फोहोरबाट सुकिलो जीवन चलाएकी अञ्जु

काठमाडौँ – २६ वर्ष अगाडि घर–घरमा फोहोर माग्न जाँदा कतिले गिज्याए। कतिले चन्दा माग्न आएको भनेर ढोका लगाए। कतिले भएभरको फोहोर उठाएर दिए। जसले जे गरे पनि उनले वास्तै गरिनन्।

सधैँ उनी प्रत्येक घरमा ढोका ढकढकाएर फोहोर माग्दै हिँडिन्। त्यो समयमा घरको फोहोर माग्न जाँदा कति महिलाहरु अचम्म समेत परे।
उनी एक मानवशास्त्री हुन्। उनले मानवशास्त्र पढेकी छिन्। मानवशास्त्र पढ्नुको अर्थ हरेक मानिसलाई पूर्ण रुपले अध्ययन गर्नु नै हो लाग्छ उनलाई। प्रत्येकको घरघरमा गएर फोहोर उठाउँने प्रेरणा उनलाई आफ्नो पढाईले दिएको थियो।

उनले आफूले मात्र फोहोर उठाउँने काम गरिनन्। वल्लो–पल्लो घरका गृहणी महिलाहरुलाई आफूसँग काम गर्न सहमत गराइन्। सबै गृहणीहरु बिहान छोराछोरीलाई स्कुल पठाइसकेपछि ११ बजेदेखि दिउँसो ३ बजेसम्म महिला भेला हुन थाले। उनीहरु ७–८ जनाको समूह बनाएर त्यही समयलाई सदुपयोग गर्दै घरघरमा फोहोर संकलनका लागि हिँड्न थाले।

पहेँलो सारीमाथि कालो ब्लाउज, गलामा रातो पोते, गोलो अनुहार ओठमा खैरो लिप्इष्टिक, आँखामा गाजल, आँखी भौँको बिचका सानो कालो अनि रातो टिका लगाएर कुर्सीमा बसिरहेकी ललितपुरकी ६० वर्षीया सामाजिक अभियान्ता अन्जु शाह सिंह। उनले भनिन्, ‘मेरा लागि यो अभियान निकै कठिन थियो, मैले सबैलाई कन्भीन्स् गरेर अगाडि बढे, अझै बढ्दै छु, धेरै केही गरे र केही गर्न अझै बाँकी छ।’

कामका सुरुवाति दिनहरु


उनलाई आफूसँग कामका लागि गृहणी महिलाहरुलाई सम्झाउन केही समय लागेको थियो। महिलाहरुलाई सुरुमा उनले जीवन उपगोगी सीप सिकाउँदै यस अभियानतर्फ ल्याएकी थिइन्। च्याउ उमर्ने, पोते बनाउने, तरकारी उमार्ने जस्ता सीप उनीहरुलाई सिकाइएको थियो।

अञ्जुले उनीहरुलाई सिप सिकाउँदै फोहोरमा हात हाल्न सल्लाह दिँदा उनीहरुले सहर्ष स्वकार गरेका थिए। सधैँ आफैले फोहोर उठाउन सम्भव नहुने भएपछि उनीहरुले फोहोर उठानका लागि भाँडो र मानिस चाहिएको महसुस गरे।

श्रीमानले दिएको घर खर्च कटाएर उनीहरु सबैले एक सय रुपैयाँ जम्मा गरे। अनि एउटा फोहोर उठाउने रिक्सा किने। उनीहरुलाई फोहोर उठाउने रिक्सा किनेर मात्र भएन। अब रिक्सा चलाउने व्यक्ति समेत चाहिएको थियो। त्यही समयमा अञ्जुको अभियानमा सामेल हुन एकजना व्यक्ति आए। जसले रिक्सा चलाउने र घर–घर गएर फोहोर उठाउने काम गरे। उनले यसो गरे बापत महिलाहरुले ती व्यक्तिलाई तलब स्वरुप केही रुपैयाँ दिन थाले।

उनीहरुलाई सधैँ श्रीमानले दिएको घर खर्चबाट तलव दिन गाह्रो भएपछि फोहोर उठाउन थालेका प्रत्येक घरहरुबाट फोहोर सँगसँगै ५ रुपैयाँ माग्न थाले। त्यही जम्मा भएको रुपैयाँ मध्ये मासिक १५ सय रुपैयाँ ती फोहोर उठाउन सहयोग गर्ने व्यक्तिलाई दिए।

काम गर्दै जाँदा फोहोरको मात्रा बढ्दै गएको थियो। उनीहरुले फोहोर संकलनमा आफूहरुलाई समस्या नहोस् भनेर नगरपालिकाले फोहोर राख्नका लागि ठाउँ–ठाउँमा राखेका कन्टेनरमा आफूले संकलन गर्ने गरेको फोहोर जम्मा गर्ने गरेका थिए।

