विराटनगरमा गिरिजाप्रसाद कोइराला संग्रहालय भवनको शिलान्यास

मोरङ-प्रदेश १ मा गिरिजाप्रसाद कोइराला जिपी फाउण्डेसन संग्रहालय निर्माण हुने भएको छ। विराटनगरस्थित कोइराला निवासमा स्वर्गीय कोइरालाको नाममा संग्रहालय निर्माण हुने भएको हो। बिहीबार फाउण्डेसनकी अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले एक कार्यक्रमकाबीच संग्रहालयको भवनको शिलान्यास गरेकी छिन्।

शिलान्यासका क्रममा अध्यक्ष कोइरालाले गिरिजाप्रसाद कोइरालाको सम्झनामा संग्रहालय निर्माण गर्न लागिएको जानकारी दिइन्। नयाँ नेपालको पिताका रुपमा रहेका कोइरालाकै कारण मुलुकमा शान्ति प्रक्रिया भएको अध्यक्ष कोइरालाले दाबी गरिन्।

संग्रहालयमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, वीपी कोइराला, केशवप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र तारणीप्रसाद कोइरालाका विभिन्न सामाग्री प्रर्दशनीमा राखिने उनले बताइन्। आगामी दुईवर्ष भित्र संग्रहालय निर्माणको कार्य सम्पन्न हुने बताएकी अध्यक्ष कोइरालाले संग्रहालय प्रदेशकै पर्यटकीय गन्तब्य हुने स्पस्ट पारिन्।

चार तलाको संग्रहालय भवन निर्माणका लागि कुल ४ करोड रुपैयाँ लाग्ने अनुमान फाउण्डेसनको छ। जसमा हाल प्रदेश सरकारले ४० लाख रुपैयाँ, समाजिक विकास मन्त्रालयले २० लाख रुपैयाँ र विराटनगर महानगरपालिकाले १५ लाख रूपैयाँको आर्थिक सहयोग उपलब्ध गराएका छन्।

जेठ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्