अस्ट्रेलियामा रवि र नेपालीको छवि

केही समयअघि मैले अस्ट्रेलियाको सिड्नीमा तत्कालीन प्रधानमन्त्री मार्लकम टर्नबुलाई देखेको थिएँ। उनलाई नजिकैबाट देख्दा मलाई अचम्म लागेको थियो। अचम्म यस कुरामा कि वरिपरी उनलाई सुरक्षा दिने सुरक्षाकर्मीको ठूलो फौज त्यहाँ थिएन।

न त उनलाई देखेर देवतालाई भेटेसरी जयजयकार गर्ने जनसागरको भिड नै।त्यसबेला मलाई लागेको थियो, उनी एउटा प्रधानमन्त्रीको पदमा पुगेका सामान्य मानिस थिए।

हो, तपाईं, हामीजस्तै मानिस।यो विकसित देश वा अझ भनौँ समाजवादउन्मुख सभ्यता भएका देशहरूमा प्रायः देखिने परिदृश्य पनि थियो त्यो। त्यस्ता देशहरूमा मानिसहरू बीच खासै अन्तर हुँदैन। पद ठूलो हुँदैमा मान्छेलाई देवता बनाउने चलन पनि हुँदैन।

तत्कालीन प्रधानमन्त्रीलाई देखेको केही दिनपछि अर्को एउटा घटना सिड्नीमैँ घट्यो। एकजना नेपालका पटके मन्त्री कुनै नेपाली प्रवासी संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन सिड्नीमा आएका थिए।ती मन्त्रीलाई स्वागत गर्नका लागि एक हुल नेपाली शुभचिन्तकहरूको भिड एयरपोर्टमा खादा र मालासहित उपस्थित थियो।

उनी एयरपोर्टबाट आउनासाथ सबैले उनलाई खादा लगाए, माला पहिराइदिए अनि जयजयकार गर्दै सेल्फी खिचेर फेसबुकमा लाइभ भिडियो हालेर एउटा भगवान् सिड्नीमा भर्खर झरेको कुरा उल्लेख गर्न पनि भ्याए।

यी दुवै घटना अस्ट्रेलियामैँ घटेको भए पनि यी दुई परिदृश्यबीच धेरै कुरामा अन्तर थिए। पहिलो परिदृश्यले विकसित समाजमा मान्छेहरूमा समानताको उत्कृष्ट नमूना पेश गरिरहेको थियो भने दोश्रो परिदृश्यले नेपाली संस्कृति र चाकडी गर्ने प्रवृत्तिको नाङ्गो उदाहरण पेश गरिरहेको थियो। नेपालीहरूले भूगोल परिवर्तन गरे पनि आफूमा निहित कुसंस्कार परिवर्तन गर्न सम्भव हुँदो रहेनछ भन्ने नमूना पनि थियो त्यो।

अस्ट्रेलियाका जनतामा समानताको खाडल नेपालको तुलनामा कम छ। हो, यहाँ पनि पीडा, अन्याय, विकृतिका आफ्नै कथा र व्यथाहरू नभएका होइनन् तर समग्रमा यहाँको स्थिति नेपालको भन्दा हरेक हिसाबले उत्कृष्ट मान्न सकिन्छ।

सरकारले प्रत्येक नागरिकको न्यूनतम आय तोकिदिएको छ। त्यो पनि कमाउन नसक्ने परिवारलाई सरकारले राहत दिने कार्यहरू गरिरहेको हुन्छ। राजनैतिक चरित्र धेरै हदसम्म राम्रो र पारदर्शी छ। आर्थिक हिसाबले सबल छ। सामाजिक न्यायका दृष्टिले यहाँको समाज अगाडि छ। कानुनी राज्यको शासन छ। समग्रमा भन्दा यहाँको प्रणाली राम्रो मान्नुपर्दछ।

