पलेँटीमा घन्कियो शान्ति ठटालका सृजना

काठमाडौँ  – नेपाली आधुनिक संगीतकी मूर्धन्य संगीतकार शान्ति ठटालले पलेँटी शृङ्खलामा आफ्ना सृजनाहरू प्रस्तुत गरेकी छन् ।

कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा भएको पलेँटीमा उनका डेढ दर्जन जति गीत समेटिएका छन् । सन् २००६ देखि प्राय बर्सेनि पलेँटीमा प्रस्तुत भएकी शान्तिले यसपालीको कार्यक्रम निम्ति धेरै जस्तो नयाँ गीत छानेकी छन् । साथै उनका ती सांगीतिक रचनाहरू प्रस्तुत गर्नका निम्ति उनकै शिष्याहरू बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधानले साथ दिएका छन् ।

विज्ञापन

कार्यक्रमलाई पलेँटीका संयोजक तथा संगीतकार आभासले संगीतकार शान्ति ठटालसँगको सांगीतिक संगतमा आधारित रहेर आफ्नो संस्मरण वाचन गरेका गरेका छन्।

शान्ति ठटाललाई यसपाली पलेँटीले संगीतकारको रुपमा मात्र प्रस्तुत गर्न खोज्दा खोज्दै पनि प्रसंशकहरूको अनुरोधका कारण उनले गीत नगाइ धर  नपाएकाे आयोजकले जनाएकाे छ ।

शान्ति ठटालले संगीतका चौतर्फी विधामा सिद्धता हासिल गरेकी छन् । उनले संगीत भरेका चलचित्रका गीत नेपाली संगीत संसारमा निकै लोकप्रिय मानिन्छन् । चलचित्रका गीत प्रस्तुत गर्ने क्रममा संगीत भरेर पनि आन्तरिक कारणले रेकर्ड हुन नपाएको रचना पनि समेटिएको छ। गायिका अञ्जली प्रधानले सुनाएको गीत ‘कसैलाई सम्झिदिन्छु फूल देखे वनभरि’ गीतकार ईश्वर बल्लभले गुरुप्रसाद मैनालीको कथा ‘बिदा’ मा आधारित चलचित्रका निम्ति लेखेका रहेछन् ।

शान्ति ठटालले भनिन् ‘चलचित्रका निम्ति कवि ईश्वर बल्लभले लेख्नुभएको एउटा गीत र भजनमा धुन भरेकी थिएँ । त्यहीताका म जागिरे भएर सिक्किमतिर लागेँ र त्यस चलचित्रमा पछि दिब्य खालिङले संगीत भरे ।’

त्यसपछि गायिका बिमला सेञ्चुरीले चलचित्र ‘बाँच्न चाहने’हरूका दुईवटा लोकप्रिय गीत ‘नयाँ नयाँ घामको किरण’ र ‘मिठो मिठो तिम्रो साथ मिठो’ प्रस्तुत गरिन् ।

शान्ति ठटालसँगको पलेँटी शनिबार र आइतबार पनि जारी रहनेछ ।

तस्बिर : नेपालय

जेष्ठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू