किसानका खेतमा सिंचाई पुग्दैन, पानी जति बाँधबाट चुहिएर जान्छ

दाङ– काठको किलामा स्याउँला र माटोले पुरेर बाँध निर्माण गरिएको छ। यसरी बनाइएको कच्चि बाँधबाट आधा पानी कुलोमा र आधा पानी खोलामा बग्ने गरेको छ।

यसरी अस्थायी कच्चि बाँधका कारण लमही नगरपालिका वडा नं. २ बनकट्टी गाउँको ७० विगाह जमिन सिंचाईमा समस्या पर्ने गरेको छ। यहि बाँधबाट लगिएको पानीबाट सिंचाई पुगेर बँचेको पानीबाट मजगाउँको करिब एक सय विगाह जमिन सिंचाई हुने गरेको छ।

तर, अस्थायी र कच्चि बाँधका कारण हरेक वर्ष किसानले दुःख पाउनु परेको सिंचाई समितिका अध्यक्ष तुलसीराम अधिकारीले जानकारी दिए। ‘कच्चि बाँध छ। अलि ठूलो भल आयो भने यो सबै बगाएर लैजान्छ’, उनले भने,‘बाँध कच्चि हुँदा पानी चुहेर जान्छ। खेत बारीमा सिंचाईको लागि पानी पुग्दैन।’

प्रगन्ना कुलो सिंचाई आयोजना भित्रको कुलो भएपनि पक्कि बाँध निर्माणको लागि आयोजनाले ध्यान दिएको छैन्। जसले गर्दा किसानहरु अस्थायी तथा कच्चि बाँध बनाएर भएपनि सिँचाइको लागि वर्षेनी श्रमदान गर्दै आएका छन्। ‘गाउँभरीका मानिस भेला गरेर कुलोको बाँध बनाउनु पर्छ’, अधिकारीले भने,‘पक्कि संरचना बन्यो भने किसानलाई समेत सजिलो हुने थियो। तर, हाम्रो समस्या कसैले सुनेनन्।’

जलस्रोत तथा विकास डिभिजन कार्यालय तुलसीपुर दाङका प्रमुख गणेश मरासिनी, नेकपा प्रदेश सदस्य शिवकुमार आचार्य, सिंचाइ उपभोक्ता समितिका अध्यक्ष तुलसीराम अधिकारी लगायतले बाँधको अवलोकन गरेका छन्।

अवलोकनको क्रममा आउने वर्ष कार्यान्वयन हुनेगरी प्रगन्ना कुलो सिंचाई आयोजनाबाट सहमति लिएर सिंचाई विकास डिभिजन कार्यालय दाङबाट पक्कि बाँध निर्माण गरिने प्रतिवद्धता कार्यालय प्रमुख गणेश मरासिनीले व्यक्त गरे। ‘कच्चि बाँध हुँदा सारै समस्या रहेछ। पक्कि बाँधको लागी ध्यान दिन्छौँ’,उनले भने,‘जनताको श्रमदानबाट नमुना काम भएको रहेछ।’

यस्तै प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्मासहितको टोलीले पनि कौडिया खोला कटान नियन्त्रणको लागि स्थलगत अवलोकन गरेको छ।

जेठ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्