नेकपा पार्टी एकता

तल्लो तहमा छटपटी, माथिल्लो तहमा पदको जुहारी

काठमाडौँ— धुमधामसँग सम्पन्न नेकपा एमाले र माओवादी एकता के एक वर्षमै ओरालो बाटोतर्फ मोडिएको हो त?

यो प्रश्न सार्वजनिकरुपमा मात्रै नभई ती दुई पार्टीकाे एकताबाट जन्मिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पंक्ती भित्रपनि उठ्न थालेको छ।

प्रदेश, जिल्ला र जनवर्गीय संगठनको नेतृत्व चयनको टुंगो लगाए पनि त्यो पारदर्शी नभएपछि देखापरेको असन्तुष्टी, एकपटक टुंगो लागिसकेको भनिएको पोलिटव्युरो आन्तरिक विवादकै कारण सार्वजनिक नगरिनु, अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सत्ता नेतृत्वको संघर्ष सुरु भएसँगै नेकपाको पार्टीको एकीकृत स्वरुप चर्मराउन पुगेको त होइन भन्ने चिन्ता र बहस दुवै पार्टी पंक्तीमा प्रवेश गरेको छ।

ओली र दाहालबीच पार्टीका केही शीर्ष नेताहरुको उपस्थितिमा गरिएको भनिएको चार बुँदे लिखित तर गोप्य सत्ता हस्तान्तरणको सहमति एकाएक सार्वजनिक चर्चामा आउनुले पार्टी पंक्तिमा चिन्ता थपिएको छ। त्योसँगै कतै सत्ताका लागि मात्रै ओली दाहालले पार्टी एकता गरेका त होइनन् भन्ने प्रश्न पनि उब्जिएको छ।

चार बुँदे सहमतिको चार नम्बरमा लेखिएको छ,‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने।’

भदौ २१ गते दिल्ली गएका बेला त्यहाँको एउटा सञ्चार माध्यममार्फत पहिलो पल्ट पार्टी एकता हुँदा आफू र ओलीबीच सत्ता नेतृत्व ओलोपालो गर्ने सहमति भएको खुलासा गरेको ८ महिनापछि दाहालले बुधबार त्यही कुरा नेपालको एक टेलिभिजन वार्तामार्फत बाहिर ल्याएका छन्।

उनले भनेका छन्, ‘सरकारको नेतृत्व हामीले आलोपालो नै गर्ने सहमति छ। जे सहमति गरेका छौँ त्यो सहमतिप्रति इमान्दार हुनै पर्छ। त्योबाट दायाँबायाँ कोही गर्न खोज्यो भने त्यो टिक्नेवाला छैन।’

त्यो सहमतिबारे अहिले आफू अहिले नबोल्ने बताएका प्रधानमन्त्री ओलीले चार–पाँच दिन मात्रै आफू प्रधानमन्त्रीमा रहने व्यङग्य प्रहार गर्दै पार्टी एकताका बेला सहमति भएको भन्ने कुरा पुरानो भएको बताएका छन्। तर त्यसको कार्यानवयबारे भने उनी मौन रहे।

ओली दाहालको यो घुमाउरो जुहारी एकातिर चलेको छ भने अर्कोतिर पार्टी भित्र विकसित गुटबन्दी, नयाँ समिकरणको अभ्यास र विचारधारालाई लिएर उत्पन्न असन्तुष्टीले पार्टीको एकतालाई सुदृढ हुनु भन्दा कमजोर पार्दै लगेको छ।

प्रधानमन्त्री ओलीसँग खुलेरै असन्तुष्टी जनाउँदै आएका हालै किसान संगठनको नेतृत्व पाएका नेता बामदेव गौतमले सहमति अनुसार सरकार परिवर्तन नभए पार्टी एकतामा प्रभाव पर्ने चेतावनी दिइसकेका छन् प्युठान पुगेर।

पार्टीका अन्य शीर्ष नेताहरु पनि ओली र दाहालको देखिने गरी भएको भएको विवादलाई लिएर त्रसिद छन्। ‘छिट्टै नै मेरा कुरा पनि सार्वजनिक रुपमा राख्नेछु, माथी जे भइरहेको छ त्यो अत्यन्तै दुखद छ। हामीलाई यति ठूलो पार्टी नजोगिने हो की भन्ने डर सुरु भइसकेको छ’, नेकपाका एक शीर्ष नेताले देशसञ्चारसँग भने।’

नेकपाको माथिल्लो तहमा देखिएको अन्यौलताले प्रदेश तहमा अझ चिन्ता बढाएको छ।  नेकपाका एक जना प्रदेश इन्चार्जले नाम नखुलाउने सर्तमा भने,‘ प्रदेश तहमा पार्टी सिद्धिन लागिसक्यो। माथी राम्रो काम भए पो तल्लो तहकाले त्यो हेरेर सिक्ने र काम गर्ने? सबै निराश छन्, दुई दलका कमिटीको एकतामा समेत अविश्वास पैदा भएको छ।’
जिल्ला तहमा पनि पार्टी एकताको उत्साह मर्दै गएको छ, काम हुनु पहिल्यै।

सुर्खेतस्थित वीरेन्द्र नगरपालिकाका पूर्व मेयर एवम् तत्कालिन एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य बलराम शर्माले केही समय अघि भनेका थिए,‘ शीर्ष नेताहरुको आचरण र व्यवहारले हामीलाई उत्साहित हैन निरुत्साहित बनाउँदै छ। पद र प्रतिष्ठाको लडाँई मात्रै हुन्छ नेतृत्वमा।’ त्यस्तै अवस्था देखा परेको छ अहिले नेकपामा।

अध्यक्ष ओलीको सरकार र पार्टी सञ्चालनको शैलीलाई लिएर असन्तुष्टी बढेको छ। ओलीले आफू संसदीय दल बाहेक पार्टीका सबै निकायमा अलमतमा परेपछि दाहालका समर्थकलाई आफुतिर आकर्षित गर्ने अभ्यास थालेका छन्।

पूर्व माओवादी नेता हाल गृहमन्त्री रहेका रामबहादुर थापा बादललाई आफूतिर ल्याउन सफल ओलीले उनलाई संगठन विभागको प्रमुख दिने कसरत थालेपछि पार्टीका अर्का वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, गौतम लगायत नेताहरु त्यसको विरोधमा उत्रिएका छन् आन्तरिकरुपमा।

२०७४ सालमा सम्पन्न चुनावी तालमेलका निम्ति बनेको वाम गठबन्धनमार्फत एकता गरी मुलुकको सबै भन्दा ठूलो पार्टी बनेको र यसैले ‘समृद्धि’ ल्याउँछ भन्दै हिड्ने नेकपाका नेताहरु पनि यतिबेला निराश छन्।

पार्टीका एक स्थायी सदस्यले भने,‘ जनताले हामीलाई विश्वास गरे, हाम्रो पार्टी सबैभन्दा ठूलो भयो तर हामीले वास्तवमा जनताको खुशीका लागि वास्तवमा काम नै थाल्न सकेका छैनौँ माथिल्लो तहमा भएको मत भिन्नता र अन्यौलताले, खिन्न छ मन।’

जेष्ठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्