यार्सागुम्बा पाइने नौ नाकामा स्वास्थ्यकर्मी परिचालन

फाइल तस्बिर

जाजरकोट – डोल्पाका पाटनमा पाइने यार्सागुम्वा सङ्कलनमा गएका सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विभिन्न नौ पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरी सङ्कलनकर्ता बिरामी भएमा उपचारको व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय डोल्पाका निर्मित प्रमुख रनलाल कुलालले जानकारी दिए ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा स्वास्थ्य कार्यालय डोल्पाले यो अभियान सञ्चालन गरेको कुलालले जानकारी दिए । अहिले जिल्लाका सबै ठाउँमा हिउँ पग्ली सकेकाले यार्सा सङ्कलनको कार्य सुरु भएको छ । जेठ १७ गतेदेखि चार ठाउँमा एचएसहितको टिम र पाँच ठाउँमा अहेवसहितको टिम परिचालन गरिएको हो ।

जिल्लाका सबैभन्दा बढी सार्यागुम्बा पाइने र सङ्कलनकर्ताको अत्यधिक भीड हुने ठाउँमा प्रथमिकताका आधारमा स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिइएको प्रतिनिधिसभा सदस्य सत्या पहाडीले जानकारी दिए ।

फूलबारी, जगदुल्ला, ग्यालबारा, बागडाँडा र क्याङजूरुलगायतका पाटनलाई लक्षित गरी नौ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको पहाडीले जानकारी दिए । पहिलो चरणमा जेठ १७ गतेदेखि ३० गतेसम्म स्वास्थ्य शिविर रहने छ । यार्सापाटनमा सङ्कलनकत्र्ताको भीडको आधारमा शिविर थप समय निरन्तरता दिने वा बन्द गर्ने तय हुने प्रमुख कुलालले जानकारी दिए ।

शिविर सञ्चालन भएको ठाउँमा औषधि आवश्यकताका आधारमा ढुवानी भइसकेको उनले बताए । सुरुका दिनमा नै यार्सा सङ्कलक बिरामी हुने सङ्ख्य बढ्ने भएकाले सोही अनुसारको व्यवस्था गरेर काम गरिएको कुलालको भनाई छ ।

त्यस्तै अन्य सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए । स्वास्थ्य शिविर सञ्चालन गर्नुपूर्व नै पाँच जनाको मृत्यु भइसकेको छ ।

हिमाली पाटनमा खानेकुरा व्यवस्थित नहुनु, जथाभावी फोहर र अक्सिजनको अभावका कारण अत्यधिक मात्रामा बिरामी हुने गरेका छन् । सञ्चार सुविधा नहुँदा पाटनमा भएको समस्या समयमै खबर, आदान–प्रदान हुन समस्या भएको छ । जाजरकोट र रुकुमका यार्सागुम्बा सङ्कलनकर्ताहरु बढी बिरामी हुने गरेका छन् ।

पाटनमा हुने हावापानी र मौसमसँग समायोजन हुन नसक्दा बिरामी हुनेको सङ्ख्य बढेको हो । अहिले शिविर भएका ठाउँमा प्राथमिक उपचार गरेर बाँकी उपचार गर्नका लागि जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सांसद पहाडीले बताए ।

औषधि नपाएर ज्यान जाने अवस्थाको अन्त्य गर्नका लागि यो पहलकदमी लिएको उनले बताए । अहिले १० हजारभन्दा बढी सर्वसाधारण डोल्पाका ७० भन्दा बढी पाटनमा यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । वृद्ध, बालबालिका र विभिन्न रोगबाट सङ्क्रमित भएका सङ्कलनकर्तालाई स्वास्थ्य समस्या आउने गरेको छ ।

डोल्पाको सदरमुकाम दुनैबाट पैदल चार दिनभन्दा बढी समय हिँडेर यार्सागुम्बा सङ्कलन गर्ने कार्य हुँदै आएको छ । एकै घरमा पाँच जनाभन्दा बढी सर्वसाधारणहरु यार्साको खोजीमा पाटन गएपछि गाउँ नै सुनसान भएको छ । पाटनमा यार्सा सङ्कलनकर्ताले स्वास्थ्यलाई ध्यान दिएर मात्र यार्सा खोज्न आग्रह गरिएको छ ।

तातो कपडा, तातोपानी, पौष्टिकयुक्त खानेकुरा सेवन गर्न आग्रह गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र कार्कीले बताए । आफ्ना आसपासमा रहेका साथीभाइ बिरामी पर्दा तुरुन्तै शिविरसम्म ल्याउन र खबर गर्न अनुरोध गरिएको छ ।

यार्सा पाइने सामुदायिक वनका पदाधिकारीलाई समेत यार्सागुम्बा सङ्कलनकर्तालाई सहयोग गर्न आग्रह गरिएको छ । पाटन क्षेत्र नजिक भएका माथिल्लो डोल्पाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीसमेत पाटनमा परिचालन गरिएको छ ।

जनताको जीउधनको सुरक्षा गर्न र सङ्कलनलाई व्यवस्थित बनाउनका सर्वपक्षीय सहमतिअनुसार काम गरिएको प्रजिअ केसरीले बताए ।

जेठ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्