एउटा रिक्साबाट फोहोर संकलनमा हात हालेकी अञ्जुसँग अहिले २५–३० वटा फोहोर ओसार पसार गर्ने रिक्सा छन् भने करिब एक सयजना कामदार छन्। उनले भनिन्,‘अहिले हामी सँग कामदार पनि धेरै छन्, हामी फोहोर उठाउँदा फाहोरको परिणाम हेरेर १ सय ५० देखि १५ हजारसम्म लिने गरेका छौँ।’

फोहोर संकलन गर्न उत्पन्न भएको सोच


उनका अनुसार २०४६ सालको बहुदल पछि, देश आर्थिक क्रान्तिको बाटो तर्फ लाग्यो तर त्यो सो कल्ड आर्थिक क्रान्ति मात्र थियो। क्रान्ति पछि देशमा राम्रा गाडिहरु भित्रिए, विभिन्न ठाउँमा सपिङ् सेन्टरहरु खुले, अपार्टमेन्टहरु बन्न थाले, विभिन्न जिल्लाका मानिसहरु काठमाडौँ भित्रिन थाले, काठमाडौँ सिटी सेन्टरड बन्न थालेको थियो।

अञ्जुले भनिन्, ‘त्यो समयमा उपत्यका पर्यटकीय हिसाबले साह्रै राम्रो ठाउँ थियो, तर बिस्तारै–बिस्तारै उपत्यका ध्वस्त हुँदैछ, अन्धाधुन्दा तरीकाले बसाईसराई, प्रदुषणका कारणले गर्दा हाम्रो वातावरणमा नराम्रो असर परिरहेको छ।’

राम्रो सारी लगाएर, राम्रो गाडी चढेर, राम्रो जुत्ता लगाएर मैले यदी त्यही बाटोको फोहोरलाई नागेर हिँड्नु पर्छ भने मैले प्रयोग गर्ने गरेका ती राम्रा चिजको के अर्थ भन्ने भाव अञ्जुको मनमा आयो। २०४९ साल तिर अब यो क्षेत्रमा केही गर्नु पर्छ भन्ने लागेर उनले काम सुरु गरिन्।

उनलाई लाग्यो। फोहोरको व्यवस्थापन सबै भन्दा पहिला आफ्नै घरको भान्साबाट हुन्छ। जहाँ महिलाहरुले सबै भन्दा धेरै समय बिताउने गर्छन्।

‘पहिला मानिसहरु जर्किन बोकेर तेल किन्न र सिसी बोकेर दूध किन्न जाने गर्थे। तर अहिले समय परिर्वतन भइसकेको छ, सबै कुरा प्लास्टिकमा प्याक भएर आउन थालेका छन्’, उनले भनिन्, ‘हामी आफैलाई थाहा छैन, त्यसरी प्याक गर्ने गरेको दूध अनि तेलले हाम्रो स्वास्थ्यमा कस्तो असर परिरहेको छ।’

मानिसहरुले यस्ता प्याकेटहरु जहाँ पायो त्यहीँ फ्याक्न थालेका छन्। त्यसरी प्लास्टिकमा प्याक गरेका खाने कुराले मानव शरीरलाई असर गर्नुका साथै वातावरणलाई समेत प्रदुषित बनाईरहेका छन्। उनका अनुसार प्लास्टिकमा प्याक गरिएका तेल अनि दूधका पोका कैचिले काट्ने पहिलो काम महिलाको हो। जसका कारण महिलाले नै सरसफाईमा ध्यान दिनु पर्ने उनी बताउँछिन्।

उनले भनिन्,‘हामीले राम्रो लुगा लगायौँ, राम्रो घर बनायौँ, मिठो खाने कुरा खायौँ, राम्रो बाटो हिँड्यौँ, सबैले सोचिरहेका छौँ देश विकास भइरहेको छ।’ उनका अनुसार देश विकास नभएको पनि भन्न मिल्दैन तर विकासका लागि जुन खालको मापदण्ड हुनु पर्ने हो त्यो खालको मापदण्ड पुग्न सकेको छैन।

गाउँगाउँमा बाटो बनिरहेको छ। बाटो बन्नु नराम्रो होइन तर बनेको बाटो व्यवस्थित हुनु पर्छ। उनलाई लाग्छ, काम थोरै गरौँ तर राम्रो गरौँ।

पुरानो उपत्यका


२०४६ साल भन्दा अगाडि काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटा जिल्लाको सरसफाईमा जर्मन सरकारले सहयोग गरेको थियो। नगरपालिका, स्थानीय सरकारको सहयोग मार्फत जर्मनले उपत्यकालाई सफा गर्यो। उपत्यकालाई सफा गरेर जर्मनीहरु फर्किए। जर्मनहरु फर्के पश्चात सरसफाइको सबै जिम्मा नगरपालिकालाई आएको थियो।

अझ त्यो समयमा नगरपालिका भन्दा पनि नगरपञ्चायत थियो। तर नगरपञ्चायतले यो जिम्मेवारी सम्हाल्न भने सकेन। जिम्मेवारी सम्हाल्न नसक्दा एक प्रकारको नगरपञ्चायतमा द्वन्द्व मच्चियो। र राजनीति सुरु भयो। अञ्जुले भनिन्,‘भिजन नभएका नेता अनि मेहनेती जनता नभएपछि कसरी पो देश समृद्ध बन्छ र?’

‘यो सबैलाई थाहा भएकै कुरा हो सधै अरुको बुई चढेर हिँडियो भने एक न एक दिन अवस्य पनि लडिन्छ’, उनले भनिन्, ‘जसका कारण अहिलेसम्म पनि सरकारले फोहोरलाई व्यवस्थापन गर्न सकेको छैन।’

कुहिने वा नकुहिने सबै फोहोर एकै ठाउँमा राख्ने गरिन्छ। तीन वर्षका लागि लिइएको सिस्डोलमा फोहोर थुपार्न थालेको १४ वर्ष भइसकेको छ। जसले गर्दा सिस्टोल भरिसकेको छ। अहिले सरकारले अर्को निर्णय गरेको छ, बन्चरे डाँडो। केही वर्ष पछि फेरि बन्चरे डाँडो पनि सिस्डोल जसरी भरिने छ। यस्तो तरीकाले फोहोर व्यवस्थापन गर्न नसकिने उनी बताउँछिन्।

यसलाई सरकारले यस्तै हल्का तरीकाले लिने हो भने, कति ठाउँलाई डम्पिङ् साइड बनाउनु पर्ने हो भन्ने कुराले उनलाई सधैँ पिरोल्ने गर्दछ। उललाई लाग्छ, सरकारले अझै कति सिस्डोल निर्माण गर्नु पर्ने हो? फोहोर एकदमै संवेदनशील चिज हो।

तर पनि मानिसहरु उसको व्यवस्थापनमा चासो दिने गरेका छैनन्।  ‘बर्खा सुरु हुँदैछ। फेरि सिस्डोलको के हालत हुने हो? कसैले अनुमान समेत लगाउन सक्दैन। हुन त त्यस्ता समस्याहरु अगाडिका वर्षहरुमा पटक–पटक नदोहोरिएका पनि त होइनन्’, उनले थपिन्, ‘यसकै कारण कति मानिसले ज्यान गुमाउनु परेको छ। दुर्घटना पनि किन नहुन, कति भार थाम्न सक्छ, होला र सिस्डोलले?’

सरकारले विदेशी कम्पनीलाई सिस्डोल जिम्मा लगाउने भनेको ९ वर्ष भइसकेको छ। विदेशीहरु नेपालका सित्तैमा काम गर्न नआउने अञ्जुको बुझाई रहेको छ। जसका कारण दिन प्रति दिन फोहोर व्यवस्थापनले भयावह स्थिती निम्त्याइरहेको छ।

काम प्रतिको रुची र सफलता


अञ्जु आफूलाई इनोभेटिभ र च्यालेन्जिङ् काम गर्न मन पर्ने बताउँछिन्। सबैले एउटै काम गरेर हुँदैन, देशमा के आवश्यक्ता छ देशमा के चाहिएको छ, त्यो कुरालाई प्राथमिकतामा राख्नुपर्ने उनको बुझाई छ।

उनले आफूले संकलन गरेको फोहोरलाई प्रसोधित गरेर भर्खरै मात्र १८ लाखको मल बिक्रि गरेको बताएकी छिन्। उनले हाँस्दै भनिन्, ‘अझै बाँकी नै छ, त्यो बेच्दा १०–१२ लाख रुपैयाँको आउला।’ आफ्नो काम प्रति पूर्ण रुपमा सन्तुष्ट भएको उनले बताईन्।

उनी कहिलेकाहीँ लेखहरु लेख्ने गर्छिन्। उनी डेभलपमेन्ट फिल्डमा लेख्न रुचाउँछिन्। विषेश गरी वातावरणलाई फोकस गरेर लेख्ने गर्छिन्। महिला सशक्तिकरणमा अल्लि बढि ध्यान दिन्छिन्। उनीले हाँस्दै भनिन्, ‘फेरि यसको मतलव यो होइन की म फेमिनिस्ट हो, विल्कुलै म महिलावादी भने होइन किनकी समाज चल्नका लागि महिला र पुरुषको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ, उनीहरु एक अर्काका परिपुरक हुन्।’

उनले भने अनुसार एउटा रथ चल्नका लागि दुईवटा पाङ्ग्रा चाहिन्छ, एउटा बिना अर्को एउटाले मात्रै रथ चल्दैन। त्यस्तै कुनै पनि देश, समाज वा परिवार चल्नका लागि महिला पुरुष दुवै चाहिन्छ। जुन एक अर्का बिना अर्को अधुरो हुन्छ।

जेष्ठ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू