खाद्यन्नमा आत्मनिर्भर बन्दै प्रदेश एक

मोरङ– प्रदेश नम्बर एक खाद्यान्न चामल, गहुँ , मकै र कोदोमा आत्मनिर्भर बन्दै गएको तथ्यांक सार्वजनिक गरिएको छ।

विराटनगरमा बिहीबार आयोजित एक कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत गोविन्द आचार्यले आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा चामल निर्यात गर्न सकिएको जानकारी दिए।

प्रादेशिक व्यापार हुने बस्तु तथा सेवाको प्रादेशिक जानकारी सम्बन्धी कार्यक्रममा प्रदेशको अवस्था जानकारी दिँदै अधिकृत आचार्यले २०७४/७५ मा प्रदेश एकमा ७ लाख ६५ हजार ३ सय २४ मेट्रिक टन चामल उत्पादन भएको बताए। उत्पादित चामलमध्ये ६ लाख ६० हजार ७ सय १६ मेट्रिक टन उपभोग भएको उनले जानकारी दिए।

त्यसैगरि, १ लाख ४ हजार ६ सय ८ मेट्रिक टन चामल बेच्न सकिने तथ्यांक आचार्यले प्रस्तुत गरेका थिए। केन्द्रका वरिष्ठ अधिकृत आचार्यका अनुसार, गहुँ, मकै, कोदोमा प्रदेश एक आत्मनिर्भर रहेको छ।

कार्यक्रममा प्रदेश एकका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री जगदीश कुसीयतले प्रदेश एकमा उत्पादित कच्चा पदार्थको सहि रुपमा व्यवस्थापन गर्न सकिए मात्र अघि बढ्न सकिने बताए। जसका लागि हाल जमिन र उर्जाको सहि रुपमा व्यवस्थापन हुन नसकेको बताएका मन्त्री कुसियतले प्रदेश सरकारले त्यसका लागि पनि काम गरिरहेको स्पस्ट पारे।

त्यसैगरि, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोंगलले व्यापार घाटा कम गर्नका लागि निर्यातजन्य बस्तु बढाउनुपर्नेमा जोड दिए।

अर्कोतर्फ, उद्योगी अशोक मुरारकाले उद्योगी, व्यापारीहरुले उद्योग, व्यापार मैत्री नीति आवश्यक रहेको जनाउँदै पहाडी क्षेत्रलाई अर्गानिक स्टेट बनाउन माग गरेका थिए।

जेठ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्