सम्झौता अगावै बन्याे नगरपालिकाको सभाहल

सुर्खेत-निर्माण सम्झौता अगावै गुर्भाकोट नगरपालिकालाई सभाहल हस्तान्तरण गरिएको छ। संघीय सरकारको लगानीमा निर्माण भएको सभाहल आइतबार हस्तान्तरण गरिएको हो। निर्माण कम्पनीले सम्झौता मिति अगावै नगरपालिकालाई सभाहलको स्वामित्व दिएको हो।

व्यवस्थित शहरी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत सभाहल निर्माण गरिएको थियो। सभा हल निर्माणका लागि पाँच करोड ६७ लाख ४६ हजार २ सय २७ रुपैयाँ लागत अनुमान गरिएको थियो।

विज्ञापन

२०७४ भदौ ६ गते साविकको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेत र निर्माण कम्पनी रोयल कन्स्ट्रक्सन धनगढीबीच ठेक्का सम्झौता भएको थियो। सम्झौता मिति नसकिँदै सभाहल नगरपालिकालाई हस्तान्तरण गरिएको हो।

ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०७६ भदौ पाँच गते निर्माण सम्पन्न गर्नुपर्ने हो। तर, सभाहल निर्माण अवधि भन्दा दुई महिना पाँच दिन अगावै सम्पन्न गरिएको छ। पाँच करोड ६६ लाख २५ हजार ९ सय १३ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो।

दुई सय ८८ जना सहभागी अट्ने सीट क्षमता भएको सभाहल प्रदर्शनी हल तथा चमेना गृह, कम्पाउण्ड वाल, गेटसहित र्पार्किङ्ग निर्माणका लागि पाँच करोड ८९ लाख ९ हजार एक सय आठ रुपैयाँ लागतमा काम सम्पन्न भएको हो। सहरी विकास मन्त्रालयको योजना अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई समिति सुर्खेतद्वारा उक्त सभाहल निर्माण गरिएको हो।

नगरपालिका स्थापना भएसँगै सभाहलको अभाव हुँदै आएको थियो। ठूला बैठक, सभा, सम्मेलनका लागि नगरपालिकाले होटेल तथा खुल्ला चौरमा पुग्नुपर्ने बाध्यता थियो। सभाहल हस्तान्तरणपछि नगरपालिकासँग सभाहल नहुँदाका बाध्यताहरु हट्ने भएका छन्। निर्माण सम्झौता अगावै काम सकिएको सभाहल संघीय सरकारले उपयोग गर्न सुर्खेतको गुर्भाकोट नगरपालिकालाई हस्तान्तरण गरिएको छ। सहरी विकास मन्त्री मोहमत ईश्तियाक राईले नगरपालिकाका नगर प्रमुख हस्तबहादुर पुनलाई आईतबार भवन हस्तान्तरण गरेका हुन्।

सभाहल हस्तान्तरण गर्दै सहरी विकास मन्त्री मोहमत इश्तियाक राईले कर्णालीको समृद्धिका लागि संघीय सरकारले आवश्यक बजेट उपलव्ध गराउने बताए। ‘कर्णाली आजसम्म पिछडिएको छ, अब आधुनिक सहर विस्तारमा सरकार लाग्नेछ’, उनले भने,‘स्थानीय तहमा विवाद नभए थप आयोजना सञ्चालन गर्नेछौँ।’

साथै मन्त्री राईले तोकिएको समय भन्दा अगाडी काम सक्ने निर्माण व्यवसायीलाई सरकारले पुरस्कृत गर्ने बताए। मेहेलकुनास्थित बसपार्क निर्माणका लागि पनि संघीय सरकारले सघाउने उनले उल्लेख गरे।

सो अवसरमा संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका कार्यालय प्रमुख जगदीश लामिछानलेले यस क्षेत्रमा सञ्चालित आयोजनाहरु तोकिएकै अवधीमा सम्पन्न गर्न लागि परेको बताए। उनले समयमा आयोजना निर्माण गर्न निरन्तर अनुगमन र निरीक्षण तथा निर्माण कम्पनीसँग समन्वय भइरहेको बताए।

यस्तै, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुनले भेरी करिडोरमा आधुनिक सहर निर्माणका लागि केन्द्र सरकारसँग आग्रह गरे। उनले नगरमा सभा हल नहुँदाका समस्या समाधान हुने विश्वास व्यक्त गरे।

‘नगरपालिकाले विगतका दिनमा सभाहल नहुँदा निकै चुनौती खेप्नु परेको थियो’, उनले भने,‘अब स्थानीय तहका अन्य आवश्यकताको पुर्ती गर्न अझै संघीय सरकारले सघाउनुपर्छ।’ भौतिक संरचनाको अभाव झेल्दै आएको कर्णाली प्रदेशमा संघ सरकारलाई प्राथमिकता दिन अनुरोध गरे।

जेष्ठ १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू