ओलीको प्रचण्डलाई जवाफ

‘पार्टी एकतालाई खलबल्याउन दुस्प्रयास भएको छ’

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्ना पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको भन्दै दिएको अभिव्यक्तिलाई त्यसको दुई दिन नबित्दै ओलीले पार्टी एकतालाई कमजोर पार्ने र खल्बलाउने दुस्प्रयासकोरुपमा अर्थ्याएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिएर स्वदेश फर्कने क्रममा शुक्रबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

‘तपाईँ र प्रचण्डबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो?’ भन्ने प्रश्नको जवाफमा ओलीले भने, ‘एकता गर्दा सहमति त भएको थियो होला। सहमति बिना पार्टी एकता कसरी संभव हुन्थ्यो र ? तर त्यो एकतालाई कमजोर पार्ने र खल्बलाउने गरी चर्चा गर्नुपर्ने आावश्यकता छैन। पुरानो कुरालाई ठूलै समस्या भएझै गरी कोट्याउन आवश्यक छैन । जे सहमति भएका छन् ती आफ्नो बाटोमा अघि बढ्छन्।’

‘त्यसो भए अबको पाँच वर्ष तपाईँ नै प्रधानमन्त्री होर?’ भन्ने अर्को प्रश्नमा ओलीले भने, ‘यसले के फरक पार्छ राजनीतिमा दुई या तीन वर्ष बस्दा । नेकपाको बहुमत छ, त्यो महत्वपूर्ण विषय हो।’

प्रधानमन्त्री ओलीले आफूले दुई महिना या दुई साता मात्रै सरकारको नेतृत्व गर्छु भनिदियो भने केही नेपाली खुशी हुने प्रतिक्रिया दिए।

उनले थपे, ‘देशको विकास नगर्ने, विकास कसरी हुन सक्छ ? भन्ने कुरा नगर्ने, स्थिरता र स्थायीत्व कसरी हुन सक्छ ? त्यतापट्टी नजाने ? अनि हरेक कुराको विरोध गर्नुपर्ने, नकाात्मकता फलाउनुपर्ने किन हो ? मलाई त आश्चार्य लाग्छ।’

जेठ १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्