त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण

कठमाडौँ – त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक कलेजोको प्रत्यारोपण भएको छ। अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले शुक्रबार ५८ वर्षका बिरामीमा कलेजो प्रत्यारोपण गरेको हो।

डा. भण्डारीका अनुसार लिभर सिरोसिस भएर कलेजो बिग्रिका ५८ वर्षका बुवालाई ३३ वर्षकी छोरीले कलेजो दान गरेकी हुन्। शल्यक्रियामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसहित करिब ५० जनाको टोली सहभागी भएको थियो।

सर्जरीमा डा. भण्डारीको नेतृत्वमा १२ जना डाक्टर सामेल थिए। उनले प्रत्यारोपणका लागि १२ देखि १३ घण्टा लागेको समेत बताए। डा. भण्डारीले भने, ‘हामी अब नियमित रुपमा कलेजो प्रत्यारोपण गर्ने छौँ, कलेजो प्रत्यारोपण कै लागि भनेर बिरामी देश बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको छ।’

त्यसैगरी, डा. भण्डारीको टोलीलाई सघाउन भारतस्थित अपोलो अस्पतालबाट टोली आएको थियो। अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको हो। यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएता पनि केन्द्रले प्रत्यारोपणलाई निरन्तरता दिन सकेको छैन।

जेष्ठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्