हिमालमा बाटो देखाइरहेकी दावा

हिमालसँग दावाको लुकामारी

दोलखाको रोलवालिङ्ग उपत्यकाकी दावा याङ्गजुम शेर्पा हिमालकै हावापानीमा हुर्किइन् । हिमालसँगै रमाइन् र अहिले हिमाली क्षेत्रमै सक्रिय छन् ।

२८ वर्षकी दावा हिमाली क्षेत्रमा पाहुनालाई गाइड गर्न पाउने अन्तर्राष्ट्रिय मान्यता पाउने पहिलो नेपाली महिला हुन्, अर्थात नेपालकी पहिलो महिला ‘इन्टरनेशनल माउन्टेन गाइड’ ।

उनलाई माउन्टेन गाइडहरुको अन्तर्राष्ट्रिय एसोसिएसनले उनलाई गाइडको आधिकारिकको प्रमाणपत्र दिएको हो । सन् २०१२ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेकी दावाले कठिन परीक्षणहरु पार गरेर प्रमाणपत्र पाएकी हुन् ।

हिमाली गाउँमा हुर्किएकी दावाले अचेल पाहुनाहरुलाई हिमालहरु र त्यस वरपरको बस्ती चिनाइरहेकी छन् । त्यसमै रमाएकी छन् । नेपालमा वर्षको आधा समय हुने दावा बाँकी आधा समय अमेरिका र दक्षिण अमेरिकासहितका क्षेत्रका हिमाली भेगमा हुन्छिन् ।

दोलखामा हिमाल हेर्दै हुर्केकी दावाले माउन्टेन गाइडको पेशा अपनाएको ११ वर्षको अवधिमा विश्वका धेरै हिमाललाई नजिकबाट नियालेकी छन् र पाहुनाहरुलाई चिनाएकी छन् । खुशी छन् दावा, तर यो खुशीको यात्रा तय गर्दा उनले धेरै कुराको माया मार्नु परेको छ ।

समय हिमाल र पाहुनाहरुकै लागि दिँदा नपुग्ने भएकैले उनलाई रहर भएर पनि प्रेमिल सम्बन्धमा अडिन पाएकी छैनन् ।

शरीरमा बल र मानसिक रुपमा तन्दुरुस्त हुनु पर्छ हिमालमा बाटो देखाउन । दावा आफूलाई फिट पाउँछिन् । तर छोरी भएकै कारण सुरुमा सधैँजस्तो घरबाहिर हुनु पर्ने पेशाप्रति परिवारले खासै मन गरेका थिएनन् ।

तर अहिले परिवारका सबै खुशी छन् । गर्व गर्छन् र त दावाको अनुहारमा चम्किलो खुशी फुलेको छ ।