कर्णालीमा खानेपानीको कहर

वर्षेनी खानेपानीको स्रोत घट्दै, उपभोक्ता बढ्दै

सुर्खेत-मुहानमा पानीको स्रोत सुक्दै गएपछि वीरेन्द्रनगर उपत्यकामा खानेपानी अभाव वर्षेनी बढ्दै गएको छ। जलवायु परिवर्तन र मुहान आसपासको वनजंगल विनाश हुँदा खानेपानीको स्रोत सुक्न थालेका हुन्।

खानेपानी मुहान नै सुक्न थालेपछि वीरेन्द्रनगर उपत्यकामा विगतका वर्षभन्दा यसवर्ष झनै खानेपानी संकट परेको छ। बढ्दो जनसंख्या र मुहान सुक्दै गएकाले सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थालाई वीरेन्द्रनगरमा माग अनुसारको खानेपानी आपुर्ती गर्न निक चुनौती बन्दै गएको हो।

संस्थाको डिजाईन अनुसार एक सय ५७ लिटर प्रतिसेकेन्ड पानी आपुर्ती हुनुपर्ने भएपनि चर्को गर्मीका कारण वर्षेनी स्रोत सुक्दै जाँदा करिव ४५ प्रतिशत खानेपानी अभाव देखिएको छ। विगतका वर्षमा गर्मीयाममा भन्दा यो वर्ष ४५ प्रतिशत खानेपानीका मुहानहरू सुकेका छन्।

संस्थाको तथ्यांकअनुसार २०७२ जेठमा उक्त खानेपानी स्रोतबाट ६४ लिटर प्रतिसेकेन्ड पानी आपुर्ती भएको थियो। २०७३ वैशाखमा ४५ लिटर प्रतिसेकेन्ड, २०७४ मा ४३ लिटरप्रतिसेकेन्ड, २०७५ एक सय एक लिटर प्रतिसेकेन्ड पानी वितरण हुँदै आएको थियो। यो वर्षको वैशाखमा झण्डै ४५ प्रतिशत पानीका मुहान सुकेका छन्।

संस्थाले वीरेन्द्रनगरमा १७ हजार तीन सय ६३ धारा वितरण गरेको छ। संस्थाको अभिलेख अनुसार हाल १६ हजार ९ सय ७३ नीजि, ७९ सामुहिक, तीन सय ११ संस्थागत धारामा पानी वितरण हुँदै आएको छ। संस्थाले ३३ हजार घरधुरीका एक लाख ८१ हजार पाँच सय जनालाई खानेपानी पुर्‍याउदै आएको उल्लेख गरेको छ।

प्रतिव्यक्ति प्रतिदिन ८५ लिटर पानी उपभोग हुँदै आएको अनुमान संस्थाको छ। यो समयावधिमा झुप्राखोलाबाट ४०, खरिवोरीखोलाबाट ३०, इत्राम खोलाबाट ८, खोर्केखोलाबाट ४, बुलबुले तालबाट २ लिटर प्रतिसेकेन्ड गरि जम्मा ८४ लिटर प्रतिसेकेन्ड पानी आपुर्ती गराउँदै आएको छ।

जलवायू परिवर्तनको असरसँगै खानेपानीका स्रोतमा ह्रास आउँदै गएको र उपत्यकामा बसाई–सराई लगायतका विभिन्न कारणले खानेपानीका अभाव बढ्दै गएको संस्थाका अध्यक्ष कुलमणि देबकोटाले बताए। उनले उपत्यकामा खानेपानी समस्या समाधानका लागि संस्थाले आवश्यक गृहकार्य गरिरहेको बताए।

तत्काल सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानका लागि वीरेन्द्रनगर–१४ रतुमा पर्ने दुन्दुरे खोलाबाट २० लिटर प्रतिसेकेन्ड पानी ल्याउने कार्यको टेन्डर आह्वान गरिएको छ। प्रदेश सरकारको लगानीमा यो आयोजना निर्माण हुन लागेको हो।

वीरेन्द्रनगर भसना बाधमा नवज्योती केन्द्रसँगको सहकार्यमा ६ लिटर प्रतिसेकेन्ड पानी ल्याउने गरि योजना निर्माण भइरहेको छ। बाघखोर, अमृतडाडा, कोलडाँडामा पानी पोखरीहरू सञ्चालन हुने अध्यक्ष देवकोटाले बताए। संस्थाले आधुनीक पानी परिक्षण मेसिन उपकरण ल्याउन अन्तिम तयारीमा रहेको छ।

भेरीको पानी नै अन्तिम विकल्प


सुर्खेत उपत्यकाको दीर्घकालिन खानेपानी समस्या समाधानका लागि भेरी नदिको पानी अन्तिम विकल्प देखिएको छ। साना मुहानहरू दिनप्रतीदिन सुक्न थालेपछि संस्थाले दीर्घकालका लागि भेरी नदिको पानी ल्याउन आवश्यक गृहकार्य गरेको छ।

उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी नदिबाट प्रतिसेकेन्ड तीन सय ८० लिटर पानी ल्याउने योजना संस्थाको छ। बृहत भेरी पम्पिङ्ग आयोजनाको संघीय खानेपानी तथा सरसफाई व्यवस्थापन आयोजना कार्यालय सुर्खेतबाट ठेक्का खोल्न तयारीमा रहेको संस्थाले जनाएको छ।

उक्त आयोजना निर्माणका लागि पहल गरिदिन सम्वन्धित निकायसँग निरन्तर समन्वय भइरहेको अध्यक्ष देवकोटाले बताए। प्रारम्भिक चरणमा मात्रै ती अर्वको लागत स्टिमेट गरिएको छ।

भेरीको पानी ल्याउनका लागि करि वचार वर्ष लाग्ने अनुमान गरिएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पुर्णबहादुर जुवारचनले भेरीको पानी ल्याउन थुप्रै गृहकार्य बाँकी रहेको बताए।

जेष्ठ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्