नेकपाको नयाँ समिकरणले विकास कार्य प्रभावित

‘प्रचण्ड’सँग मनमुटावपछि बादलका कार्यकर्ताले निर्माणाधीन क्रिकेट रंगशालाको पर्खाल भत्काए

भरतपुर महानगरपालिका अन्तर्गत रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बनाइएको पर्खाल डोजरले भत्काएपछि। तस्बिर-देश सञ्‍चार

काठमाडौँ– सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखा परेको नयाँ समीकरणले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृह जिल्ला चितवनमा विकास कार्यलाई समेत प्रभावित गर्न थालेको छ।

दाहालकी छोरी रेणु दाहाल मेयर रहेकाे भरतपुर महानगरपालिका अन्तर्गत रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफैँले ठेक्का पाउनु पर्ने अडानका साथ बादल निकट पार्टीका सक्रिय कार्यकर्ता रहेका प्रकाश कँडेलले उपद्रो मच्चाएपछि प्रचण्ड बादलबीचको मनमुटावले निम्ताएको संकट छताछुल्ल भएको हो।

विगत केही समयदेखि नेकपाको केन्द्रस्तरको राजनीतिमा बादलले प्रचण्डलाई छाेडी अर्का अध्यक्ष केपीशर्मा ओलीसँग मित्रता गाँसेपछि त्यसको असर दाहाल र बादलको गृहजिल्लामा देखिएको हो।

प्रस्तावित निर्माणस्थलमा लगाइएको पर्खाल कँडेलको समूहले डोजर लगाई भत्काएको र कुनैपनि हालतमा त्यसको निर्माणको ठेक्का आफैँले पाउनु पर्ने अडान सार्वजनिक रुपमै लिएपछि मेयर तथा दाहाल पुत्री रेणु दाहालको आदेशमा प्रहरीले कँडेललाई गिरफ्तार गरेकाे छ।

प्रमुख जिल्ला अधिकारी तथा गृहमन्त्रीकै मातहत आउने भए पनि उनीहरुले कँडेललाई कुनै पनि दबाबमा नछोड्ने अडान लिएका छन्।

संयोग, जिल्लाका एसएसपी दानबहादुर मल्ल यसअघि दाहालका पर्सनल सेक्युरिटी अफिसर पिएसओका रुपमा काम गरिसकेका व्यक्ति हुन्।

धुर्मुस सुन्तली फाउन्डेशनले चन्दा संकलन मार्फत विश्वस्तरको खेलमैदान बनाउने प्रतिवद्धता व्यक्त गरेपछि भरतपुर महानगरपालिकाले त्यसको जिम्मा उक्त फाउन्डेसनलाई दिएको हो।

प्रतिस्पर्धाका आधारमा टेन्डर माग गरी आगामी ६ महिनाभित्र ठेक्का निर्माण ठेकेदार चुन्ने तयारी गरिरहेका बेला कँडेलले ठेक्का आफैले पाउनु पर्ने मागका साथ यो वितण्ड मच्चाएका हुन्।

भरतपुर महानगरपालिका स्रोतका अनुसार यो काण्डमा गृहमन्त्री या उनका परिवारका अन्य सदस्यको संलग्नता छ या छैन भन्ने खुलेको छैन।

जेष्ठ १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू