रात्रिकालिन फुटसल सुरु, मैत्रीपूर्ण खेलमा पत्रकारको १६ गोल

नेपालगञ्ज – नेपालगञ्जमा रात्रिकालिन फुटसल प्रतियोगिता सुरु भएको छ । झण्डै एक करोडको लागतमा बनाइएको फुटसल मैदानमा व्यापारीहरुले प्रतियोगिता आयोजना गरेका छन् ।

बिहान र बेलुका नियमित फुटसल खेल्न जानेहरुका बीचमा आठ वटा टीम बनाएर जुमा स्पोर्टस क्लवले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको शनिबार राति आठ बजे नेपालगञ्जका मेयर धवलशमशेर राणाले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतको उपस्थिति थियो ।

प्रयितोगिताको उद्घाटन भने पत्रकार र कानून व्यवसायीको बीचमा मैत्रीपूर्ण खेल खेलाएर भएको थियो । मैत्रीपूर्ण म्याचमा पत्रकारको टोली १६–२ गोलले विजयी भयो । खेलमा कुमार श्रेष्ठ, ठाकुरसिंह थारु, विशाल राना, प्रभात देवकोटाले ह्याट्रिक गरेका थिए । खेल एकतर्फी भएको थियो ।

प्रतियोगितामा भने भाष्कर काफ्लेको टोलीले विजयी शुरुवात गरेको छ । काफ्लेको टोलीले सरोबर प्रसाईको टीमलाई ६–३ गोलले पराजित गरेको थियो । काफ्लेको टीमबाट केशव राना र माधव अर्यालले तीन÷तीन गोल गरेका थिए भने प्रसाईको टीमबाट रविन पराजुलीले तीन गोल गरे ।

हरिलाल न्यौपाने र उदय अधिकारीको टीमको दोस्रो खेल भने बराबरीमा टुंगिएको छ । दुवै टीमले चार/चार गोल गरेका थिए । न्यौपानेको टीमबाट कृष्ण थापाले २, ज्ञानेन्द्र श्रेष्ठ र अमर श्रेष्ठले एक÷एक गोल गरेका थिए । अधिकारीको टीमबाट अमित बस्नेतले तीन र उदय अधिकारीले एक गोल गरे ।

जुमा स्पोर्टस क्लवले आठ वटा टीममा कप्तानको नाममा टीम तयार गरेको छ । क्लवका अध्यक्ष भीम रानाभाटले उद्योगी व्यवसायीलाई फुटबल प्रति आकर्षित गरेर जिल्लामा फुटबलको क्रेज बढाउन लागि परेको बताए ।

जुमाले यसअघि अन्तर व्यवसायी फुटबल प्रतियोगिता गरेको थियो । २५ गतेसम्म चल्ने फुटसलको विजेताले २१ हजार पुरस्कार पाउनेछ ।

जेठ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्