कांग्रेसको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा– गण्डकी प्रदेशसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि संसद स्थगित भएको छ।

विनियोजन विधेयकको छलफल कार्यसूचिमा भएपनि बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए। विरोधपछि सभामुख नेत्रनाथ अधिकारीले सोमबारसम्मका लागि संसद बैठक स्थगन भएका जानकारी गराएका हुन्।

बजेट अधिवेशन सुरु भएको पहिलो दिन जेठ १५ गते प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले कार्यविधि बनाउँदा प्रदेश सरकारका मन्त्रीहरुले एकलौटी ढंगबाट बनाएको भन्दै जवाफ मागेका थिए।

‘पोके बजेट र अबण्डा बजेटमा हामीले पटकपटक ध्यानाकर्षण गराउँदा मन्त्रीहरुले के भन्नु भयो भने, विश्वास गर्नुस् कार्यविधि बनाउँदा तपाईहरुलाई सहभागि गराउँछौँ भन्नु भो’, नेता नेपालीले भने, ‘कार्यविधि बनाउँदा मात्रै होइन। परिमार्जन गर्दा समेत सांसदहरुलाई बोलाइएन। मन्त्रालयबाट अनियमित तरिकाले बजेट बाँडियो।’

संसदमा उठाएका आवाजलाई मन्त्रीहरुले बाइपास गरेर जान नमिल्ने उनको तर्क छ। मन्त्रीहरुले आश्वासन दिने तर पूरा नगर्ने खालको परिपाटी लागु गर्न नदिइने समेत उनले बताए।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा अनुदान जारी गरिएको मोडल फार्ममा चरम अनियमितता भएको प्रमुख प्रतिपक्षी दल कांग्रेसको निष्कर्ष छ।

नेता नेपालीले भने, ‘आस्थाकै आधारमा एउटै मोडल फार्मलाई ५५ लाखसम्म बाड्ने काम भयो। तर राष्ट्रपतिबाट सफल कृषकको पदक पाएका व्यक्तिलाई अनुदान छैन’, पारदर्शिता कायम राख्न र भइरहेको अनियमितता रोक्न सरकार दृढ हुनुपर्ने उनले सुनाए।

संघीय सरकारको योजनामा रहेको कालीगण्डकी नदी ड्राइभर्सनको समेत कांग्रेसले विरोध जनाएको छ। नदी ड्राइभर्सन गरी प्रदेश ५ को तिनाउ लैजाने योजनामा गण्डकी प्रदेश सरकारले सहमति दिन नहुने कांग्रेसको भनाइ छ।

दलले उठाएका विषयबारे सरकारको तर्फबाट चित्तबुझ्दो धारणा नआएसम्म संसद बैठक अवरुद्ध गर्ने नेता नेपालीले जानकारी दिए।

जेष्ठ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्