरको गुण्डू गाविस अहिले सूर्यविनायक नगरपालिकाको वडा नं ७ भएको छ। अनि छिमेकी कटुन्जे गाविस सूर्यविनायक नगरपालिका कै वडा नं ५। अरनिको हाइवेबाट गुण्डू पुग्न छोटो बाटो जाँदा पनि ३ किलोमिटर काट्नै पर्छ। गुण्डूले कुनै हाइवेलाई छोएको छैन।

गुण्डूबाट गाडी गुड्ने बाटो पाडुबजार निस्कन्छ कि त दधिकोट हुँदै ठिमी अनि त्यसबाहेकका वैकल्पिक बाटोहरु सूर्यविनायक, सल्लाघारी इत्यादि छन्। गुण्डूको पुछारतिर पर्ने किवाचोकबाट अरनिको हाइवे आइपुग्ने एकदमै छोटो बाटो थियो त्यो, जुन बाटोबाट तल झरेर योगेसले ज्यान गुमाए।

 दुर्घटना भएको ठाउँ अनकन्टार थियो। दुई डाँडाको बिचमा खाल्डो थियो। कटुन्जेबाट ठाडो ओरालो पर्ने अनि गूण्डू पुग्न ठाडो उकालो। बिचमा थियो सानो पुल। बुडी गण्डकी नामको खोला बग्थ्यो त्यहाँ। गर्मी याममा कुलो सानो हुने भएपनि वर्खामा त थेगिनसक्नु हुन्थ्यो। सानो पुल कटेर नै पानी बग्थ्यो, नपत्याउने पाराले।

यो पुल बन्न पनि सानो हैरानी खेप्नु परेको थिएन। स्थानीय कमल केसी भन्छन्, ‘८, १० वर्ष अगाडि बाढीले मान्छे बगाएर मार्‍यो।’ ६५ वर्षका कमलले नपत्याउने खोलाले पनि बगाएको देखे।

उ बेलमा जतिबेला गुण्डूमा कल थिएनन्, किवाचोकका महिला भारी बोकी हिड्ने बाटो यही हो। साँधुरो बाटो त जसो तसो कट्थ्यो तर पुल आयो कि आपत्। ‘काठका दुई साँघु हुन्थे। पालैपालो खुट्टा सार्नुपर्थ्यो। काठमा खुट्टा परेन भने खोलामा झ्वाम्म।

यही समस्या समाधान गर्न २०४९ सालमा तत्कालिन कटुञ्जेका गाविस अध्यक्ष र गुण्डू गाविसका उपाध्यक्ष आकाशकाजी बोयजुले कलर्भट निर्माणको काम गरे। त्यसपछि बाटो पनि फराकिलो बनाउने काम सुरु भयो। अनि किवाचोकका बासिन्दालाई बजार आउजाउ गर्न सुवर्णेश्वरको डाँडाको फन्को लगाउन परेन। दधिकोट घुमेर ठिमी पुग्‍न परेन।

बाटो अलि फराक हुन थालेपछि मोटरसाइकल गुड्न थाले तर ठाडो ओरालो र ठाडो उकालो काट्दा मनै झसँग हुन्थे। कस्तो भीर भो भनेर धेरैले भनेकै हुन् तर २०७१ सालमा त्यो भयो जो कसैले सोचेकै थिएनन्। चिन्ने जतिले भने, ‘भर्खरको थियो, बोलैया थियो। १८ वर्षमा नै ज्यान गुमायो।’

प्रतिनिधि सभाका सदस्य महेश बस्नेतको घर पनि गुण्डूमा नै पर्छ। त्यतिबेला उनी उद्योगमन्त्री थिए। छिमेकमा आपत् परेको थाहा पाएपछि उनी शोकाकुल परिवारलाई भेट्न गए। गाउँलेले यही मौका हो भनेर ‘ठूलो पुल बनाउन सहयोग गर्नुपर्‍यो’ भने। बस्नेतले सकिन्न भनेनन्।

त्यसपछि योजना पर्‍यो, बजेट छुट्टियो र काम सुरु भयो। हेर्दा हेर्दै फराकिलो पुल बन्यो। बारी पारीका ठाडा बाटोलाई डोजरले भासेर दुई लेनको बनाएको छ। उकालोभरी ढलान बाटो भएको छ। बाँकीमा ग्राभेलिङ। यो बाटोको लागि ९८,४८,७४५ रुपैयाँ खर्च भएको छ।

२०७६ सालसम्म आइपुग्दा २०२९ सालमा विहे गरी आएकी खतिवडा आमैले अचम्मैको परिवर्तन देखिन्। उनका नाति, बुहारी यही बाटो हुँदै भक्तपुरको बजार क्षेत्र पुग्छन्। नाति पढ्दै छ, बुहारी काममा जान्छिन्। अब उनलाई बाटो फराक भएकोले ढुक्क भएको छ।

उनी त्यो ठाउँको अरु नागरिक जस्तै बेस्सरी खुशी छिन्। पुल उद्घाटन कार्यक्रममा चिटिक्क परेर सजिएर आएकी छन्। सूर्यबिनायक नगरपालिका प्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत सूर्य बिनायक नगरपालिका वडा नं ७ का अध्यक्ष रविन्द्र सापकोटा लगायत वडा सदस्य प्रहरी प्रशासन अनि सर्वसाधारणको उपस्थितिमा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले पुल उद्घाटन गर्न रिबन काट्दा उनले पनि ताली परर्रर पारिन्।

रातो टीका र रातै धोती उनलाई खुलेको छ। यस्तै खुसीले उनको मन फुलेको छ। पुलको बेलुन जस्तै। मन रंगीएको छ, बारमा बानिएका ध्वजा जस्तै रंगीन ।