निर्वाचनको संघारमा मोरङ व्यापार संघको विवाद सतहमा

मोरङ– उद्योगी व्यवसायीहरुको मुलुकै पहिलो संस्थाका रुपमा स्थापित मोरङ व्यापार संघको ३२ औँ कार्यसमितिको निर्वाचन विवादित बन्दै गएको छ।

गत सोमबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई निमन्त्रणा गरि ६४ औं वार्षिक साधारणसभाको उद्घाटन गराइएको संघको विवाद सतहमा आएको हो।

विराटनगरस्थित संघको निर्वाचन जेठ २४ गतेलाई तोकिएको भएपनि, शुक्रबार प्रकाशित पदाधिकारी नामावलीलाई लिएर विवाद उत्पन्न भएको हो। संघको निर्वाचन प्रक्रिया अन्तर्गत नामावलीलाई लिएर उद्योगी व्यवसायीले आपत्ति जनाउँदै दाबी विरोध गरेका छन्।

यस क्रममा असन्तुष्ट उद्योगी व्यवसायीको एक पक्षले निर्वाचन आयोग, मोरङ व्यापार संघमा दाबी विरोध गरेको हो। सो दाबी विरोध अनुसार, प्रकाशित नामावली सूचीमा उद्योग र वाणिज्य क्षेत्रका सदस्यहरुको पूर्ण विवरण उल्लेख नगरी फर्म उद्योगको मात्र नाम र ठेगानामा उल्लेख गराइएकोमा आपत्ति जनाइएको छ।

उनीहरुले निर्वाचन कार्यक्रमको सूचना समेत २०७४ जेठ २४ गते शुक्रबार उल्लेख गरि प्रकाशित गरिएकोप्रति असन्तुष्टि जनाएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङलाई बोधार्थ गरिएको दाबी विरोध पत्रका सन्दर्भमामा एक उद्योगीले मिति समेत दुई वर्ष अघिको राखि सूचना प्रकाशित गरिएकोले सदस्यहरुलाई गुमराहमा राख्ने प्रपन्च गरिएको आरोप लगाएकाछन्।

उनले भने, ‘यस प्रकाशित सूचनाका अनुसार सदस्यहरुलाई भ्रममा राखेर निर्वाचन एकलौटी गराउने नियत व्यापार संघका पदाधिकारीहरुको रहेको छ। जसले व्यापार संघकै गरिमालाई दख्खल पुर्‍याउने चेष्टा गरिएको छ।’

संंघ भित्रैका असन्तुष्ट पक्षधर मध्येका एक पदाधिकारीले ‘संघको लामो इतिहासमा हालसम्म यसप्रकारको त्रुटिपूर्ण र खराब नियतसँगै संघ नियन्त्रण गर्ने उद्देश्यका साथ अघि बढिएको छ। जसको हामी विरोध गर्दछौँ र सो नामावली अविलम्व खारेज गर्न माग गर्दछौँ।’

संघको निर्वाचनमा वाणिज्यतर्फ ३ सय ९६, उद्योगतर्फ २ सय ९६ र वस्तुगततर्फ ६ सय९६ फर्मको नामावली प्रकाशित गरिएको बताइएको छ।

जेठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्