प्रदेश १ का आर्थिक मामिला मन्त्री आङबोको प्रतिक्रिया

‘बजेट एकात्मक केन्द्रिकृत मानसिकतामा आधारित छ’

विराटनगर – सरकारद्धारा प्रस्तुत बजेटले प्रदेश र स्थानीय तहका सरकारलाई अपेक्षाकृत र पर्याप्त ढंगबाट अनुदान र बजेट प्रदान गर्न नसकेको गुनासो प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले व्यक्त गरेका छन्।

बुधबार बजेट भाषणपछि संक्षिप्त प्रतिक्रिया दिँदै आर्थिक मामिलामन्त्री आङबोले मुलुक संघीय प्रणालीमा भएकोले समग्र बजेटले वित्तिय संघीयता र समग्र संघीयताको कार्यान्वयनको नेतृत्व गर्न नसकेको उल्लेख गरे। यसक्रममा अपेक्षाकृत र पर्याप्त ढंगबाट तल्लो तहका सरकारहरुलाई पर्याप्त अनुदान र बजेट प्रदान गर्न सरकारले ठूलो मन नदेखाएको मन्त्री आङबोको भनाई छ।

बजेटमा कर्मचारीको सेवासुविधा तलब भत्ता, समाजिक सुरक्षाभत्तामा गरिएको बृद्धिले अर्थमन्त्री डा. युवराज खतिवडा चापमा परेको देखिएको बताएका मन्त्री आङबोले भने ‘छरपस्टिएको र वितरणमुखी योजनाहरु प्रदेश र स्थानीय सरकारमा केन्द्रीत गर्दा बजेटको आकार र जनताको अपेक्षा सम्बोधन हुनसक्थ्यो तर संघीय सरकारको बजेट त्यसमा चुकेको छ।’

सार्वजनिक गरिएको बजेट उत्साहजनक, लगानी, र उद्योगीब्यवसायीमैत्री देखिएको बताएका मन्त्री आङबोले भने, ‘संघीयताको मर्म र वित्तिय संघीयताको कार्यान्वयनको दृष्टिकोणले हेर्दा अझैपनि बजेट एकात्मक केन्द्रिकृत मानसिकतामा आधारित छ।’

‘समग्रमा बजेट प्रगतिशील छ, तथापि संघीयताको हिसाबले हेर्दा बजेट अझै पनि केन्द्रिकृत मानसिकतामा नै आधारित रहेको छ’ उनले स्पष्ट पारे। प्रदेश १ मा पनि ठूलठूला राष्ट्रिय योजनाहरु, जलविद्युत, पूर्वपश्चिम लोकमार्ग, मदन भण्डारी राजमार्ग, विराटनगर विमानस्थलको स्तरोन्नती, विराट क्षेत्रको विकासका लागि गुरुयोजना, मेघा तथा स्मार्ट सिटी लगायतका सन्र्दभ समेटिनु सकारात्मक भएको मन्त्री आङबोले बताए। तथापि, वितरणमुखी देखिएको यस बजेटसँगै अझै पनि सबै नेतृत्व संघीय सरकारले नै गर्ने खालको मानसिकता र तल्लोतहको सरकारप्रति बजेट ल्याउँदा संघीय सरकारले उत्तरदायीबोध नगरेको मन्त्री आङबोको भनाई छ।

जेठ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्