एआइबिटी इन्टरनेशनल खारेजीले नेपाली विद्यार्थी फेरि अन्यौलमा

सिड्नी- अस्ट्रेलियाको शैक्षिक क्षेत्र नियमनकारी नियकाले तीनवटा कलेजहरूको दर्ता खारेजी गर्ने निर्णय गरेको छ। दर्ता खारेजीमा पर्ने कलेजहरू मध्ये अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (आरटिओ नं.४५१६९), एनएसडब्लु बिजनेस कलेज (आरटिओ नं.४०८९६), र जराह इन्स्टिच्युट अफ एजुकेसन प्रा.लि. (आरटिओ नं.२२०४८) रहेको आसक्वाले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

भोकेसनल शिक्षा तथा तालिम दिइरहेका यी कलेजमध्ये सिड्नीको अस्ट्रेलिया इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रा.लि. (एआइबिटी इन्टरनेशनल) कै अर्को कलेज ‘एआइबिटी’ को नर्सिङ निकाय दर्ता हुन नसक्दा हजारौं नेपाली विद्यार्थी केही महिनाअघि अलपत्र परेका थिए । एआइबिटी र एआइबिटी इन्टरनेशनल एकै स्वामित्वमा रहेका दुई भिन्दाभिन्दै कलेज हुन् ।

अस्ट्रेलियन सरकारको शैक्षिक निकायले यो निर्णय गरे तापनि सम्बन्धित निकायले माथिल्लो निकायमा पुनरावलोकन गर्ने अधिकार भने रहन्छ । यसरी पटकपटक नेपाली विद्यार्थीहरू अध्ययन गरिरहेका कलेजहरूको दर्ता खारेजीले उनीहरूको भविष्यमाथि नै खेलवाड गरेको देखिन्छ ।

त्यसैगरी, सिड्नीमा रहेको अस्ट्रेलियन हार्वर इन्टरनेशनल कलेजको नर्सिङ कलेजमा संचालित विषयमध्ये नर्सिङ विषयलाई पनि आस्क्वाले सस्पेन्सनमा राख्ने निर्णय गरेको छ । कलेजका अन्य संकायहरूमा भने यस निर्णयले कुनै असर पार्ने छैन साथै यस निर्णयविरूद्ध पनि कलेजले उच्च निकायमा अपिल गर्न भने पाउनेछ ।

यतिवेला करिब ५० हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेको अनौपचारिक तथ्यांक छ । एआइबिटी इन्टरनेशनल कलेजको खारेजीपछि त्यहाँ अध्ययनरत हजारौं विद्यार्थीलाई मानसिक चिन्ता थपिएको छ भने आफूले पढ्ने कलेज छान्दा सावधान हुनुपर्ने जानकारहरू बताउँछन्  ।

विदेशिने रहर, बाध्यता तथा गलत परामर्शले गर्दा नेपाली विद्यार्थीहरू अस्ट्रेलियामा आएर पनि बारम्बार आफ्नो भविष्यलाई दाउमा लगाउन बाध्य भएका छन् । सरकारले नेपालमा परामर्श व्यवसायलाई नियमन गर्न नसक्नुले पनि यस्तो समस्या अझ भयाभह बनेको देखिन्छ ।

जेष्ठ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू