किशोरीको हत्या गरी फरार अभियुक्त पक्राउ

सांकेतिक तस्बिर

पाँचथर– हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यापछि फरार रहेका पद्म तामाङ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार तामाङलाई झापाको दमकबाट आइतबार पक्राउ गरिएको हो।

फाल्गुनन्द गाउँपालिका निवासी तामाङले छिमेकी साथी भगिरथ बाँस्तोलाको सहयोगमा गत वैशाख २९ गते साँझ शीतललाई गाउँमा रहेको खाली घरमा बोलाएर घाँटी रेटी हत्या गरेका थिए।

तामाङलाई प्रहरीले भोलिपल्टै पक्राउ गरे पनि उनी भाग्न सफल भएका थिए। उक्त कार्यालयका साथै जिल्लाका विभिन्न प्रहरी एकाइको सहकार्यमा तामाङलाई पुनःपक्राउ गरिएका कुँवरले जानकारी दिए।

उनको पक्राउका लागि विद्यार्थी र नागरिक समाजले दबाब दिँदै आएका थिए। पद्म र शीतलबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि उनकोे हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

तामाङ पक्राउ परेसँगै हत्याको मूलकारण पत्ता लाग्ने प्रहरीले जनाएको छ।

जेठ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्