त्यो च्यालेञ्ज, जसका लागि उनले शहर छोडे

‘म तिम्रो शहर छोडि टाढा टाढा जाँदै छु, तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु’

२०४८ सालको कुरा हो, त्यतिबेला ८ बजेको समाचारपछि रेडियो नेपालमा आधुनिक गीत बज्थ्यो। एक रात प्रदीपराज पाण्डेको स्वरमा गीत बज्यो, ‘म तिम्रो शहर छोडि टाढा टाढा जाँदै छु, तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु।’ भोलिपल्ट बजारभरि सोधिखोजी भयो यो गीत कसले गायो, लेख्ने मान्छे को हो ?

गीतका रचनाकार बीबी थापा गीत बज्ने दिन राति ९ बजेको फ्लाइटबाट जापान उडिसकेका थिए। समस्त जगत जसले यो गीतको अस्तित्व खोज्यो उनीहरुले अनुमान लगाए, पक्कै रचनाकारले आफ्नै भोगाई लेखे। शायद त्यो उनकै वास्तविक पीडा थियो र त असरल्ल पोखियो सबको तन मनसम्म पुग्ने गरी । बीबी भन्छन्, ‘त्यो मेरा लागि एक किसिमको च्यालेन्ज नै थियो। मैलै मलाई केहीको लागि योग्य बनाउनु थियो।’ जीवनमा कि त परेर बुझिन्छ कि त पढेर बुझिन्छ।

काठमाडौँको गागलफेदिमा बीबी थापा जन्मिए। उनको पूरा नाम बद्री बिक्रम थापा हो। घरका जेठा छोरा। उनी सहितका ८ जनालाई बुवाको नापी कार्यलयको जागिरले केही समय पाले अनि आफ्नै व्यवसाय सुरु भयो। बीबीले १३ वर्षमै एसएलसी दिए, त्यसपछि काठमाडौँ कलेज पढ्न आए। सानैमा एसएलसी दिएकोले कलेज भर्ना हुँदा उमेर बढाउनु पर्‍यो। त्यसैले उनको दुईवटा उमेर छ, ‘हुन चाँही ५४ हो, नागरिकता अनुसार ५७ भएँ।’

त्यो बेला उमेर बढाउनुको फाइदा जागिर खान पाउनु पनि थियो। उनले प्लस टू पढ्दा पढ्दै त्रिभुवन विश्वविद्यालयमा तीन वर्ष काम गरे र आरएनए सीमा जागिर खाए। बेलैमा सरकारी जागिरे भए। उनले इन्टरमा आरआरमा पत्रकारिता, स्नातक त्रिचन्द्र कलेजमा अर्थशास्त्र अनि स्नातकोत्तर त्रिभूवन विश्वविद्यालयमा समाजशास्त्रमा गरेका हुन्। कुनै वर्ष व्याक लागेन।

गीतसँग जोडिएको नाता


वर्ष गन्ने हो भने तीन दशक कट्यो बीबी आधिकारिक रचनाकार भएको। तर लेख्न चाँही स्कूलको समयदेखि लेख्ने गर्थे कलेजमा आएपछि त्यसले निरन्तरता पायो। कलेजको समयमा उनको संगत नै यस्तै भयो। आरआर कलेज पढ्दा नायक भुवन केसी उनको साथी थिए, भुवनले गाएको गीत हिट भइसकेको थियो। वरिष्ट गायक दिवाकर खड्का कार्यालयका साथी थिए।

उनले गीत रेकर्ड गर्न हौसाए। २०४१ सालमा राम थापाको संगीतमा दिवाकरको स्वरमा बीबीले लेखिएको पाँचाँै तर रेकर्ड भएको पहिलो ‘बत्ति बाली कहाँ खोजाैँ म तिमी हरायौँ’ रेकर्ड भयो। यसले उनलाई सकारात्कम उर्जा दियो। यो गीत पछि आयो, २०४८ सालमा ‘म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु।’

एक पछि अर्को गीत रेकर्ड भए। २०४७ सालमा पोखरामा घुम्न गएको बेलामा ताल तर्न डुंगा कुरेर बसेकी आमैलाई देखेर उनले रचे ‘पुरानो डुंगा पानीको छाल, पार गरुँ कसरी’ यो गीत २०६० सालमा रेकर्ड भयो। कर्णदासले स्वर भर्दा गीतले फेरि तहल्का मच्चायो । यतिबेला पनि उनी जापानमै थिए।

उनले चलचित्रमा पनि काम गरेका छन्। उनले काम गरेको गोपिकृष्ण चलचित्रमा सम्झौता अनुसार उनका गीत राखिएनन्। त्यसपछि उनी चलचित्रसँग आवद्ध भएनन्। यो भन्दा अगाडि दोधार भन्ने चलचित्रमा २०५४ सालमा ‘त्यो सानो गाउँको त्यो सानो ठाउँको’ बोलको गीत रेकर्ड भएको थियो। अहिलेसम्म उनले सिर्जना गरेका १७ सय गीतमा ६ सय रेकर्ड भईसकेका छन्।

कीर्तिमानी राख्ने नयाँ च्यालेन्ज

 


अचेल उनको निन्द्रा हराम भएको छ। रातमा निन्द्रा लागेपनि सुत्न सक्दैनन्। बिहान छिट्टै निन्द्राले छोड्छ। यो सब डिल्लीबजारको गल्ली गल्ली हिँडेर उनी एकोस्टिक रेकर्डिङ स्टुडियो पुगेपछि भएको हो। उनी आफ्ना पुराना गीतहरुलाई आरकाइभिङ गरेर संरक्षण गर्न चाहन्थे। गीतहरु एकीकृत गरेर गीतकारको संग्रह बनाउने काममा लागिपरेका थिए।

नयाँ गीत लेखेर र रेकर्ड गराएर थाक्ने गीतकार उनी हैनन्। बेला बेला सोलो एल्बम निकालिरहने उनलाई केही गर्न साथीहरुले हौसाए। नेपालमा अहिलेसम्म गीतकारको नाताले ७ ओटा एल्बम डा. उपाध्यायले निकालेका छन्। त्यो भन्दा धेरै सार्वजनिक गर्न सकियो भने त नयाँ रेकडै नै बन्छ। प्रकाश मिश्र, रुपक डोटेल, मनोज चौलागाई, कौशल राज खड्का र सुजाता बर्मा थिए। स्टुडियोमा गीत रेकर्ड हुँदै थियो। कुरै कुरामा यतिको निचोड निस्केपछि बीबी ताते। उनी भन्छन्, ‘नेपालको रेकर्ड तोड्छु भनेर लागेको चाहिँ हैन है।’ त्यसपछि गीनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन के व्यवस्था हुन्छ भनेर खोज्दा यो क्याटागोरी नै नरहेको देखियो र बीबी यता आकर्षित भए। बीबी थापा फाउनडेशनको आधारमा उनले निर्णय गरे २७ वटा गीतको एल्बम सार्वजनिक गर्ने।

शनिबार (जेठ १८) बीबी थापाको एउटा नयाँ च्यालेन्ञ्ज सफल हुँदैछ। २७ वटा गीतको एल्बममा रहेका एकसय ४० भन्दा धेरै गीतहरु सार्वजनिक हुँदैछ। यो एल्बममा प्रेमध्वज प्रधान, मदनकृष्ण आचार्यदेखि प्रकाश श्रेष्ठ, रामकृष्ण ढकाल, मेनुका पौडेल, अन्जु पन्त, मेलिना राई, रुपक डोटेल लगायत कलाकारको स्वर छ। बीबीका आफ्नै दुई छोरीहरु आत्रिका थापा जो १० वर्षकी छन्, उनले एउटा एल्बम गरेकी छन्, पाँच वर्षकी छोरी मिसिकाले एउटा गीत गाएकी छन्।

यो कार्यक्रम जस्ताको तस्तै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पठाउनु पर्ने छ अनि त्यहाँको टोलीले जाँच गरेर नयाँ कीर्तिमान बनाउने या नबनाउने निर्णय गर्छन् ।

प्रेम शक्ति कि बर्बादी ?


प्रेम शब्द आफैमा विशाल छ। ‘यो जसले पनि गर्छ, बच्न सकिन्छ तर नभई बाँच्न पनि सकिन्न। कुन मोडमा को सँग कसरी हुन्छ भन्ने कुरा असम्भावि हुन्छ।’ बीबी भन्छन् ‘जब मायामा हैसियत हेरिन्छ, तब कलाकार, पात्र अनि चरित्र फेरीन्छ। भोगाई फेरिन्छ।’

यसले बिस्तारै अन्तरबिरोध जन्माउछ। यस्तो अवस्थामा माया सम्झौता हुन्छ, भार पर्छ अनि यहाँबाट बाहिरिएकै राम्रो।

२०४८ सालमा जापान जाँदा उनलाई केही हैसियत बनाउनु थियो। ‘गाउँ र शहरको अन्तरले मलाई हैसियत स्मरण गरायो।’ उनले आफू दुई वर्षका लागि जापान अध्ययन बिदामा गएको बताए। त्यसपछि उनी फर्के। नेपाल आएपछि फेरि केही कुरा दोहोरिए। त्यसले सही बाटो लिन सकेन । अन्ततः १४ वर्षपछि उनी आफ्नी अनामिकासँग छुटिए। ‘हामी सल्लाहमा अलग भयौँ, आज पनि भेट्दा बोल्छु। मैले मेरो त्यो जीवनलाई चलचित्रको इन्टरभल भन्दा अगाडिको पाटो भनेको छु।’

पहिलो पल्ट गएको तीन वर्षपछि उनी फेरि जापान गए। प्रेम आगो हो, निभाएपछि पनि त्यसको राप केही क्षणसम्म महशुस गर्न सकिन्छ। यस्तै जलेर खरानी भए पनि त्यसको तातो पालिरहन्छ।

त्यसपछि उनले आफ्नो जीवनको दोस्रो हाफ सुरु गरे। जीवनको अर्को मोड सुरु भयो। उनले साथीको बहिनीसँग मागी विवाह गरे। २०५४ सालमा सारीका थापा उनको जीवनमा आइन्। २०६३ सालमा नेपाल फर्के बत्तिसपुतलिमा उनले किनेको पुरानो घर थियो, बेचे र सुकेधारा सरे। उनलाई केही पोल्ने पुराना यादहरुबाट मुक्ति पाउनु थियो। शायद उनी केही हदसम्म सफल भए। अब उनको जीवनमा दुई सुन्दर फूल आत्रिका थापा र मिसिका थापा आइसकेका छन्।

र उनको जीवनको पहिलो अध्यायले उनलाई उर्जा दिइरहन्छ। गीतमा एक किसिमको गहकता दिन्छ, यो सायद उनलाई प्राप्त भएको शक्ति हो।

उनको जीवन यहाँ सम्म आइपुग्दा उनले जे जे पाए, त्यसमा पाँचजनाको मुख्य भूमिका रहेको उनी मान्छन्,

१) आमा बुवा, जसले जन्म दिए, यो धर्तीमा टेकाए
२) डोर्‍याएर बाटो देखाउने कर्मगुरु बलराम थापा,
३) जीवनको इन्टरभल पछि आएकी जीवन संगीनी जसले उनको सबै अतितलाई पल्टाएकी थिइन्। उनको साथ र स्नेहको ऋणि हुनेछन्।

र उनले ‘अनामिका’ पात्रलाई कसैगरी छुटाउन सक्दैनन् जसले उनलाई ‘मायामा साथ, मात र घात सब जायज हुन्छन्’ भनेर सिकाइन्।

जेष्ठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्