नेपालमा भने अहिले पनि पहिलेजस्तै भ्रष्टाचार ज्यूँका त्यूँ छ। निर्मलाहरूका बलात्कारीलाई समाउन सरकार असफल छ। कानुनी राज्यको धज्जी उडिरहेकै छ। राजनैतिक आचरणमा जताततै सवाल उठिरहेकै छन्। नेताका हनुमानहरू वैचारिक तर्कभन्दा पनि आफ्ना देवतुल्य मालिकहरूका इसारामा चलिरहेकै छन्।
नेताका वरिपरी जन्तीसरह सुरक्षाकर्मीको लस्कर कायमै छ। जनताहरू तिनै आफैले चुनेका नेताहरूको सवारीका लागि घन्टौं ट्राफिक जाममा बस्न बाध्य परिरहेकै छन्। भ्रष्टाचारविरोधी ज्ञानेन्द्र शाहीका हड्डीहरू तोडिएका छन्। समग्रमा नेपालको वर्तमान शासनपद्दति समतामूलक प्रणालीतर्फ कुनै पनि हिसाबले उन्मुख देखिँदैन।

अनि जन्मिन्छन् रबि लामिछानेहरू


जबजब राज्यमा विकृतिले आकाश छुँदै जान्छ तबतब ती विकृतिहरूसँग जुध्न स्वयम् जनता तयार रहनुपर्दछ। जबजब भुइँमान्छेका आवाजहरू सरकारले सुन्न छोड्छ तबतब ती आवाजहरू सुनिदिने कोही न कोही फेरि जन्मनुपर्दछ।र तिनैमध्ये एउटा मान्छे थिए रबि लामिछाने जसले नेपाल मात्र होइन संसारभरका भुइँ मान्छेका कथा र वेदनालाई सुनेर सरकारको लाचारीपनमाथि प्रश्‍न उठाइरहन्थे।

रबि लामिछानेको शैली वा सीमाप्रति प्रश्न उठ्न सक्लान् तर रबि लामिछाने नेपालमा सबैको प्यारो र लोकप्रिय हुनुमा यदि कोही जिम्मेवार छ भने त्यो स्वयम् नेपालको सरकार जिम्मेवार छ। यदि डा. सुरेन्द्र केसी नेपालमा लोकप्रिय हुनुमा कोही जिम्मेवार छ भने त्यो पनि स्वयम् नेपाल सरकार नै जिम्मेवार छ। त्यसैगरी रमेश खेरल नेपालमा लोकप्रिय हुनुमा यदि कोही जिम्मेवार छ भने त्यो पनि नेपाल सरकार नै जिम्मेवार छ।

अस्ट्रेलियामा रवि र विद्यार्थीका वेदना


अस्ट्रेलियामा केही विद्यार्थीहरूले रबि लामिछानेको कार्यक्रममार्फत् थुप्रै गुनासोहरू पोखेको देखियो।ती कतिपय गुनासाहरू जायज थिए भने कतिपय गुनासाहरू भावनाबाट प्रेरित थिए।त्यस कार्यक्रममा विद्यार्थीहरूले तार्किक रूपमा भन्दा पनि भावनात्मक रूपमा आफ्ना विचारहरू राखेका थिए। भावना तर्कभन्दा पर हुन्छ। दुःख र पीडामा रहेको विद्यार्थीले आफ्ना विचारहरू राख्दा भावनाको वेगले प्रसारित हुन्छ।

यसबाट एउटा कुरा के प्रष्ट हुन जरुरी छ भने अस्ट्रेलियामा नेपाली विद्यार्थीहरूका पीडाका कथाहरू धेरै छन्। पक्कै पनि अस्ट्रेलिया जस्तो विकसित देशमा नेपालबाट आउने विद्यार्थीहरूले भन्दा बढी पीडा दिनदिनै खाडीमा जाने नेपालीहरूले भोगेकै छन्। त्यसमा दुईमत छँदै छैन। तर यहाँनेर मुख्य कुरा के हो भने अस्ट्रेलियाका विद्यार्थीका पीडालाई अरू देशसँग तुलना गरेर हेरिनु हुँदैन।

नेपालीहरू संसारको जुनसुकै कुनामा गए पनि यदि कसैले दुःख, कष्ट वा वेदना भोग्नु परेको छ भने त्यो सबैभन्दा पहिले नेपाल सरकारको कमजोरी मान्नुपर्दछ। दुःख विकसित देशमा बस्दैमा कम पाइने र खाडीमा जाँदैमा बढी पाइने हिसाबले हेरियो भने त्यो पूरै पक्षपाती मान्नुपर्दछ। सरकारले संसारको जुनसुकै कुनामा भएका नागरिकहरूका दुःख, कष्ट र पीडालाई हल गर्ने चेष्टा र प्रयत्‍न गर्न सक्नुपर्दछ।

अस्ट्रेलियाका विद्यार्थीले व्यक्त गरेका वेदनाहरूले यहाँको समस्याको एउटा ऐना नेपाल सरकारसमक्ष प्रस्तुत गर्न सक्षम भएको छ भलै ती समस्याहरूलाई सम्बोधन गर्ने क्षमता सरकारको बसमा किन नहोस्।अब सरकारले यस समस्याको चुरोलाई निमिट्यान्न पार्न कस्तो कदम चाल्छ वा लाचार भएर हेरी मात्र रहन्छ भन्ने प्रश्न मुख्य प्रश्न हो।

विद्यार्थीका समस्याहरू नेपालबाटै शुरु हुन्छन्। सही सूचना र परामर्श नपाउनु, अस्ट्रेलिया छिरेमात्रै पुग्यो नि भन्ने धारणा राख्नु, अरूको भर परेर आउनु, नक्कली विवाह गरेर आउनु, आफ्नो भविष्य तथा पढाइलाई प्राथमिकतामा राखेर नआउनु आदि जस्ता कुराहरू यसका नमूनाहरू हुन्।

यी समस्याहरूलाई नेपाल सरकारले सही तवरले हल निकाल्ने पहल गर्नुपर्दछ। अझ अचम्मको कुरा त यी समस्याहरू अहिले मात्रै उठेका होइनन्, यी त पहिलेदेखि नै व्याप्त समस्याहरू थिए तर लाचार सरकारले यसको निराकरणतर्फ उचित कदम नचाल्नुले समस्याको चाङ थुप्रिएको मात्र हो।

एकथरि अस्ट्रेलियामा बस्ने मानिसहरूको प्रश्न के छ भने रबि लामिछानेमार्फत् राखिएका वेदनाहरूले गर्दा नेपालमा अस्ट्रेलियाको बद्नाम गर्ने काम ग¥यो किनकि रबिले अस्ट्रेलियाको दुःखका कथाहरू मात्र राखे तर सफलता र प्रगतिका कथाहरू राखेनन्।

आफ्नो व्यापारमा धक्का लाग्ने हुनाले त्यस्तो टिप्पणी गर्नु जायजै मान्न सकिएला तर ती मानिसहरूले के बुझ्नुपर्दछ भने कथाहरू भुइँमान्छेका उठाउने कि आकाशमा उड्नेका उठाउने भन्ने कुरा कथाकारमा निहित हुन्छ।

अस्ट्रेलियामा अरबपति बनेका नेपालीका तथा संसारमै कहलिएका नेपालीहरूका कथाहरू पनि छन्, नभएका होइनन् तर यो कुरा बुझ्न जरूरी छ कि रबिलाई आजको अवस्थामा सबैको प्रिय बनाउनमा उनी भुइँमान्छेको कथाकार भएकाले हो नकि ठूलाठूला सफलताका कथाहरू पेश गरेर।

नेपालमा के राजनीति, प्रवासमा पो हुन्छ राजनीति


एकपटक हरिवंश आचार्यले भनेको सम्झन्छु। केही वर्ष पहिले अमेरिकाको भ्रमण सकेर नेपाल फर्कदा उनले एउटा अन्तरवार्तामा भनेका थिए – ‘नेपालमा राजनीति के हुन्छ र ? अमेरिकामा त्यति राजनीति हुँदोरहेछ।’ अस्ट्रेलिया पनि यो मामिलामा अपवाद छैन।

यहाँ प्रत्येक नेपालका जिल्लाका नाममा संस्था खुलेका छन्, अस्ट्रेलियाका प्रत्येक टोलका नाममा संस्था खुलेका छन्, प्रत्येक जातिका नाममा संस्था खुलेका छन् अनि नेपालका प्रत्येक राजनैतिक दलका नाममा संस्थाहरू खुलेका छन्, मानौँ अस्ट्रेलिया संस्थाहरू उत्पादन गर्ने कारखाना हो।

हेर्दा यी संस्थाहरूको मूल नारा समाजलाई सेवा गर्ने देखिए पनि त्यसभित्र हुने राजनैतिक लुछाचुँडी फोहोरी खेलले नेपालको राजनैतिक दाउपेचलाई छायामा पारिदिन्छ। आफ्नाआफ्ना गुट र उपगुटहरू यहाँ पनि उत्तिकै छन्, मानौँ नेपालीहरू संसारको जुनसुकै कुनामा गए पनि गुटउपगुटको संस्कार छुटाउन गाह्रो छ।

सदस्यताका हिसाबले सबैभन्दा ठूलो प्रवासी संस्था एनआरएनए समेत राजनीतिक गुटबन्दीबाट मुक्त हुन सकेको छैन। त्यसैको फलस्वरूप आआफ्ना गुट र उपगुटका नेताहरू मैदानमा उतार्ने मैजारो यथावत छ। विधानले त्यस्ता प्रवृत्ति निषेधित गरे पनि वास्तविक व्यवहारमा भने यो लागू हुन सकेको छैन। ठूलो संस्था भएकाले पीडित विद्यार्थीहरू यसमा भर पर्ने गरेका छन्। तर संस्थाको आकार र विद्यार्थीहरूको आशा अनुरूप यसले पनि न त काम गर्न सकिरहेको छ न त विद्यार्थीहरूलाई आफ्नो कित्तामा आकर्षित गर्न नै।

परिवर्तन गर्ने भनेको रविले, धुर्मुसले वा डा. केसीले होइन। उनीहरूले चेतनाको बीउ रोप्ने काम गरेका छन्। वास्तविक देशको मुहार परिवर्तन गर्ने भनेको राज्यसत्ता सञ्‍चालकहरूले नै हो।जब राज्यले समृद्धि हासिल गरेर वास्तविक समाजवादउन्मुख समाजको निर्माण हुन्छ तब देशमा न त रबि लामिछानेको आवश्यकता पर्छ न त डा. सुरेन्द्र केसीको वा धुर्मुस सुन्तलीको नै।

सामान्य मान्छेहरू यस्तो राज्यको कल्पना गरिरहेका छन् जसले आफ्ना पीडाहरू सुनेर न्याय देओस्। सरकार पारदर्शी बनोस्। जनताले न्यायको र कानुनको शासनको प्रत्याभूति गर्न पाउन्। त्यस्तो राज्यलाई रामराज्य नै पक्कै नभनौंला तर त्यस्तो राज्यमा पक्कै पनि रबि लामिछानेहरूको आवश्यकता पर्ने छैन।

सबै जनता समान हुनेछन्।न नेता विशिष्ट हुनेछन् र जनता विशिष्ट हुनेछन्। सबै समान र उत्तिकै जवाफदेही हुनेछन्। म प्रार्थना गर्दछु त्यस्तो दिन पक्कै एकदिन आउनेछ।

जेष्ठ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्