‘एकताका बेलाको सम्झौतामा सबै इमानदार हुनु पर्छ’

ओलीजी सत्ता हस्तान्तरण गर्न तयार हुनुपर्छ, अन्यथा… : प्रचण्ड

काठमाडौँ – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बेला पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता सञ्चालनमा आलोपालो गर्ने सहमति भएको बताएका छन् ।

पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताको क्रममा बुधबार प्रचण्डले सत्ता र पार्टी सञ्चालन मिलेर गर्ने तथा जिम्मेवारी स्पष्ट हुने गरि आलोपालो गर्ने सहमति भएको खुलाएका हुन् ।

प्रचण्डले भनेका छन्, ‘पार्टी एकताका बेला हामी (म र ओली जी) बिच भएको सहमति लुकेको छैन, त्यो लिखित नै छ । जसमा स्पष्ट रुपमा सत्ता सञ्चालन आलोपालोका आधारमा गर्ने भन्ने उल्लेख छ ।’

प्रचण्डले थप स्पष्ट पार्दै भनेका छन्, ‘हामी अहिले पार्टीमा दुई अध्यक्ष छौँ र सत्ताको नेतृत्व उहाँ (ओली जी) ले गर्नु भएको छ । सहमति भएको भए पनि म आफूलाई प्रधानमन्त्री बन्नु पर्छ जस्तो या त्यसको लोभ छैन । जनअपेक्षा अनुसार समृद्धि र विकासका काम भए भने सत्ता ओली जी ले नै पाँच वर्षै चलाउँदा पनि मलाई फरक पर्दैन । तर मेरो भूमिका पनि स्पष्ट चाहिँ हुनु पर्छ ।’

प्रचण्डले भूमिका स्पष्ट भन्दै पार्टी या सत्ताको जिम्मेवारी दुई नेताबिच बाँडफाँड हुनु पर्ने तर्फ स्पष्ट संकेत गरेका छन् । प्रचण्डले भनेका छन्, ‘ओली जी ले राम्रो काम गर्दै जानु भयो भने त्यसमा मेरो साथ र समर्थन रहन्छ । सम्झौतामा जे लेखिएको भए पनि म उहाँसँग प्रधानमन्त्री पद चाहियो भन्न जान्नँ । तर मेरो भूमिका पनि स्पष्ट हुनु पर्छ । त्यसबारे पार्टी पंक्तिमा छलफल भइरहेको छ ।’

उनले थप स्पष्ट पारेका छन्, ‘सम्झौता प्रति सबै इमान्दार भने रहनु पर्छ । ओली जी पनि सम्झौता अनुसार सत्ता हस्तान्तरणका लागि तयार हुनु पर्छ, उहाँ हुनुहुन्छ होला पनि ।’

प्रचण्डले आफू पदका लागि मरिहत्ते गर्ने नेता नरहेको बताइरहे पनि पार्टी वा सत्तामा आफ्नो स्पष्ट भूमिकाको स्पष्ट खोजी गरेका छन् । उनले भनेका छन्, ‘मलाई स्पष्ट रुपमा पार्टी या सत्ताको जिम्मेवारी हुनु पर्छ । यसले पार्टी तथा देशको हितमा काम गर्छ ।’

उनले आफू जनअपेक्षाका कुरा राख्न नहिचकिच्याउने बताएका छन् । तर जनताका कुरा राख्दा प्रधानमन्त्रीका लागि दाउ गरेको ठान्नेहरु रहेको उनले बताएका छन् । उनले भने, ‘तर मलाई पार्टी र सरकार राम्रोसँग चल्यो भने कुनै आपत्ति छैन । मलाई होइन देशलाई फाइदा हुनु पर्छ ।

देशलाई फाइदा हुने भयो भने पाँचै वर्ष ओली जीले सत्ता चलाउँदा मलाई फरक पर्दैन । तर पार्टीमा भूमिका भने सम्झौता अनुसार नै स्पष्ट हुनु पर्छ ।’

जेष्ठ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू