सिड्नीमा स्वास्थ्य जनचेतना कार्यक्रम सम्पन्न

सिड्नी – साउथ वेस्ट नेप्लिज कम्युनिटी सिड्नीको आयोजनामा शनिबारका दिन स्वास्थ्य जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ । सिड्नीको १२० गर्नसे एभिन्यु, मिन्टोस्थित रन मोर कम्युनिटी सेन्टरमा आयोजित उक्त कार्यक्रममा अस्ट्रेलियामा कार्यरत विविध क्षेत्रका चिकित्सक तथा विज्ञहरूले आआफ्नो क्षेत्रमा जनचेतनामूलक प्रस्तुती पेश गरेका थिए ।

औपचारिक कार्यक्रमको उद्घाटन गर्दै साउथ वेस्ट नेप्लिज कम्युनिटी सिड्नीका अध्यक्ष डा. देवेन्द्र सापकोटाले स्वागत मन्तव्य राख्दै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिए । सो अवसरमा आगामी दिनमा समुदायको स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष र परोक्ष रूपमा सरोकार राख्ने विषयहरूलाई प्राथमिकताका साथ संस्थाले अगाडि बढाउँदै लैजाने अध्यक्ष सापकोटाले बताए ।

उनले भने, “नेपालीहरूको साउथ वेष्ट क्षेत्रमा बढ्दो उपस्थितिलाई मध्यनजर गर्दै नेपाली समुदायका सांस्कृतिक, धार्मिक र सामुदायिक कार्यक्रमहरू संचालन गर्नका लागि एउटा छुट्टै सामुदायिक भवनको आवश्यकता महसुस गरेका छौँ । साउथ वेष्ट नेप्लिज कम्युनिटीले त्यसतर्फ कार्ययोजना अगाडि बढाउँदै लैजानेछ जसमा हामीले काउन्सिलको सहयोगात्मक भूमिकाको अपेक्षा गरेका छौं ।”

कार्यक्रमका प्रमुख अतिथि क्याम्बेलटाउन सिटी काउन्सिलका मेयर जर्ज ब्रिटसेभिकले आयोजकलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले समुदायलाई फाइदा हुने बताए । उनले भने, “आगामी दिनमा पनि आवश्यक रहेको खण्डमा काउन्सिलको तर्फबाट सहयोग जारी रहनेछ । स्वास्थ्य जनचेतनामूलक कार्यक्रम महत्वपूर्ण भएकाले समुदायको तर्फबाट कार्यक्रम आयोजना हुनु खुशीको कुरा हो ।”

कार्यक्रममा अतिथिहरू न्युसाउथ वेल्स राज्यका सांसाद एनालक च्यान्टिभोङले आयोजकहरूलाई धन्यवाद दिँदै नेपाली समुदायको उपस्थिति बढ्दै जाँदा यस्ता कार्यक्रमहरूले समुदायको स्वास्थ्य जनचेतना सुधार गर्न विशेष सहयोग पुर्‍याउने तथा समुदायहरूबिच आपसी भाइचारा अभिवृद्धि गर्ने उल्लेख गरे । क्याम्बेलटाउनका स्थानीय सांसद पिटर सिडग्रिभ्स र क्याम्बेलटाउन काउन्सिलका उपमेयर रे लाउन्ड र काउन्सिलर मसुद चौधरीले कार्यक्रमको सफलताको लागि शुभकामना दिए ।

कार्यक्रममा डा प्रवीन पाठकले ‘पुरुष स्वास्थ्य र प्रोस्ट्रेट स्क्रिनिङ सम्बन्धी, डा. बाबुराम बस्ताकोटीले ‘मधुमेह जाँच, परीक्ष र उपचार’ सम्बन्धी, फरमिला सापकोटाले ‘स्तन क्यान्सर स्क्रिनिङ र उपचार’ सम्बन्धी, डा. सीताराम जोशीले ‘जेरियाटिक स्वास्थ्य’ सम्बन्धी, डा. कुमुद धितालले ‘मुटु रोग र स्वास्थ्य’ सम्बन्धी आआफ्नो प्रस्तुती दिएका थिए ।

त्यसैगरी डा. रुपेश केसीले दाँत सम्बन्धी, डा. महेन्द्र नेपालले मानसिक रोगसम्बन्धी, डा. अञ्जु पाण्डेले पाठेघरको क्यान्सरसम्बन्धी प्रस्तुती दिएका थिए ।

कार्यक्रममा नेपालबाट आएका अभिभावकहरूले आआफ्ना जिज्ञासाहरू चिकित्सकसँग राखेका थिए । उनीहरू निर्धक्कसँग नेपाली भाषामै डाक्टरहरूलाई आफ्ना स्वास्थ्यसम्बन्धी जिज्ञासा राख्न पाउँदा निकै हर्षित देखिन्थे । कार्यक्रमका निःशुल्क रूपमा स्वास्थ्य जाँच समेत गरिएको थियो जसबाट नेपाली अभिभावकहरूले प्रत्यक्ष फाइदा लिए ।

संस्थाका अध्यक्ष डा. देवेन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुदीप ढकालले धन्यवाद ज्ञापन गरेका थिए भने संस्थाका महासचिव प्रेम शाह र पब्लिक अफिसर हरि अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाली समुदायका अगुवाहरू तथा सिड्नीवासी नेपालीहरूको बाक्लो उपस्थिति थियो ।

जेष्ठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्