क्यानडियन आदिवासी महिलाहरुको ‘नरसंहार’ : प्रतिवेदन

क्यानडाका हजारौँ आदिबासी महिला बेपत्ता भएको तथा सम्भावित हत्याका सम्बन्धमा अनुसन्धान गर्न बनेको राष्ट्रिय सार्वजनिक अनुसन्धान समितिको प्रतिवेदन चुहावट भएको छ ।

चुहावट भएको अनुसन्धान प्रतिवेदनमा समितिले घटनालाई ‘क्यानडियन नरसंहार’ भनेको जनाइएको छ । अनुसन्धान प्रतिवेदन सम्बन्धी जानकारी क्यानडाको राष्ट्रिय प्रशारक संस्था सिबिसीले शुक्रबार विस्तृत रुपमा प्रकाशन तथा प्रशारण गरेको थियो ।

१२ सय पृष्ठ लामो प्रतिवेदनमा आदिवासी महिलाले सामना गर्नु परेको विषम हिंसाको कारण गरिहो रुपमा गाडिएको उपनिवेशवाद र राज्यको उदासिनता रहेको उल्लेख छ । अनुसन्धान प्रतिवेदन सोमबार विशेष कार्यक्रम गरी औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी छ । १६ लाख आदिवासीको बसोबास रहेको क्यानडामा यो अनुसन्धान प्रतिवेदन लामो समयदेखि प्रतिक्षा गरिएको छ ।

क्यानडाको संघीय सरकारले सन् १९८० यता झण्डै १२ सय एबोरिजिनल (आदिवासी) महिला तथा किशोरीको हत्या भएको या बेपत्ता भएको बताएको छ । तर अधिकारकर्मीले यो संख्या सरकारी आँकडा भन्दा अधिक रहेको बताउँदै आएका छन् ।

सन् २०१४ मा आदिवासी किशोरी टिना फोन्टाइनीको हत्या भएपछि राष्ट्रव्यापी रुपमा आदिवासी महिलाको सुरक्षाका पक्षमा आवाज बुलन्द भएको थियो । प्रधानमन्त्री जस्टिन ट्रुडोले आदिवासी महिलामाथि भएको हिंसा सम्बन्धी अनुसन्धान र रिकन्सिलेसनलाई आफ्नो सरकारको पहिलो प्राथमिकतामा राखेका हुन् ।

समय अगावै अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको सिबिसीले प्रतिवेदनमा आदिवासी समुदायको सुरक्षाका लागि २३० वटा सुझावहरु समेटिएको उल्लेख गरेको छ ।

अनुसन्धान समितिले गएको साढे दुई वर्षको अवधिमा दुई हजार भन्दा बढी हिंसा प्रभावित तथा उनीहरुका परिवारका सदस्यसँग सोधपुछ गरेको उल्लेख छ ।

जेठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्