प्रचण्डको फेरिएको बोली

‘एकताका बेला भएको सहमति स्मरण मात्रै गरेको हुँ, त्यसलाई अतिरञ्जित गरियो’

काठमाडौँ – आफ्नो अभिव्यक्तिबाट सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष केपी शर्मा ओली आक्रोशित भएपछि स्थितिलाई सामान्य बनाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोली फेरेका छन्।

प्रचण्डले एकताका क्रममा ओली र आफू आलोपालो सत्ताको नेतृत्व गर्ने सहमति भएको र त्यसबाट ओली पछि नहट्नेमा आफू विश्वस्त रहेको चार दिनअघि एक टेलिभिजनको अन्तर्वार्तामार्फत खुलाएका थिए।

विज्ञापन

त्यसको प्रतिक्रियामा दुई दिनपछि ओलीले सोही टेलिभिजनको अन्तर्वार्तामार्फत पार्टी एकतालाई खल्बलाउने काम हुन थालेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

त्यसको भोलिपल्ट (शनिबार) विराटनगर पुगेका प्रचण्डले आफुले एकताको सहमति स्मरण मात्रै गरेको तर त्यसलाई अतिरञ्जित गरेको दाबी गरेका छन्।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग स‌ंक्षिप्त कुरा गर्दै प्रचण्डले आफ्नो भावलाई पार्टीका अर्का अध्यक्ष ओलीले स्पष्ट बुझेको बताए।

प्रचण्डले भने, ‘मैले अन्तर्वार्तामा पार्टी एकताको बेला हामीहरु बिच भएका कुरालाई स्मरण मात्र गरेको हुँ । ठूल्ठूलो प्रचार गर्नुपर्ने, होहल्ला गर्नुपर्ने आवश्यकता छैन । मैले बोलेको पटक्कै नयाँ कुरा होइन । यो पहिलोपटक भनेको कुरा पनि होइन।’

उनले आफ्नो अभिव्यक्तिलाई लिएर सञ्चार माध्यमलाई नखेल्न आग्रह गरे।  उनले भने,‘ एकताका बेला सैद्धान्तिक सहमति गरेका छौँ, व्यवहारिक सहमति गरेका छौँ। त्यसको इमान्दारि पूर्वक कार्यान्वयन गर्ने छौँ हामी।’

पार्टी एकताको प्रसंगमा उनले पार्टी एकताको बाँकी काम प्रधानमन्त्री ओलीको व्यस्तताले अघि बढ्न नसकेको बताए।

पाँच वर्षका लागि सत्ताको नेतृत्वको जिम्मेवारी पाएको नेकपामा सत्ता नेतृत्वलाई लिएर दाहाल र ओलीबlच भएको सहमति दाहालले होहोराउनुमा उनी अबको १५ महिनापछि प्रधानमन्त्री बन्छन् भन्ने अड्कलबाजी सुरु भएको छ।

ओली र दाहालबिच सत्तानेतृत्वबारे भएको सहमतिबारे चर्चा चुलिँदै गर्दा पार्टीको स्थानीय तहमा भने निराशा पैदा भएको बुझिन्छ।

जेष्ठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू