जीवन संघर्ष

अँध्यारो जितेर उज्यालिएका राधाहरु

काठमाडौँ – बसुन्धार चोकबाट ओरालो लागेपछि बाँया सानो गल्लीबाट १५–२० पाइला हिँड्दा आउँछ तीन तले घरको छेउमा जस्ताले छाएको दुईवटा कोठा भएको घर । घरको ढोकामा लेखिएको छ ‘राधाको वर्न सरभाइवर टिम’ ।

कोही पोतेका झुम्का बनाइरहेका छन् । अर्को पट्टि कोही मैनबत्ती छरिएका थिए । कमलको फूलको आकारका मैनबत्तीहरु केही समयअघि मात्रै बनाए जस्तो देखिन्थ्यो । यसरी पोतेका विभिन्न गहना तथा मैनबत्ती बनाउने ४१ वर्षीया राधा श्रेष्ठ र उनको समूह हो।

विज्ञापन

उनी आफै पनि एक वर्न सरवाइबर हुन्। उनले आफू जस्तै २३ जनाको समूह बनाएकी छन्, जसलाई उनले ‘राधाको वर्न सरभाइवर टिम’ नाम दिएकी छन्। उनको समूहमा सबै अग्नि पीडित अर्थात जलेर घाइते भएकाहरु छन् । उनीहरु वर्न सरभाइवर हुन् ।

२३ जनाको समूहमा दुईजना भूकम्पका कारण भएको अग्नि विपत्तिका सरभाइवर छन् । दुईजना आत्महत्याको प्रयासबाट जोगिएका छन् । अरु सबै इस्टोप या ग्यास सिलिन्डर विस्फोटका पीडितहरु हुन् ।

उनले समूहलाई आधिकारीक नाम दिएको तीन वर्षमात्र भएको छ। समूहका रुपमा काम गर्न लागेको भने १० वर्ष भयो।

उनको जन्म भने काठमाडौँको टोखा नगरपालिकामा भएको हो। उनको परिवारमा ६ जना सदस्य थिए । बुबा, आमा र उनी लगायत तीन दिदिबहिनी। उनकी दिदी र बहिनीको विवाह भइसक्यो। उनले भने विवाह गरेकी छैनन्।

उनका परिवारमा छोरी मात्र भएकाले उनका बुवाले दोस्रो विवाह गरे। उनको बुवा दिनहुँ रक्सी खाएर उनकी आमालाई शारीरिक तथा मानसिक यातना दिनुका साथै छोरीहरुलाई पनि पिट्ने र गाली गर्ने गर्थे।

सौतेली आमाले पनि उनीहरुलाई पिट्ने र गाली गर्ने गर्थिन्। जसका कारणले उनलाई पुरुषदेखि नै घृणा हुन लाग्यो। आमाको दुःख देखेका कारणले पनि उनलाई विवाह प्रति कुनै रुची भएन। यो सब कुरा आफ्नै आँखा अगाडि भएकाले उनले कहिले विवाह नगर्ने र आमाले जति पनि दुःख पाएकी थिइन्, त्यो भन्दा बढि खुशी दिने सोचिन्। उनी पितृसत्तात्मक समाजवादलाई पनि छोरीले पनि आफ्नो परिवारको जिम्मेवारी उठाउन सक्छन् र त्यसका लागि छोरा नै हुनुपर्छ भन्ने मान्यतालाई गलत सावित गर्न चाहन्थिन्।

आमालाई खुशी दिन र समाजको मान्यतालाई गलत साबित गर्न उनले ‘ट्रेकर्स इन होलीडे होटल’ मा काम गर्न सुरु गरिन्। सो होटलमा केही लगानी उनले पनि गरिन्। आफ्नो लगानी गरेर म्यानेजरका रुपमा करिब ९ वर्ष काम गरिन्।

उनको दैनिकी राम्रो चरिहेको थियो। होटल विदेशीको भएकाले काम गर्न त्यति असहज थिएन। उनको र उनकी आमाको जीवन राम्रो चलिरहेको थियो।

शायद सोचे जस्तो हुदैन जीवन, उनको जीवनलाई नै परिवर्तन गर्ने घटना उनको जीवनमा घट्यो। सन् २००६ मा सिलिन्डर ग्यास पड्केर आमा छोरी नै दुघर्टनाको सिकार भए। उनीहर एक्लै बस्थे। त्यो आगोले उनको आमा र उनको खुशीका साथै ती सपना, जो आमालाई सुख दिने थिए, सबै आगोमा नै सकिए।

उपचारका लागि उनलाई र उनकी आमालाई सुष्मा कोइराला अस्पताल लगियो। राधाको अवस्था निकै गम्भीर भएको डाक्टरले बताएका थिए भने आमाको अवस्था सामान्य भएको बताएका थिए। तर लेखेको कसले देखेको छ र? घटना भएको तीन दिनमा आमाले प्राण त्यागिन्, उनले सुनाइन्।

३९ दिनको उपचार पछि उनी एक्लै घर फकिन्। आमाको पीडा एकातिर थियो, भने आफूलाई पनि हेर्नु। केही महिना पछि राहत मिलेपछि पुनः उनी होटलको काममा फर्किइन्। उनले होटलमा दुई वर्षसम्म पुनः काम गरिन्। उनलाई सो होटला काम गर्न गाह्रो भएन। तर विस्तारै शरीरले साथ दिन छाड्यो । उनमा केही गर्नु पर्छ भन्ने हौसलाले थियो ।

त्यसपछि उनले सामाजिक सेवामा लाग्ने निर्णय गरिन्। आफू जस्तै महिलाहरुलाई सहयोग गर्ने र आत्मनिर्भर बनाउने विचार लिएर २००९ देखि उनले वर्न सारवाइवर महिलाहरुलाई भेट्ने, कुरा गर्ने, र समूह बनाउने अभियानमा लागिन्।

उनी उपचारको क्रममा सुष्मा कोइराला अस्पताल जाने गर्थिन्। सोही समयमा उनी जलेका महिलाहरुसँग कुरा गर्ने गर्थिन्। उपचारका क्रममा नै डाक्टरसँग आफूले म जस्तै महिलाको सहयोग गर्ने इच्छा भएको बताइन्। डक्टरले पनि आफूले सहयोग गर्ने बताए। जर्मनका डाक्टर त्यो समयमा अस्पतालका प्रमुख थिए।

डाक्टरले भने, ‘मैले गर्न सक्ने सहयोग गर्छु ।’ उनले आर्थिक सहयोग गर्ने पनि बताए। उनी र डाक्टर मिलेर जलेर अशक्त भएका महिलाहरुका लागि सेल्टर खोले।

त्यसपछि उनले अस्पतालमा जलेर आएका महिलाहरुलाई उपचार पछि सेल्टर भर्ना गर्न थालिन्। उनी भन्छिन्, ‘डाक्टरले सहयोग गरेका कारणले नै मैले यति ठूलो समूह बनाउन सफल भए।’

उनले सो सेल्टर ४ वर्षसम्म चलाए । उनलाई जर्मन डाक्टरले पनि सहयोग गरिरहेका थिए। विस्तारै विभिन्न कारण र आर्थिक कमजोरीका कारण सेल्टर बन्द गर्नु पर्ने अवस्था आयो।

सेल्टर बन्द भएपछि के गर्ने? कहाँ जाने? जस्ता प्रश्नहरु उनका मनमा खेल्न थाले।

उनले सबै महिलाहरुसँग कुरा गरिन्। सेल्टर बन्द भए के भो त? हामी आफ्नो लागि आफै गरौँ। कति अरुको भोज भएर बाच्ने? अब अरुको बोज भएर बाच्ने होइन आफै काम गर्ने हो। अरु सरह हामी पनि काम गर्न सक्छौँ। जीवनले हामीलाई धोका दिएको छ तर हामीले आफूलाई धोका दिने काम नगरौँ।

२०७४ सालदेखि उनी र उनको समूह मिलेर विभिन्न रंगका आर्कषक मैनबत्ती र मोतेका माला, झुम्का र ब्रास्लेट बनाउने निर्णय गरे तर कसरी बनाउने प्रश्न उठ्यो।

पर्याप्त आर्थिक स्रोत थिएन २३ जना महिलाई तालिम लिन। त्यसैले उनीहरुले घरमा यूटुबबाट मैनबत्ती र पोतेका विभिन्न सामग्री बनाउने भिडियो डाउनलोड गरेर हेर्दै सबैले बनाउन सिक्न थाले। तर सिक्नका लागि पनि कच्चा प्रदार्थ कसरी ल्याउने। राधाले भनिन्, ‘पहिले काम गर्दा बचत गरेको पैसा थियो त्यसले नै तीन लाखको कच्चा पदार्थ असनबाट किनेँ।’

उनीहरुलाई भिडियो हेर्दै सिक्न तीन महिना लाग्यो। उनीहरु यो सिक्ने क्रममा राति नसुतेर २ बजेसम्म बनाउने गरेको उनले सुनाइन्।
दिनरातको मेहनत र लगनले उनीहरुले सफलता पाए। उनीहरुले ती समाग्री बनाउन सिके।

तालिम प्राप्त व्यक्तिसँग मदत नमागेका पनि होइन् तर उनीहरुलाई सिकाउने कोही भएनन्। सबैले सहयोग गर्नुको साटो निरुत्साहित गरेको तितो अनुभव राधासँग छ ।

राधाले भनिन् ‘समाजले हामीलाई नराम्रो दृष्टिकोणले हेर्ने र छि–छि भन्ने गर्थे। मनिहरुको यस्ता क्रियाकलापले पनि काम गर्ने वातावरण त्यति सहज थिएन।’

विभिन्न समस्या र समाजका तिता बचनलाई छल्दै आफ्नो काममा निरन्तर लागि रहे उनीहरु ।

उनीहरुले काम सिके पनि बजारमा आफ्ना सामान पुर्‍याउन त्यति सहज छैन। उनी आफ्नो समानको प्रचार बिक्रीका लागि विभिन्न मेला र एक्स्पोमा भाग लिने गर्छन्। त्यसबाट उनीहरुले २० देखि २५ हजार रुपैयाँको कारोबार गर्छन् । त्यसैले जीविका चलाउँछन्। तर यस्ता मेलाहरुमा पनि कहिले राम्रो आम्दानी हुन्छ भने कहिले बिक्री नै हुँदैन।

तर उनी ढुक्क छिन् आफू र समूहले गरेको काममा। उनको समानले बजार नपाए पनि धेरै चिन्ता छैन । उनले भनिन्, ‘यी सामान बिग्रिने होइन, स्टोर गरेर राख्छाैँ। बिस्तारै राम्रो हुँदै जाला ।’

बिस्तारै उनीहरुको कामले दराजसम्मको बाटो पाएको छ। तीन महिना जति भयो होला दराजले उनीहरुका सामानहरुलाई आफ्नो अनलाइन मार्फत बेचिरहेको छ। बिस्तारै यसरी नै अगाडि बढ्नेमा उनी विश्वस्त छिन्।

उनले १२ सम्म मात्र पढेकी छन्। तर पनि उनले जीवनमा भोगेको दुखले उनलाई सब थोक सिकायो। मानिस पढेर भन्दा परेर सिक्छ भन्ने भनाइले उनको जीवनमा सार्थक भएको देखिन्छ।

जेष्ठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू