‘सरकार ज्ञानेन्द्र शाहीलाई हत्या गर्ने षड्यन्त्रमा लागेको छ’

काठमाडौँ-नेपालका लागि नेपाली राष्ट्रिय अभियानमा संलग्न ज्ञानेन्द्र शाहीलाई सरकारले हत्या गर्ने षड्यन्त्र गरेको उक्त अभियानका अगुवा अधिवक्ता बालकृष्ण न्यौपानले आरोप लगाएका छन्।
बुधबार भ्रष्टाचार विरोधी अभियान सञ्चालनका क्रममा सुर्खेत पुगेका अरु नेताहरुसँगै शाहीलाई प्रहरीले गिरफ्तार गरी ‘साइभर क्राइम’ अन्तर्गत मुद्दा चलाएर काठमाडौँ ल्याएको छ।
हाल उनको घाइते अवस्थामा वीर अस्पतालमा उपचार भइरहेको छ। अस्पतालको शैय्याबाट शाहीले प्रहरीले नियतबस आफूलाई यातना दिएको आरोप लगाएका हुन्।
भ्रष्टाचारविरोधी अभियानका अगुवा न्यौपानले शाहीको हत्या गर्ने योजना सहित उनीमाथि आक्रमण भएको दाबी गरेका छन्।
बैशाख १८ गते सुर्खेतमा अभियानद्धारा आयोजित कार्यक्रममा पत्रकाहरु अनुपस्थित भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायत सरकारी ओहदामा रहेकाहरुले भ्रष्टाचार गरेको र त्यसमा पत्रकाहरु संलग्न रहेको रहेको आरोप भिडियोमार्फत लगाएका थिए।
त्यसपछि पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती र कर्णाली प्रदेश पत्रकार महासंघका अध्यक्ष दुर्गा थापा लगायत पत्रकारले शाही विरुद्ध मुद्दा दर्ता गरेपछि सीआईवीको मुख्यालय काठमाडौँले उनलाई गिरफ्तार गरी काठमाडौँ ल्याउन सुर्खेतलाई आदेश दिएको थियो।
तर नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले शाहीलाई कुनै पनि किसिमको यातना नदिएको र सुर्खेतमा भएको झडपका क्रममा उनी घाइते भएको दावी गरेका छन्।