टोटनह्याम ०–२ लिभरपुल

अन्ततः लिभरपुल बन्यो च्याम्पियन

अन्ततः लिभरपुल युरोपियन च्याम्पियन बनेको छ । यो सिजन प्रिमियर लिग च्याम्पियन बन्नबाट एक अंकले पछि रहेको र गएको सिजन उपविजेतामा सीमित भएको जर्गेन क्लोप्पको टिम लिभरपुलले अर्को इंग्लिस क्लब टोटनह्यामलाई हराउँदै च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो ।

स्पेनको राजधानी मड्रिडमा रहेको एथ्लेटिको मड्रिडको मैदानमा शनिबार राति भएको फाइनलमा लिभरपुलले माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई २–० ले हराउँदै उपाधि जितेको हो । लिभरपुलको जितमा मोहम्मद सालह र डिभोक ओरिजीले गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै लिभरपुलले पेनाल्टी पायो । टोटनह्यामका मोएसा सिसोकोको ह्याण्ड बलका कारण लिभरपुलले पेनाल्टी पाएको हो । त्यसलाई सदुपयोग गर्दै सालहले गोल गरे र लिभरपुललाई सुरुवाति अग्रता दिलाए ।

खेलमा टोटनह्यामले गोल गर्ने राम्रा मौका बनाएको थियो र त्यसका लागि प्रयास पनि । तर लिभरपुलका गोलरक्षक एलिसनले ती प्रयासहरु विफल पारे । टोटनह्यामका सन हेङ–मिन, लुकास मौरा र क्रिष्टियन एरिक्सनको प्रहारमा एलिसन बाधक बने ।

सुरुमै पछि परेको टोटनह्यामले खेलको अन्तिम समयतिर अर्को गोल खायो । थप खेलाडीका रुपमा आएका ओरिजीले ८७ औँ मिनेटमा गोल गरे र टिमलाई २–० को जितसहित उपाधि दिलाउने पक्का गरे । क्लोप्पले लिभरपुलको प्रशिक्षकको रुपमा पहिलो उपाधि जिते र त्यो पनि च्याम्पियन्स लिगको । ह्युगो लोरिसको पासमा ओरिजीले गोल गरेका हुन् ।

टोटनह्यामका प्रशिक्षक पोकेटिनोले खेलमा गएको अप्रिलदेखि चोटका कारण मैदान बाहिर रहेका स्ट्राइकर ह्यारी केनलाई थप खेलाडीका रुपमा मैदान छिराए । सेमिफाइनलका हिरो लुकासलाई निकालेर ह्यारीलाई पठाए पनि त्यसको प्रभाव देखिएन ।

पछिल्लो ११ वर्षमा पहिलोपटक च्याम्पियन्स लिग फाइनलमा दुवै इंग्लिस क्लब पुगेका हुन् । यसअघि सन् २००८ को फाइनलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पेनाल्टीमा हराएर उपाधि जितेको थियो ।

यो पटकका फाइनलिस्ट दुवै क्लबले सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गरेर मड्रिड यात्रा तय गरेका थिए । पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनासँग ३–० ले पराजित भएर पनि लिभरपुलले दोस्रो लेगमा ४–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो र अन्ततः उपाधि विजेता पनि बन्यो ।

यस्तै टोटनह्याम पनि डच क्लब अजाक्ससँग पहिलो लेगमा १–० ले पराजित भएको थियो । तर दोस्रो लेगमा ३–२ को जित निकाल्दै अवे गोलका आधारमा फाइनलमा स्थान बनाउन सफल भएको थियो ।

लिभरपुल योसँगै छैटौँ पटक युरोपको च्याम्पियन बनेको छ । यसअघि उसले पछिल्लो पटक सन् २००५ मा उपाधि जितेको थियो । त्यसयता सन् २००७ मा एसी मिलान र गएको वर्ष रियल मड्रिडसँग फाइनलमा पराजित भएको थियो ।

तर माउरिसिओ पोकेटिनोको टिम टोटनह्याम भने पहिलोपटक फाइनलमा त पुग्यो उपाधिबाट भने पर रह्यो । उसले पछिल्लो ११ वर्षमा कुनै पनि उपाधि जितेको छैन । टोटनह्यामले सन् २००८ मा लिग कपको उपाधि जितेको थियो ।