अस्ट्रेलियाको न्यूनतम तलब जुलाइबाट ३ प्रतिशतले बढ्ने

सिड्नी-अस्ट्रेलियामा आगामी जुलाई १ तारिखदेखि न्यूनतम तलब ३ प्रतिशतले वृद्धि भई प्रतिघण्टा १९.४९ अस्ट्रेलियन डलर हुने भएको छ।

यो वृद्धिसँगै करिब २२ लाख अस्ट्रेलियन कामदारहरूले यसको लाभ लिन पाउनेछन्। उनीहरूले गत वर्षको तुलनामा हफ्ताको २१.६० डलर अथवा वर्षको १ हजार ९० अस्ट्रेलियन डलर बढी पाउनेछन्।

आज जारी गरिएको सो निर्णयअनुसार आगामी १ जुलाईदेखि न्यूनतम तलब प्रतिहफ्ता ७४०.८० अस्ट्रेलियन डलर कायम गरिएको छ।

गतवर्ष ३.५ प्रतिशतले न्यूनतम तलब वृद्धि गरिए पनि आर्थिक कारणले गर्दा यो वर्ष ३ प्रतिशत मात्रै वृद्धि गरिएको फेयर वर्क कमिसनले जनाएको छ।

अस्ट्रेलियाको मजदुर संगठनहरूले ६ प्रतिशतको तलव वृद्धि हुनुपर्ने माग गरेका थिए भने साना व्यवसायीहरूले यो वृद्धि २ प्रतिशत मात्रै हुनुपर्ने माग राखेका थिए।

फेयर वर्क कमिसनका अध्यक्ष इयान रोसले यो वर्षको तलब वृद्धि गत वर्षको भन्दा कम हुनमा कुल घरेलु उत्पादन र मुद्रास्फिती घट्नु कारक रहेको बताए। उनले भने, ‘व्यवसायहरूले सन् २०१८ को पहिलो हाफमा देखाएको वृद्धि नदोहोर्‍याए पनि श्रम बजार तथा आर्थिक वृद्धिले सन्तोषजनक वृद्धि देखाएकाले यो वृद्धि सम्भव भएको हो।’

अहिले अस्ट्रेलियाको न्यूनतम तलब ७१९.२० अस्ट्रेलियन डलर प्रतिहफ्ता कायम रहेको छ भते गत वर्ष रिजर्भ बैंकका गभर्नर फिलिप लोवेले ३.५ प्रतिशतको तलब वृद्धिलाई समर्थन गरेका थिए।

जेष्ठ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू