कालो भो दिन जेठ १९ गते-नेपालकै निम्तिमा

कालो भो दिन जेठ उन्‍नाइस गते-नेपालकै निम्तिमा,
फिर्ला त्यो दिन वर्ष फेरिन गए – यै जेठको घुम्तिमा
पीडा नित्य हुनेछ त्यो दिवसको – वर्षै फिरी आउँदा
घट्ना याद हुनेछ राजघरको – सम्झी सबै ल्याउँदा ।।
।।१।।
डाकूँ की म अरण्य रोदन गरी-राजा कहाँ छौ भनी,
खोजूँ की दरबार भित्र म पसी-अज्ञात जस्तो बनी।
त्यो अन्ठाउन जेठको दशहरा-उन्नीसको रातमा ,
राजाको परिवार एकसँग भै – अल्प्यो नि अज्ञातमा।
।।२।।
जाऊँ आज कहाँ सबै पथहरु – देख्छू यहाँ निर्वल ,
अस्तायो सविता नभान्तर तिरै – टाढै छ अस्ताञ्चल।
आफै स्तव्ध छु मार्गहीन म यहाँ – छैनन् सहारा कुनै ,
राजा लागिसके नि स्वर्गपुरमा – भू– लोक छोडी कनै ।।
।।३।।
हामी आज भयौ नितान्त टुहुरा – माता–पिता हीन झैं,
हामी आज भयौं सहाय विनका – बन्धू–सखा हीन झैं ।
छोडी चट्ट ‘करोड तीन’ जनता – यो देश कस्का भर ,
देखिन्नौ किन भूप यो मुलुकमा – काहाँ बनायौ घर ।।
।।४।।
को बुझ्ला अब पीर रोदन यहाँ – माहौल सन्त्रस्त छ ,
देशैका सब तर्फको कृति कला – छाडा र उन्मत्त छ ।
बाच्ने हो कसरी निशा–दिवशमा – बेसाहरा भै सक्यौं,
तिम्रा याद अदम्य छन् हृदयमा – रोएर थाकी सक्यौं ।।
।।५।।
जन्ताका घर–आगनी पुगि दिने – राजा गुमाई सक्यौं ,
जन्ताका सुख–शोकमा सम हुने – राजा गुमाइ सक्यौं ।
जन्ताका प्रियपात्र सौम्यपनका – नेता गुमाई सक्यौं ,
देशैका अभिभावकै सकलका – भ्राता गुमाई सक्यौं ।।
।।६।।
भुल्ने छैन कदापि देश–जनता – राजा प्रजातान्त्रिक ,
जस्को छत्र–छहारीमा सब जना – हुन्थे नि आल्हादित ।
सोही स्मम्भ ढल्यो नि देश–जनको – आधार छायाँ दिने,
अल्पे लोक नरेश अन्तपुरमा – आत्मीय माया दिने ।।
।।७।।
हाम्रा साथ रह्यो यहाँ समयको – दुखान्तकै सिर्जना ,
हाम्र साथ रह्यो महाप्रलयको – आजन्म सम्बेदना ।
हाम्रा साथ रह्यो विसाद मनको – त्यो भावरेखा अव ,
हामी छांै सब दीन–हीन–टुहुरा – कल्ले लुट्यो गौरब ।।
।।८।।
फिर्दैनन् जन हेर कान्तिपुरमा – स्वर्गीय राजा अब,
घुम्दैनन् प्रतिवर्ष देश भरमा – स्वर्गीय राजा अब ।
सुन्दैनन जनका मुराद मनका – स्वर्गीय राजा अब ,
बटो लागिसके अनन्तपुरको – स्वर्गीय राजा अब ।।
।।९।।
व्यर्थै आज नखोज नीर नदका – भेटिन्न राज कहीँ ,
व्यर्थै लौ नसुसेल वायु सिरिरी – भेटिन्न राजा कहीँ ,
काला बादल हो नदौड नभमा – भेटिन्न राजा कहीँ ।
व्यर्थै गर्नुहुदैन चिर्विर चरी – सुन्दैन राजा कहीँ ।।
।।१०।।
यो संसार निसार नाट्य स्थल हो – मान्छे सबै पात्र हुन् ,
ती आफ्ना अभिव्यञ्जना–अहमता – देखाउने मात्र हुन् ।
पर्दा बन्द भएर पात्र जसरी – अल्पन्छ नेपथ्यमा ,
त्यस्तै जीवनको पटाबृत भए – अल्पन्छ खै को कहाँ ?
।।११।।
रोकिन्छन् हर रात नीद सुखका – सम्झुँ कि राजा भने ,
बग्छन् भल्भल तप्त आँसु गहमा – सम्झुँ कि राजा भने
बिर्सू लौन कसो गरी मुलुकमा – बेला कहालै छ नी ,
थामू रोदन नैनको म कसरी – पीडा त आलै छ नी ।।
।।१२।।

राजा वीरेन्द्र प्रति
(दरवार हत्याकाण्डको अठारवर्ष पछि )

जेष्ठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्